कोशी नामकरण गर्दा कमजोरी भएको माओवादीको स्वीकार

बुधबार, चैत २२, २०७९

काठमाडौँ । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश नामकरणको सन्दर्भमा पार्टीबाट कमजोरी भएको स्वीकार गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बुधबार बसेको पदाधिकारी बैठकले कोशी प्रदेश नामकरणको सम्बन्धमा पार्टी पहिचानकै पक्षमा उभिने निर्णय गरेको छ ।
पार्टी निर्णयबारे जानकारी दिँदै माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले नामकरणको बेलामा पहिचानको पक्षमा अडान राख्न नसक्नु पार्टीको कमजोरी भएको बैठकको निष्कर्ष रहेको बताए । उनले प्रदेश कमिटीले पहिचानकै पक्षमा उभिएर कोशी प्रदेश नामकरणको सम्बन्धमा फरक मत राख्ने निर्णय भएको जानकारी दिए ।
उनले भने, ‘हाम्रो पार्टी स्पष्टसँग पहिचानकै पक्षमा छ । पहिचानकै पक्षमा अडान राख्नुपर्थ्यो । त्यतिखेर अलिकति कमजोरी भएको छ । अब प्रदेश कमिटीलाई हामीले पहिचानकै पक्षमा छौं भन्नेकुरा रिजर्भेसन राख्ने कुरा भएको छ ।’
त्यसै आन्दोलनको क्रममा निधन भएकाहरुलाई सहिद घोषणा गर्न र राहत उपलब्ध गराउन सरकारसँग माग गरिएको उनले बताए । ‘आन्दोलन उठिराखेको छ । आन्दोलनको क्रममा मृत्यु भएकाहरुलाई सहिद घोषणा गर्ने, राहत दिने विषयमा पनि सरकारसँग माग गर्ने कुरा भएको छ । छानबिन भइरहेको छ । के कसरी भएको हो भन्ने सरकारले गर्छ । हामीचाहिँ सहिद घोषणा गर्नुपर्छ । र राहत दिनुपर्छ भन्ने पक्षमा छौं ।’ बैठकले मिटरब्याजी पीडितहरुको पक्षमा माओवादी केन्द्र पनि रहेको भन्दै सरकारले छानबिन गरेर समस्याको हल खोज्नुपर्ने भनि निर्णय गरेको उनले बताए ।

प्रकाशित मिति: बुधबार, चैत २२, २०७९  १८:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार