रास्वपा सभापति रवि लामिछानेले दर्ता गराए उम्मेदवारी

सोमबार, चैत २०, २०७९
मयुर प्लाई
Global Ime Bank

चितवन । आगामी वैशाख १० मा हुन लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा चितवन क्षेत्र नं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उम्मेदवारी दर्ता गराएका छन् ।  आज बिहान १० बजे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगी उनले उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रस्तावकमा सीता ज्ञवाली र समर्थकमा विक्रम श्रेष्ठ छन् ।  उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले निर्वाचन स्वच्छ र स्वस्थ प्रतिस्पर्धामा होस् भन्ने चाहना रहेको बताए । प्रतिनिधिसभाको निर्वाचन भएको चार महिनापछि निर्वाचन हुनु दुःखद् भएको उनले बताए । उनले आफू निर्वाचित हुनेमा आशावादी रहेको बताए । 
उपनिर्वाचनका लागि चितवन क्षेत्र नं २ मा उमेदवारी दर्ता गर्ने उनी पहिलो हुन् । लामिछाने गत मङ्सिरमा समपन्न प्रतिनिधिसभा निर्वाचनमा यसै निर्वाचन क्षेत्रबाट विजयी भएका थिए । 
नागरिकता मुद्दामा सर्वोच्च अदालतको फैसलाले उनको सांसद पद गुमेपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । गत चुनावमा लामिछानेले ४९ हजार दुई सय ६१ मत प्राप्त गरेका थिए भने प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठले  १५ हजार ९९ र नेकपा एमालेका कृष्णभक्त पोख्रेलको १४ हजार छ सय ४९ मत प्राप्त गरेका थिए ।     चितवन क्षेत्र नं २ मा यसपटक एक लाख २४ हजार छ सय ९५ जना मतदाता छन् । उनीहरुले ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान गर्नेछन् ।
मनोनयन अपराह्न पाँच बजेसम्म
आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज अपराह्न ५ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको छ । 
आजै साँझ ६ बजे उम्मेदवारको मनोनयन पत्र दर्ता भएको सूची प्रकाशित गर्ने कार्यतालिका छ । मङ्गलबार बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारका विरोधमा उजुरी दिन सकिने आयोगले जनाएको छ । 
बुधबार अपराह्न ५ बजेसम्म मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने र सोही दिन साँझ ६ बजेभित्र उम्मेदवारको नामावली प्रकाशित गर्ने, चैत २३ गते बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने तथा अपराह्न ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ । 
अन्तिम नामावली प्रकाशित भएपछि उम्मेदवारले निर्वाचन चिह्न पाउनेछन् । आगामी वैशाख १० गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । प्रत्येक निर्वाचन क्षेत्रका सबै मतदान केन्द्रमा मतदान भएका मतपेटिका मतदान अधिकृतबाट प्राप्त गरी सुरक्षितरुपमा भण्डारण भएपश्चात् सोही दिन साँझ ७ बजेपछि मतगणना कार्य सुरु हुने आयोगले जनाएको छ । 
तनहुँ क्षेत्र नं १, बारा क्षेत्र नं २ र चितवन क्षेत्र नं २ मा उपनिर्वाचन हुँदैछ । गत मङ्सिरमा सम्पन्न निर्वाचनमा तनहुँ–१ मा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित सांसद रामचन्द्र पौडेल राष्ट्रपति, बारा २ मा जनता समाजवादी पार्टीका तर्फबाट निर्वाचित सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित तथा चितवन क्षेत्र नं १ बाट निर्वाचित सांसद रवि लामिछानेको पद खारेज भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । 

प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  १४:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार