सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । मेडिकल व्यापारी दुर्गा प्रसाईंसँग ठूलो रकम ‘घुस’ मागेको अडिओ बाहिरिएपछि विवादित बनेका सांसद ढाकाकुमार श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दलको साधारण सदस्यबाट हटाउने निर्णय गरेको छ । चितवनमा बुधवार बसेको पार्टी केन्द्रीय समितिको बैठकले समानुपातिक प्रणालीबाट सांसद बनेका श्रेष्ठलाई कस्तो कारबाही गर्ने भन्नेबारे छलफल गरेको थियो । अनुसन्धान समितिले पार्टीलाई बुझाएको दस्ताबेजका आधारमा यस्तो निर्णय गरेको पार्टीका सभापति रवि लामिछानेले पत्रकार सम्मेलनमा बताए । भ्रष्टाचारको विषयमा आफ्नो दलले शून्य सहनशीलताको नीति अपनाउने बताउँदै उनले भने,”पार्टीको अनुसन्धानमा उहाँले कुनै अमुक व्यक्तिसँग मन्त्री बन्न पैसा चाहियो भनेको सुनियो । त्यो आवाज उहाँको हो । त्यो कुराकानी उहाँले गर्नु भएको हो । त्यसमा पैसा मागिएको छ ।
दलका नेताहरूले के भने ? सार्वजनिक व्यक्तिले त्यसरी पैसा माग्नु नै कारबाहीको यथेष्ट कारण भएको लामिछानेले बताए । गत माघमा सरकार विस्तारको तयारी भइरहँदा श्रेष्ठले आफू मन्त्री बन्न लागेको र त्यसका लागि “पार्टीलाई दुई करोड बुझाउनुपर्ने” भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग आर्थिक सहयोग मागेको भनिएको अडिओ आइतबार बाहिरिएको थियो । उक्त अडिओ सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठलाई पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गरेर छानबिन गरेको थियो । पार्टीको अनुशासन समितिले आफ्नो छानबिन प्रतिवेदन पार्टी सभापति रवि लामिछानेलाई त्यसअघि मङ्गलबार बुझाएको थियो ।
'अरूको पनि छ भने कारबाही गर्छु' अनुशासन समितिसँग श्रेष्ठले बाहिरिएको अडिओमा भएको आवाज आफ्नो नभएको दाबी गरेका विवरण आएका छन् । समितिले अडिओमा दाबी गरिएको ‘कोर टिम’ बारे पनि सोधपुछ गरेको बताइएको छ । व्यवसायी प्रसाईसँगको संवादमा पार्टी सभापति लामिछाने निकट “कोर टिमबाट मन्त्री बनाउन पैसा माग गरिएको” दाबी गरिएको छ । लामिछानेले मङ्गलवार आफू निकटका व्यक्तिहरूबारे छानबिन गर्न पनि आफू तयार रहेको बताएका थिए । “कोर टिम होस् कि घोर टिम होस्, जो सुकै होस्, कुनै टिमसँग सरोकार छैन,” वैशाख १० गते हुने उपनिर्वाचनको प्रचार कार्यक्रममा चितवनमा लामिछानेले भने । उनले आफ्नो बैंक खाता र फोनसहित निकट व्यक्तिहरूको पनि छानबिन गर्न चेतावनी दिएका छन् । ूअरू अडिओ पनि छू भन्ने दुर्गा प्रसाईको भनाइप्रति लक्षित गर्दै लामिछानेले भने, “अरूको पनि छ भने दिनुस् म लाइन लगाएर कारबाही गर्छु ।”
सांसद पद कस्तो अवस्थामा खारेज हुन्छ ? पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही भएको अवस्थामा सङ्घीय सांसदको पद खारेज हुने व्यवस्था छ । यसअघि २०७७ असारमा पार्टीको ह्वीप उल्लङ्घन गरेको विषमा सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै जनता समाजवादी पार्टीले सांसद सरिता गिरीलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो । उक्त दलको पत्रका आधारमा संसद् सचिवालयले गिरीको सांसद पद रिक्त भएको जनाएको थियो । रास्वपाका सांसद श्रेष्ठको सांसद पद खारेज हुने अवस्थामा पनि उक्त दलले अर्को समानुपातिक उम्मेदवारलाई सांसद बनाउन सक्छ । श्रेष्ठ पार्टीले निर्वाचनअघि बुझाएको बन्द सूचीमा आदिवासी जनजाति समावेशी समूहको पहिलो नम्बरमा थिए । पार्टीले अब रिक्त ठाउँमा विन्दबासिनी कंसाकारलाई सांसद बनाउने निर्णय गरेको छ । उनको नाम जनजाति महिलाको तेस्रो नम्बरमा थियो । कंसाकार एसिड आक्रमण पीडित हुन् ।