सोसल मिडिया
Contact Us
युनिकोड
काठमााडौं । गोविन्दराज जोशी पुत्र दीपकराज जोशीले उपनिर्वाचनको मुखमै काँग्रेसमाथि गम्भीर प्रकृतिको आरोप लगाउँदै यो पार्टी नसच्चिने ठोकुवा गरेका छन् । चुनावको मुखमा काँग्रेसले पूर्वसहमहामन्त्री एवम् तनहुँका नेता गोविन्दराज जोशीलाई कारवाही फुकुवा गरी आफ्नो पक्षमा ल्याउन प्रयास गरिरहेकै बेला जोशी पुत्र दीपकले यस्तो दाबी गरेका हुन् । केही दिनअघि काँग्रेस सभापति शेरबहादुर देउवालाई उनकै निवासमा भेट गरेका उनले बुधबार विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेस आहिले बिपीको नेपाली काँग्रेस पार्टी नभएर व्यापारिक घरानाका नव सामन्तीहरुको पार्टी भएको ठोकुवा गरेका हुन् ।
तनहुँ क्षेत्र नं १ मा वैशाख १० मा उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनमा काँग्रेसले केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको छ । काँग्रेस छाडेका गोविन्दराज जोशी सोही क्षेत्रका हुन् । उनीसँग लगभग ८ हजारको हाराहारीमा मत छ । मंसिरको निर्वाचनमा उम्मेदवार बनेको गोविन्दराजले ६ हजार मत ल्याएका थिए । उपनिर्वाचनमा जोशीको मत निर्णायक हुने ठानिएको छ । अर्काेतर्फ काँग्रेस छाडेर रास्वपाको टिकटमा चुनाव लडेका स्वार्णिम वाग्लेको उम्मेदवारी काँग्रेसका लागि टाउको दुखाइको विषय भएको छ । स्वर्णिमले काँग्रेसकै मत काट्ने छन् । यस्तो अवस्थामा जोशीलाई फकाउन काँग्रेसले पहल गरेको हो । केही दिन अघि काँग्रेस सभापति देउवासँगको भेटको तस्बिर सार्वजनिक गर्दै जोशीपुत्र दीपकले आफूले एकल रुपमा तथा उनका पिताले अन्य काँग्रेसका पूर्व नेताहरुसँग सामूहिक बक्तव्य निकालेर धारणा सार्वजनिक गर्ने बताएका थिए । सोही अनुरुप आज उनको वक्तव्य आएको हो ।
देउवासँग दीपकले आफना पितासहितका पूर्वकाँग्रेस नेताहरुलाई सम्मानसहितको स्थान दिनुपर्ने तथा जिल्ला कार्यसमितिमा ३३ प्रतिशतको हैसितमा स्थान दिनुपर्ने माग राखेको सार्वजनिक गरेका थिए । त्यो तर्फ काँग्रेसले कदम नचालेपछि आज उनले वक्तव्य जारी गरेका हुन् । जोशी पुत्र दीपकले भनेका छन्, 'विगत ३३ बर्षमा जसले नेपाली कांग्रेस बनाउन आफ्नो जीवन समर्पण गरे उनीहरूलाई नै कांग्रेसले जालझेल गरेर पाखा लगाउने काम गर्यो ।' उनले भनेका छन, '२०४६ साल यताका सबै असन्तुष्ट काङ्ग्रेसलाई साथ लिएर कांग्रेसको हालको खस्कँदो साख जोगाउनलाई थोरै पनि सम्झौता गर्ने नसक्ने अहिलेको कांग्रेस नेतृत्व साच्चै नै दाजु,भाउजु, देवर, जेठाजु र उनको आसेपासेको मात्रै भएको प्रष्ट भएको छ ।'
'नेपाली कांग्रेस आहिले बिपीको नेपाली काँग्रेस पार्टी नभएर व्यापारिक घरानाका नव सामन्तीहरुको पार्टी भएको छ। विगत ३३ बर्षमा जसले नेपाली कांग्रेस बनाउन आफ्नो जीवन समर्पण गरे उनीहरूलाई नै कांग्रेसले जालझेल गरेर पाखा लगाउने काम गर्यो', जोशी पुत्र दीपकले अघि भनेका छन, 'अहिले चुनावको मुखमा आएर तनहुँ जिल्लामा जुन-जुन रणनीति तयार गरिएको छ यो सबै हात्तीको देखाउने दाँत मात्र हो ।'
