सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ सकिएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश शंकरराज बरालको इजलासले किशोरीको मेडिकल गर्ने डाक्टर र क्रिकेटर साहब आलमको बकपत्र गराउन आदेश दिएको सन्दीपका वकिल मुरारी सापकोटाले जानकारी दिए । गत कात्तिक २९ गते न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । तर, उनको आदेश उच्च अदालत (पाटन) ले बदर गरेपछि सन्दीप धरौटीमा रिहा भएका थिए । सर्वोच्च अदालतले पनि सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्न नपर्ने उच्चको आदेश सदर गर्दै विदेश जान लगाइएको प्रतिबन्ध पनि फुकुवा गराएको थियो । आजको सुनवाइ सुरू हुनासाथ वादीतर्फका वकिलहरूले मेडिकल टिमका मुख्य डाक्टरको बकपत्र चाहिने माग गरेका थिए । यसअघि मुख्य डाक्टरको ठाउँमा सहयोगी डाक्टरको बकपत्र राखिएकोमा त्यसलाई अस्वीकार गर्दै वकिलहरूले सो माग गरेका हुन् । न्यायाधीश शंकरराज बरालले सरकारी वकिलहरूको मागअनुसार मुख्य डाक्टरकै बकपत्र राख्न आदेश गरेका छन् । यसैगरी, यसअघि साहब आलमको बकपत्र लिन छुटेको भन्दै न्यायाधीशले उनलाई पनि अदालतमा उपस्थित गराउन भनेका छन् । आजको सुनवाइ यत्तिमै सकियो ।