सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । नयाँ भेरिएन्ट पुष्टि भएसँगै कोभिड संक्रमण दिनदिनै बढ्दै गएको छ । एकैदिनमम करिब १०० जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २३७ पीसीआर र १ हजार ३४१ एन्टीजेन गरी कुल १ हजार ७६८ जनामा परीक्षण गर्दा ९८ जनामा संक्रमण पुष्टि भएको हो । मंगलबार १ हजार ११७ जनामा गरिएको परीक्षणमा ८० जनामा संक्रमण पुष्टि भएको थियो । त्यसैगरी सोमबार १ हजार १५१ जनाको परीक्षणमा ७६ जनामा संक्रमण देखिएको थियो । यो तथ्यांक हेर्दा कोभिड संक्रमण बढ्दै गएको देखाएको छ । सीमा नाकामा कोभिड जाँच गर्दै संक्रमितको संख्या बढ्दै गएको पाइएको छ । पछिल्लो ४ दिनमा भारतबाट रुपन्देहीको बेलहिया नाका हुँदै नेपाल भित्रिएका ३६ जनामा कोरोना संक्रमण देखिएको छ । यो संख्या अरु नाकाहरुमा पनि बढ्दो देखिन्छ । सीमानाकाबाट आवतजावत गर्ने शंकास्पद लक्षण भएका यात्रुहरूको सीमानाकाका हेल्थ डेस्कमा अनिवार्य परीक्षण गराउन पनि मन्त्रालयले आग्रह गरेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार कोभिड रोकथामका लागि सीमा नाकाहरुमा निगरानी तथा स्क्रीनिङको दायरा बढाउन निर्देशन दिइएको छ । ईडीसीडीअन्तर्गत इपिडिमियोलोजी तथा महामारी व्यवस्थापन शाखाका प्रमुख डा.अभियान गौतम भन्छन्–‘भारतमा देखिएको दुई हप्तापछि नेपालमा पनि संक्रमण बढ्छ नै । यो भेरिएन्ट अति संक्रामक छ । सबैले जनस्वास्थ्यका मापदण्ड अपनाउन र लक्षित वर्गले अनिवार्य खोप लगाउनुस् ।’ भारतमा तीव्र रुपमा फैलिरहेको ओमिक्रोनको नयाँ भेरिएन्ट नेपालमा पनि पुष्टि भइसकेको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा पनि ‘एक्सबीबी.१.१६’भेरिएन्ट पुष्टि भएको जनाएको थियो । हाल नेपालमा यो झेरिएन्टबाहेक ओमिक्रोन बीए १.१, बीए २, ओमित्रोन बीए ५, ओमिक्रोन बीए ५.२, ओमिक्रोन एक्सबीबी १.५, बीए २.७६, एक्सबीबी २.६, एक्सबीएफ भेरिएन्ट देखिएको छ । भारतमा जनवरीमा उक्त भेरिएन्ट भेटिए यता संक्रमण फैलाइरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा ४ हजार ४३५ कोभिडका नयाँ संक्रमितहरु फेला परेका छन् । यो संख्या १६३ दिनको अवधिमा पुष्टि भएको सबैभन्दा बढी संख्या हो । सो सँगै सक्रिय संक्रमितको संख्या २३ हजार ९१ पुगेको छ भने २४ घण्टामा ४ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या बढे पनि अस्पतालमा भर्ना हुने बिरामी भने निकै कम पाइएको छ । के हो नयाँ भेरिएन्ट एक्सबीबी.१.१६ ? विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को अनुसार ओमिक्रोनको ६०० भन्दा बढी सबभेरिएन्ट पत्ता लागेको छ जसमा एक्सबीबी.१.१६ तीमध्येको एक हो । (डब्लूएचओ) की कोभिड–१९ प्राविधिक प्रमुख मारिया भान केरखोभले यस भेरिएन्टलाई सुक्ष्म निगरानी गरिनुपर्ने बताएकी छिन् । उनी भन्छिन्–‘नयाँ भेरिएन्ट अझ कडा हुन सक्ने विषयमा चिन्तित छौँ ।’ भारतमा सबैभन्दा बढी संक्रमित पुष्टि भइरहेको यो भेरिएन्ट अहिलेसम्म करिब २ दर्जन देशमा यो भेरिएन्ट फैलिइसकेको छ । अहिले विश्वभर ओमिक्रोन भेरिएन्ट नै सक्रिय भइरहेको देखिन्छ । नयाँ भेरिएन्टको लक्षण खास फरक देखिँदैन । ज्वरो आउनु, खोकी लाग्नु, घाँटी दुख्नु, नाकबाट पानी बग्नु, थकाइ लाग्नु, जीउ दुख्नु, आदि नै यसका प्रमुख लक्षण देखिएका छन् ।
नयाँ भेरियन्ट बढी सङ्क्रामक नेपालमा पहिलोपटक देखा परेको कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन एक्सविवि १.१६’ बढी सङ्क्रामक रहेको पाइएको छ । नयाँ भेरियन्ट तुलनात्मकरुपमा कम घातक र बढी संक्रामक छ । नयाँ भेरियन्टले दीर्घरोगी, रोगसँग लड्न क्षमता कम भएका मानिस, वृद्धावृद्धलाई बढी समस्या दिनेछ । भारतमा देखिएको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १.१६ नेपालमा पनि अनुवांशिक अध्ययन गर्दा १० वटा देखिएको थियो । नयाँ भेरियन्टका कारण धेरै संक्रमितलाई गम्भीर बनाएको देखिँदैन । संक्रमितहरु अस्पताल भर्ना भएका पनि छैनन् । ओमिक्रोनको भेरियन्ट घातकभन्दा पनि बढी मानिसलाई सार्ने छ । यो डेल्टा भेरियन्टभन्दा कम घातक छ । नयाँ भेरियन्टले मानिसमा भने चाँडै फैलिन सक्छ । छिटो फैलिने भएकाले सर्तकता अपनाउन जरुरी छ । नयाँ भेरियन्टबाट संक्रमितमध्ये हालसम्म चार जना मात्रै अस्पताल भर्ना भएका छन् । तीमध्ये पनि तीन जना घर फर्किसकेको छन् । नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १.१६ संक्रमण हुँदा रुघा लाग्ने, ज्वरो आउने, घाँटी खसखस हुने, जीउ दुख्ने, खाना नरुच्नेजस्ता लक्षण देखिन्छन् ।
छिटो फैलिने
डब्लूएचओकाअनुसार यो भेरिएन्ट छिटो फैलिरहे पनि अस्पताल नै भर्ना हुनुपर्ने, आइसीयुमा नै राख्नुपर्ने र मृत्यु नै गराउने खालको देखिएको छैन । विशेषगरी ज्येष्ठ नागरिक छन् जसले खोप लगाएका छैनन् वा पूर्ण मात्राको खोप लगाएका छैनन् उनीहरुमा भाइरसको खतरा रहने चिकित्सकहरु बताउँछन् । संक्रामक रोग विशेषज्ञ डा अनुप सुवेदीका अनुसार हाल धेरैजनामा रुघाखोकी तथा ज्वरोको लक्षण देखिरहेको र त्यो कोभिड हुन सक्छ । डा सुवेदी भन्छन्–‘नयाँ भेरिएन्ट संक्रामक देखिएको छ । अस्पतालमा रुघाखोकी लक्षण लिएर आउने धेरै जनामा कोभिड पोजिटिभ आइरहेको छ ।तर सिकिस्त हुने भने कम छन् ।’ उनले जोखिम वर्गले सरकारले बुस्टर खोपका लागि ल्याएको ‘बाइभ्यालेन्ट’ खोप लगाउन सुझाव दिए । कोभिडका लक्षण देखिए आइसोलेसनमा बस्न तथा स्वास्थ्यका मापदण्ड पालना गर्न चिकित्सकले आग्रह गरेका छन् । ‘तेस्रो बुस्टर नै लगाएपनि खोपले संक्रमणबाट बचाउँछ भन्ने हुँदैन । कसैलाई सिकिस्त पनि बनाउन सक्छ । परीक्षण गरेर चिकित्सकको सल्लाह लिनु उपयुक्त हुन्छ’ उनले भने । लक्षण सुरु भएको ४८ घन्टा पछि एन्टिजेन जाँच गर्दा राम्रो हुने चिकित्सकको सुझाव छ ।