'खासमा नेपाली कांग्रेस आफैँ गोविन्द भट्टराईलाई जिताउन चाहँदैन । पार्टी भित्रकाहरुका व्यक्तिगत अहंकार र ब्यक्तिगत स्वार्थको लागि यसपालि स्वर्णीम वाग्लेलाई हराउने भन्ने नाउँमा गोविन्द भट्टराईलाई नै बलिको बोको बनाउने तयारी गरेको छर्लङ्ग देखिन्छ', उनलेले फेसबुकमार्फत सार्वजनिक गरेको वक्तव्यभा भनिएको छ, 'पार्टी भित्रका केही व्यक्तिको इच्छा गोविन्द भट्टराईलाई कसरी जिताउने भन्दा पनि जसरी भए पनि स्वर्णीम वाग्लेलाई हराउने रहेको छ । त्यसका लागि पार्टीले जे पनि गर्न तयार रहेको बुझिन्छ । नेपाली कांग्रेसको यो घृणित राजनीतिले कांग्रेसको अस्तित्व नै धरापमा पारेको छ । भिरमा जाने गाईलाई (हुनत अहिले काङ्ग्रेस गाई भन्न लायक छैन) राम राम भन्न सकिन्छ तर काँध थाप्न सकिँदैन ।'
उनले लेखेका छन्, 'म आफूले शेरबहादुर देउवा, गगन थापा, अर्जुनरसिंह केसी, मोहन बस्नेतलगायत थुप्रै केन्द्रीय स्तरका नेताहरुसंग भेट गरेको थिए । भेटमा आफूले यदि पार्टी लाई सही ठाउँमा ल्याउन सकिन्छ भने व्यक्तिगत स्वार्थ भन्दा माथि उठ्न पर्छ भन्दा भन्दै पनि पार्टी लाई एक ढिक्का बनाउन भन्दा पनि व्यक्तिगत प्रलोभन दिएर फुसलाउने प्रयत्न गरियो । हाम्रो परिवारले संगठनमा बस्दा सङ्गठन फाइदाको लागी मात्र काम गर्यो, व्याक्तिगत स्वार्थ सिद्ध गर्न केही गरिएन र गर्ने पनि छैन ।' 'मलाई दिन दाहाडै गोली हान्नु पर्ने थियो लठ्ठी मात्रै हानेछ भन्ने अपराधीलाई देशको राष्ट्रपति बनाउने नेपाली कांग्रेस पार्टीलाई ७४ बर्ष पुग्नु भएकी मेरी आमाको आँसुले एकदिन नराम्रोसँग पोल्ने छ । मानवीयता भन्दा ठूलो राजनैतिक विचार हुँदैन । अब फरक ढंगले राजनीति गर्ने बेला आएको छ । राजनैतिक धार जे भए पनि मान्छेलाई चोट दिने हुनू हुदैन, समाजको बेथिती, विसंगति चोट दिने हुनु पर्छ। हाम्रो लडाइँ सकिएको छैन । हामी सत्य र न्यायका लागि, सामाजिक सम्वृद्धिका लागि लडी नै रहने छौँ । हाम्रो अबको लडाइँ राजनैतिक बिचारधारा भन्दा माथि उठेर, पार्टीको झण्डामा सिमित नभएर देशको लागि हुने छ । किनभने सबैभन्दा ठूलो राष्ट्र र राष्ट्रियता हो भन्ने कुरामा हामीमा न हिजो द्विविधा थियो न आज नै छु, उनले लेखेका छन् । 'अतः २०४६ साल पछि कांग्रेसबाट राजनीति गर्ने सबैको सम्पति छानबिन गरौँ । कसले कति भ्रष्टाचार गरेको छ त्यो आफैँ प्रष्ट हुन्छ । हामीसँग यस्ता थुप्रै जानकारी छन् । यहाँ धेरै लुकेका र लुकाइएका विषयहरु छन् । अब बिस्तारै बाहिर आउनेछन् किनकी यो जरुरी छ' उनले लेखेका छन् । यदि तपाइँलाई यो देशको चिन्ता छ भने एक जुट भएर क्रान्ति गर्ने बेला आएको छ । एउटा यस्तो क्रान्ति जसको नेतृत्व परिवर्तनकारीहरुको काँधमा हुनुपर्छ । जसको नेतृत्व सर्वसाधारण जनताबाट हुनुपर्छ । अब एउटा यस्तो सरकारको जरुरी छ । जहाँ जनताले चुनेका खराव व्यक्तिहरुले होइन जनता आफैँले निर्णय गर्नेछन् । निर्णायक भूमिकादेखि लिएर निर्माणको भूमिका सम्ममा जनताको हात हुनुपर्छ । न कि जनताको मतको आधारमा आफू मात्रै मोटाउने जुम्राहरुको हातमा । सोचौँ । जागौँ । बोलौँ ।' वक्तव्यमा उनलेका भनेका छन् ।