सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । केही दिन यता कोरोना भाइरसको सङ्क्रमण दिन दिनै बढिरहेको छ । लगभग शून्यमा झरेको कोरोनाको सङ्क्रमण अहिले दैनिक बढिरहँदा अर्काे लहरको खतरा देखिएको छ । शनिबार ६४ जना नयाँ सङ्क्रमित फेला परे । काठमाडौँ उपत्यकामा मात्र हिजोसम्ममा १५ जना आइसोलेशन, आठ जना सघन उपचार कक्ष (आइसियु) र पाँच जना भेन्टिलेटरमा उपचार गरारहेका छन् । अहिले काठमाडौँसहित उपत्यकाका ठूला अस्पतालमा कोरोना भाइरस विरुद्धको बुस्टर डोज लगाउने क्रम पनि जारी नै छ । दिन दिनै संक्रमितको संख्या बढ्दा सक्रिय सक्रमितको सङ्ख्या ३५६ जना पुगिसकेको छ । संक्रमण दिनदिढै बढ्दा कोरोनाविरुद्धको खोप लगाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सङ्क्रमण बढिरहेकाले पहिलो मात्रा, दोस्रो मात्रा र बुस्टर डोज लगाउन आग्रह गरेका हुन् । वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, निजामति कर्मचारी अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, नेपाल प्रहरी अस्पतालबाट बुस्टर डोज खोप प्रदान गरिएको छ । यस्तै काठमाडौँका स्थानीय तहले पनि आवश्कता अनुसार विभिन्न ठाउँमा खोप प्रदान गरिरहेका छन् । केही दिनअघि गरिएको अनुवांशिक अध्ययानमा नेपालमा पहिलो पटक कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि. १.१६ देखा परेको थियो । स्वास्थ्य मन्त्रालयले केही दिन अघि सङ्क्रमणको लक्षण देखिने वित्तिकै परीक्षण गराउन र आइसोलेशनमा बस्न अनुरोध समेत गरिसकेको छ । नाकामा कोरोनाविरुद्ध उच्च सतर्कता भारतसँग सीमा जोडिएका नाकाहरुमा पनि उच्च सतर्कता अपनाउन थालिएको छ । भारतलगायत तेस्रो मुलुकबाट प्रवेश गर्ने विदेशी नागरिकको स्वास्थ्य परीक्षण अनिवार्य गरिएको छ । भारतीय भूमिमा एक साताभन्दा बढी समय बसेर नेपाल फर्किने खोप कार्ड नभएका नेपाली नागरिककोसमेत नाकामा स्वाब परीक्षण अनिवार्य गरिएको यहाँस्थित हेल्थ डेस्ककी ल्याब असिस्टेन्ट रक्षा देउजाले बताइन् । हेल्थ डेस्कले विगतदेखि नियमित निगरानी गर्दै आएको भए पनि भारत र नेपालमा कोभिड–१९ को नयाँ भेरियन्टका सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढ्न थालेपछि नाकामा सतर्कता उच्च बनाइएको हो । नेपाल प्रवेश गर्ने विदेशी नागरिकको स्वाब परीक्षण र सबै आगन्तुकको सोधपुछ अनिवार्य गरिएको छ । चैत महिनामा काँकडभिट्टा नाकामा गरिएको स्वाब परीक्षणबाट कसैलाई पनि कोभिड–१९ को सङ्क्रमण देखिएको छैन । दुई वर्षअघि स्थापना गरिएको हेल्थ डेस्कमा सात जना कर्मचारी कार्यरत छन् । दैनिक एक सयभन्दा बढीको स्वाब परीक्षण भइरहेको छ । दुई महिनाभन्दा बढी भारतमा काम गरेर फर्किएका नेपाली, नेपालका उद्योगमा काम गर्न आउने भारतीय नागरिक र तेस्रो मुलुकबाट नेपाल प्रवेश गर्ने पर्यटकलाई प्राथमिकतामा राखेर दैनिक स्वाब जाँच गरिरहेको छ । भारतमा कोभिड सङ्क्रमण बढेसँगै यहाँ पनि जाँचलाई तीव्र बनाइएको छ । नाकामा कोभिड परीक्षणको चाप बढ्दै गएकाले कर्मचारी अभाव हुने देखिएको छ । सीमामा स्वास्थ्य जाँचका लागि कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयबाट एक जना, मेचीनगर नगरपालिकाबाट चार र स्वास्थ्य कार्यालयबाट दुई जना गरी हाल सात कर्मचारीले सेवा दिइरहेका छन् ।