सोसल मिडिया
Contact Us
युनिकोड
चितवन । आगामी वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि मनोनयन दर्ता गराएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध चारवटा उजुरी परेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज ती उजुरी दर्ता भएका हुन । तीन वटा उजुरी उम्मेदवार र उनका प्रतिनिधिले गरेका हुन् भने एउटा उजुरी कानून व्यवसायी युवराज पौडेल ‘सफल’ले इमेलमार्फत दर्ता गराएको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए । अन्य तीन जनाले उम्मेदवार वा उम्मेदवारको प्रतिनिधिले दिने दाबी विरोधअन्तर्गत उजुरी परेको हो । राष्ट्रिय जनमोर्चाका तर्फबाट उम्मेदवार जनकराज शर्माका प्रतिनिधि डम्बर पुरी, स्वतन्त्र उम्मेदवार सन्तोष थापा र अर्का स्वतन्त्र उम्मेदवार अम्बिका भट्टका प्रतिनिधि शिवहरि सुवेदीले उजुरी दर्ता गराएका छन् । आचार्यका अनुसार नेपालको नागरिकता लिएको ९० दिन नकटी उम्मेदवार बन्न नपाउने कानूनी प्रावधान रहेको र पुरानो नागरिकताको आधारमा मतदाता परिचयपत्र रहेकाले नयाँ लिनुपर्ने विषयमा उजुरी परेका हुन् । सफलको भने प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १५ बमोजिम उजुरी दर्ता भएको हो । दफा १५ मा कुनै पनि उम्मेदवारको निर्वाचनको परिणाम आउनुभन्दा पहिला योग्यताका विषयमा जो सुकैले उजुरी दिन सक्ने उल्लेख छ । आचार्यले उम्मेदवार र उनका प्रतिनिधिले दिएको उजुरीमा बुधबार दिउँसो ३ बजेसम्म छलफल गरी टुङ्गो लगाइने जानकारी दिए । सफलले दिएको उजुरीको विषयमा उम्मेदवारसँग जवाफ मागेर निर्वाचन आयोगमा पठाइने उनले बताए । उपनिर्वाचनका लागि यस क्षेत्रमा १२ राजनीतिक दलका सहित २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित रास्वपाका सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतले खारेज गरेसँगै संसद् पद पनि गएपछि अहिले उपनिर्वाचन हुन लागेको हो । यस क्षेत्रमा एक लाख २४ हजार छ सय ९५ ले मतदाता रहेका छन् । उनीहरूले ४३ स्थलका एक सय ३८ केन्द्रबाट मतदान गर्ने छन् ।
रबि लामिछानेविरुद्धको सुनुवाइ बुधबार हुने सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको रिट निवेदनको बुधबार सुनुवाइ हुने भएको छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा आज पेसी तोकिए पनि हेर्न नमिल्ने भएपछि बुधबारका लागि सुनुवाइ तय भएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए । रास्वपाका सभापति लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा नचल्ने भनी महान्यायाधिवक्ता डा दिनमणि पोखरेलले गरेको निर्णय बदर गर्नुपर्ने माग गर्दै दायर गरेको रिट निवेदन सोमबार दर्ता भएको थियो । अधिवक्ता युवराज पौडेल ‘सफल’ले लामिछानेविरुद्ध आज दायर गरेको रिट निवेदनमा राहदानी दुरुपयोगमा सजाय हुनुपर्नेमा उन्मुक्ति दिएको उल्लेख गर्दै उक्त निर्णय बदर गर्न माग गरिएको छ । यसअघि नै उहाँले प्रक्रियागतरूपमा नेपाली नागरिकता नलिएको उल्लेख गर्दै लामिछाने नेपाली नागरिक नभएको फैसला सुनाएको थियो । उक्त फैसलासँगै लामिछानेको सांसद र मन्त्री पद गुमेको थियो । अहिले जिल्ला प्रशासन कार्यालयबाट प्रक्रिया पूरा गरी लामिछानेले नेपाली नागरिकता लिइसकेका छन् । महान्यायाधिवक्ता डा पोखरेलले यही चैत छ गते लामिछानेमाथि राहदानी दुरुपयोगमा मुद्दा नचलाउने निर्णय गरेका थिए । जिल्ला सरकारी वकिलको कार्यालय हुँदै उच्च सरकारी वकिलको कार्यालयबाट आएको प्रतिवेदन र महान्यायाधिवक्ता कार्यालयको टिप्पणीको आधारमा महान्यायाधिवक्ताले मुद्दा नचलाउने निर्णय गरेको बताइएको थियो । उक्त निर्णय बदर गर्न माग गर्दै रिट निवेदन परेको थियो ।