सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । सभामुख देवराज घिमिरेले दलका नेताहरू बीचमा छलफलको सुरुआत गराएका छन् । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनपछि लगभग संवादहिन बनेका दलबीच सभामुखले संवादका लागि वातावरण बनाएका हुन् । संसद्मा विचाराधीन विधेयक तथा मुलुकका साझा विषयमा सामूहिक छलफल हुन नसकेको बेलामा सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली र संसद्को सबैभन्दा ठूलो दल कांग्रेसका सभापति शेरबहादुर देउवाबीच शनिबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा छलफल गराएका हुन् । प्रचण्ड, ओली र देउवाबीचको छलफल सकिएपछि संक्षिप्त प्रतिक्रिया दिँदै सभामुख घिमिरेले भने, ‘सहमति र विमतिभन्दा पनि नेताहरूको बीचमा आपसमा बसेर सामूहिक विषयमा कुराकानी भएको थिएन, सामान्य कुराकानी गराउन पहल भएको छ, सामान्य कुराकानी भएको छ ।’ सभामुख घिमिरेले दलका नेताहरूको बीचमा संसद्लाई प्रभावकारीरूपमा अगाडि बढाउनेलगायत विषयमा छलफल भएको बताए । संसदीय समिति गठन र विधेयकलाई पार लगाउने तथा संसद् अधिवेशनको अन्त्यलगायतका विषयमा सभामुखले दलका नेताहरूलाई छलफल गर्न आग्रह गरेका थिए । संसदीय सुनुवाइ समिति गठन, संघीय संसद्को संयुक्त कार्यसंचालन नियमावली निर्माण र विधेयकलगायतका विषयमा सभामुखले दलहरूबीच छलफल हुनुपर्ने विषय राखेका थिए ।