रास्वपाको अनुशासन समितिले ढाकामाथि छानबिन सक्यो, आजै प्रतिवेदन बुझाउने

मंगलबार, चैत २८, २०७९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठमाथि पार्टीको अनुशासन समितिले छानबिन सकेको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँगको अडियो संवादबारे हतारमा छानबिन गरेर आजै प्रतिवेदन बुझाउन लागिएको हो ।
रास्वपा सभापति रवि लामिछानेले ढाकाको अडियो प्रकरणमाथि छानबिन गरी प्रतिवेदन दिन समितिलाई ७२ घन्टाको समय दिएका थिए । निर्धारित समयमै प्रतिवेदन बुझाउनुपर्ने दबाबमा रहेको समितिले हतारमा काम गरिरहेको छ ।
आज अबेरसम्म प्रतिवेदन पठाइने समितिका संयोजक भरत देवकोटाले जानकारी दिए ।
समितिले अडियोमा रहेको आवाज ढाकाकै रहेको विश्लेषण गरेको छ । यद्यपि समयाभावका कारण अडियोको फरेन्सिक टेस्ट गरिएन । फरेन्सिक टेस्टको प्रक्रियामा जाँदा समय लाग्न सक्ने भएकाले त्यसलाई थाँती राखिएको हो ।
ढाकाले अडियोको आवाज आफ्नो नभएको दाबी गरेका छन् । उनले पार्टीलाई पठाएको स्पष्टीकरणमा पनि अडियो सम्पादित रहेको उल्लेख गरेका थिए । तर, अनुशासन समितिले ढाकाको सो भनाइमा विश्वास गरेको छैन ।
समितिले दिने प्रतिवेदनका आधारमा भोलि नै केन्द्रीय समिति बसेर कारबाहीको विषयमा निर्णय लिइने बुझिएको छ

कारबाही गर्ने विषयमा विवाद
रास्वपाका सभापति रवि लामिछाने र अन्य पदाधिकारीबीच मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग मन्त्री हुनका लागि दुई करोड रकम माग गर्ने सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गर्ने विषयमा गम्भीर मतभेद देखिएको छ।
उपसभापति डोलप्रसाद अर्याल श्रेष्ठलाई तत्काल कारबाही गर्न नहुने पक्षमा छन् । सभापति लामिछाने र महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकाल कारबाही गर्नुपर्छ भन्ने पक्षमा उभिएका छन् ।
रास्वपाका एक जना उच्च नेताका अनुसार सभापति लामिछानेले अन्य कुरामा समेत असर गर्ने खतरा देखेर तीन दिनभित्र कारबाही गर्नेगरी अनुसन्धान समिति गठन गरेका थिए । सोमबार (२६ चैत) बनेको यो प्रकरणको छानविन समितिमा डा.भरतमणि देवकोटा लगायत चार जना छन् ।
समितिलाई ७२ घण्टाभित्र सत्य तथ्य जानकारी गराउन निर्देशन दिइएको थियो । महामन्त्री ढकालले कम्तीमा ७ दिनको समय दिनुपर्ने अडान लिए पनि सभापति लामिछाने तयार भएनन् ।
‘उपसभापति अर्यालले छानविन समिति मात्र बनाएर जाउँ, अन्य दलको अभ्यास पनि त्यस्तै छ भन्नु भयो,’ रास्वपाका एक उच्च नेताले भने, ‘महामन्त्री ढकालले स्पष्टीकरणका लागि ७ दिनको समय राखौं भन्नुभयो तर सभापतिले ७ लाई ३ दिन बनाएर निर्णय गराउनु भयो।’ 
सांसद श्रेष्ठलाई पार्टीले ७२ घण्टाको समय दिएर स्पष्टीकरण बुझाउन भनेको थियो । उनले सोमबार बेलुका स्पष्टीकरण बुझाएका छन् । 
‘हामीले स्पष्टीकरण पाएका छौँ,’ उनले भने,  ‘अब केही अन्य प्रमाणसहित छानबिन गर्न भोलि बस्छौं,’ अडिओको वास्तविकता खोज्छौँ । भोलि बेलुकासम्म एउटा निचोड निकाल्छौँ।’
आर्थिक लेनदेनको टेप बाहिरिने जानकारी रविलाई पहिल्यै थियो
केही सांसदहरूका अनुसार पैसा मागेको प्रकरणबारे सभापति लामिछाने पहिले नै जानकार थिए । अझै रास्वपाभित्र के चर्चा छ भने यस्ता टेप थप केही आउने अवस्था छ। 
यो प्रकरण अनुमान गरेका रविले सांसदहरूको कार्य मूल्यांकन गराउने तयारी पनि गरेका थिए तर ११ मा गृहमन्त्री बनेपछि उनको योजना रोकिएको थियो ।
आफैंले विश्वास गरेका सांसद श्रेष्ठको आर्थिक लेनदेनको अडियो बाहिरिएपछि रवि अलिे विचलितजस्तो देखिएका छन् । 
‘एकदुई जना सांसदलाई फिर्ता बोलाउने तयारी थियो,’ रास्वपाका एक पदाधिकारीले भने, ‘उहाँलाई यस्ता केही काण्ड आउँदैछन् भन्ने पहिले नै थाहा थियो ।’
सभापति लामिछानेले वैशाख १० गते हुने उपचुनावपछि श्रेष्ठको अडियो काण्ड बाहिरिने आकलन गरेका थिए तर, चुनाव नहुँदै बाहिरिएपछि उनले दबाब महसुस गरेका छन् ।
‘सांसदबाट फिर्ता बोलाउन तथ्य प्रमाण चाहिन्छ, सभापतिलाई केही कुरा प्राप्त भए पनि सबै प्रमाण जुटेको थिएन,’ ती पदाधिकारीले थपे, ‘संसदबाट फिर्ता बोलाउने योजना त्यसकै लागि अघि सारिएको थियो ।’
पार्टीमा नयाँ व्यक्तिहरूको प्रवेशले कुनै पनि बेला समस्या ल्याउने खतराबारे लामिछाने सचेत रहेको उनको दाबी छ । 

चितवनमा भोट घट्ने आकलन
सभापति रविले आफ्ना सबै शक्ति अहिले चितवन क्षेत्र नम्बर २ केन्द्रित गरेका छन् ।
मंगलबार उनले चितवनमा सबै नेताहरू र सांसदलाई राखेर उनले कोणसभा गर्दैछन् । सबै शक्ति चितवन नै परिचालन गर्नुको कारण हो– यसपटक सो क्षेत्रमा उनको भोट घट्दै छ।
‘मंसिर ४ को जति मत यसपाली रविलाई आउँदैन, भोट घट्छ भन्ने सूचना आएको छ,’ अहिले चितवन क्षेत्रमा खटिएका अर्का केन्द्रिय सदस्यले भने, ‘काङ्ग्रेस–एमालेले स्थानीय उम्मेदवार उठाएकोले दबाब छ । अडिओ प्रकरणले स्थानीयमा शंका जन्माएको छ। मतदाता सचेत भएका छन्। उनीहरु सतर्क हुँदा यसले केही असर पार्छ ।’
मंसिर ४ गतेको चुनावमा खासगरी कांग्रेस र एमालेको भोट तानेर चुनाव जितेका रविको कोर टिमको विश्लेषण पनि यसपाली एमाले र काङ्ग्रेस दुवैले आफ्ना सबै मतदाता होल्ड गर्न सक्ने भन्ने छ । 
रास्वपाले तनहुँ र बारामा चुनाव जित्ने आकलन नै गरेको छैन । 
तनहुँको उपचुनावमा अर्थविद डाक्टर स्वर्णिम वाग्लेलाई उठाएको रास्वपाले सोही चुनावमा खटिएका सांसद ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणले थप संकट निम्तिएको ठहर गरेको छ।
बारा २ मा हुने उपनिर्वाचनमा रास्वपाबाट प्रहरीका पूर्वडीआइजी रमेश खरेल उम्मेदवार छन् । तर, काठमाडौंमै उनी पराजित भएकोले यसपटक जित्ने संभावना कम रहेको नेताहरू बताउँछन्।
‘हाम्रो जित्ने बलियो अधार चितवन २ नै हो, तनहुँ १ मा पनि डाक्टर वाग्ले हुनुहुन्थ्यो तर अडियो प्रकरणले माहोल बिग्रने खतरा छ,’ अर्का एक नेताले भने, ढाकाजीलाई छिटो कारबाही गरेर माहोल फर्काउन खोज्दैछौँ ।’

रविको कोर टिममा को को ?
सांसद ढाकाकुमारको बाहिरिएको टेपमा उनले रविको कोर टिमले आफुसँग मन्त्री बन्नका लागि दुई करोड घूस मागेको बताएपछि अहिले रास्वपाभित्र पनि कोर टिमका सदस्यहरूबारे अनुमान र चर्चा बढेको छ ।  
रास्वपाका केही नेताहरूका अनुसार सभापति रविको ‘कोर टिम’ मा केन्द्रीय सदस्य दीपक बोहरा र उपसभापति डोलप्रसाद अर्याल छन् । रास्वपा सरकरमा हुँदा श्रममन्त्री रहिसकेका अर्यालले टेप प्रकरणमा ढाकामाथि कारबाही नगर्ने गरि छानविन समिति मात्रै बनाउन प्रस्ताव गरेका छन् ।  

प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  २१:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार