काबुलबाट यूके लगिएका नेपाली गार्डहरूलाई निकाला गर्ने योजना रोकियो

बिहीबार, चैत २३, २०७९
मयुर प्लाई
Global Ime Bank

लण्डन । अफगानिस्तानको राजधानी काबुलस्थित ब्रिटिश राजदूतावासका लागि काम गरेका नेपाली सुरक्षागार्डहरूलाई यूकेबाट फिर्ता पठाउने योजना तत्कालका लागि रोकिएको छ । सन् २०२१ मा अफगानिस्तानको सत्ता तालिबानले लिएपछि यूकेका लागि काम गरिरहेका ती सुरक्षागार्डहरूलाई उद्धार गरेर यूके लगिएको थियो । तर यूके पुगेको १९ महिनापछि उनीहरूलाई निष्कासन गरेर नेपाल र भारत पठाउने आदेश जारी भएको थियो । त्यसका लागि आवश्यक कागजपत्र पनि बनिसकेको थियो । तीमध्ये केही व्यक्तिलाई उनीहरू बसेको होटलमा छापा मारेर पक्राउ गरिएको थियो । यूकेको गृह मन्त्रालयले उनीहरूलाई यूकेबाट निष्कासन गर्ने तयारी अहिलेका लागि रोकिएको जनाएको छ ।
गृह मन्त्रालयका एक प्रवक्ताले रेडिओफोरको वर्ल्ड टुनाइटसँग कुरा गर्दै बुधवार भनेका छन्, “यसबारे थप समीक्षा नहुँदासम्मका लागि यो समूहलाई निष्कासन गर्ने कुरा अहिलेलाई रोकिएको छ ।''
गृह मन्त्रालयले तीमध्ये कतिपय व्यक्तिलाई यूकेमै स्थायी बसोबासको सुविधा यसअघि नै दिइसकेको थियो ।
यसअघि गृह मन्त्रालयले त्यस्तो अनुमति पाएका व्यक्तिलाई निष्कासन गर्ने कुरा सत्य नभएको जनाएको थियो ।

हतकडी लगाएर पक्राउ
काबुलको उच्च सुरक्षा घेराभित्र रहेका यूके र क्यानडाका दूतावासहरूको सुरक्षार्थ १३ जना नेपाली पूर्वसैनिकहरू खटिएका थिए । उनीहरू यूकेको एउटा निजी सुरक्षा कम्पनीबाट अफगानिस्तानमा सुरक्षा गार्डको काम गर्न पुगेका थिए ।
गत साता तीमध्ये १० जनालाई पश्चिम लन्डनको एक होटलबाट हतकडी लगाएर पक्राउ गरिएको थियो । त्यहाँ उनीहरू अफगान शरणार्थीहरूलाई खाना पकाउने र दिने काम गरेर बसिरहेका थिए ।
त्यहाँबाट लगिएका नेपाली सुरक्षा गार्डहरूलाई ग्याट्विक र हीथ्रो विमानस्थलनजिकैका अध्यागमन निष्कासन केन्द्रहरूमा राखिएको थियो ।उनीहरूलाई बिहीवारको पहिलो उडानबाट स्वदेश फर्काउने तयारी गरिएको थियो ।
यो समूहमा रहेका केही व्यक्तिका वकिल जेमी बेलले आफ्ना सेवाग्राहीहरूलाई फिर्ता पठाउने निर्णय अचानक उल्टिएपछि आफू “हर्षित'' भएको बताए ।

ब्रिटिश राजदूतावास
“यद्यपि यसबाट किन यस्तो भयो भन्ने प्रश्न उठेको छ, 'उनले वर्ल्ड टुनाइटसँग भने,
“किन कानुनी उपचारको चेतावनी र सञ्चारमाध्यमको ठूलो चासो देखिनुअघि समीक्षा र पुनर्विचार गरिएन ?”
बेलका अनुसार यो घटनाबाट अफगानिस्तानको सत्तामा तालिबान आएपछि दिइएको अवसरबारे थप प्रश्नहरू उब्जिएका छन् ।
“यस्ता योजनाहरूको मस्यौदा राम्रोसँग बनाइएको छैन, कार्यान्वयन कमजोर छ र उनीहरूले सहयोग गर्नुपर्ने आवश्यकता भएका मानिसहरूलाई सहयोग गरिरहेका छैनन्,” बेल थप्छन् ।

यूकेको पुनर्वास योजना
यूकेको सरकारले पुनर्वासका दुइटा योजनाअन्तर्गत २५,००० जनालाई अफगानिस्तानबाट उद्धार गरेको थियो । अफगान नागरिक पुनर्वास योजनाले महिला बालबालिका र धार्मिक अल्पसङ्ख्यकलाई समेटेको थियो भने अफगान पुनर्स्थापना तथा सहायता नीतिले ब्रिटिश सैनिक र यूके सरकारका लागि काम गर्नेहरूलाई समेटेको थियो ।
राष्ट्रपति अशरफ गनीको सरकार अपदस्थ भएर उनले देश छोडेपछि सन् २०२१ को अगस्टमा अफगान राजधानी तालिबानको कब्जामा पुगेको थियो ।
ब्रिटिश सेना र सरकारी कर्मचारीसहित उनीहरूका लागि काम गरेका हजारौँ अफगानहरूलाई अस्तव्यस्तताबीच उद्धार गरिएको थियो ।
तालिबानले सत्ता हातमा लिएपछि काबुलस्थित ब्रिटिश दूतावासले अफगानिस्तानबाट सेवा स्थगन गरेको थियो ।
त्यहाँ कार्यरत कूटनीतिक र कन्सुलर कर्मचारीहरूलाई अफगानिस्तानबाट फिर्ता बोलाइएको थियो । हाल उक्त दूतावासले दोहाबाट काम गर्दै आएको छ ।-बीबीसी

प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  १६:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार