कोरोना संक्रमणको बढ्दो त्रास

सङ्क्रमण देखिने बित्तिकै आइसोलेसनमा बस्न स्वास्थ्य मन्त्रालयको आग्रह

कोरोना पूर्णरुपमा नियन्त्रणमा आएको छैन, जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह
मंगलबार, चैत २१, २०७९

काठमाडौँ । शून्यमा झरेको कोरोना भाइरसको सङ्क्रमण अहिले बढिरहेको छ । हिजो मात्रै ७६ जनामा नयाँ सङ्क्रमण थपिए । यो संख्यासँगै सक्रिय सङ्क्रमित दुई सय २७ पुगिसकेको छ ।
सङ्क्रमण बढिरहेकाले रोकथाम र नियन्त्रणका लागि सबै तह र तत्काबाट प्रभावकारी भूमिका निभाउनसमेत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ । कोभिड–१९ महामारी अझ पनि पूर्णरुपमा नियन्त्रणमा आइनसकेकाले जनस्वास्थ्यका मापदण्ड अपनाउन र खोप लगाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबैलाई आग्रह गरेको छ ।
स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणको लक्षण देखिना साथ आइसोलेसनमा बस्न अनुरोध गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै कोरोना भाइरस सङ्क्रमण देखिनासाथ परीक्षण गराई आइसोलेसनमा बस्न अनुरोध गरेको हो ।
“अस्तिको पानीमा भिजेको, हिजो चिसो खाएको र आज धुलोमा गएको भनेर बाहना नगरौँ, मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, “कोभिड(१९ का लक्षण देखिने बित्तिकै परीक्षण गराऔँ र आइसोलेसनमा बसौँ ।”
मन्त्रालयले हरेक रुघा, हरेक खोकी र हरेक ज्वरो अन्य प्रमाणित नभएसम्म कोभिड(१९ हुने सक्नेसमेत भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
नेपालमा पहिलो पटक कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि। १।१६ देखा परेको छ । अहिले छिमेकी मुलुक भारतमा पनि सोही नयाँ भेरियन्टका कारणले सङ्क्रमण बढिरहेको छ ।
मन्त्रालयले कोरोना भाइरसबाट बच्नका लागि नाक, मुख, चिउँडो छोपिने गरी मास्क लगाउन, कोरोना भाइरसविरुद्धको खोप लगाउन, बेलाबेलामा साबुन पानी वा स्यानिटाइजरले हात धुन, खोक्दा वा हाच्छिउँ गर्दा रुमालले छोप्न र भौतिक दूरी दुई मिटर राख्न अनुरोध गरेको छ ।

 

प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९  १४:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार