सोसल मिडिया
Contact Us
युनिकोड
लण्डन । संयुक्त राष्ट्रसङ्घका महासचिव रुसको स्वार्थअनुकूल हुनेगरी काम गर्न बढी इच्छुक देखिएको धारणा संयुक्त राज्य अमेरिकाको राखेको सङ्केत भर्खरै इन्टरनेटका विभिन्न माध्यममा चुहिएका गोप्य दस्तावेजहरूले गरेका छन् । ती दस्तावेजले वाशिङ्टनले एन्टोनियो गुटेरसलाई नजिकबाट निगरानी गरिरहेको सङ्केत पनि गरेका छन् । केही दस्तावेजमा गुटेरस र उनका सहायकबीच भएको व्यक्तिगत संवादका कुराहरू पनि समाविष्ट छन् । चुहिएका गोप्य दस्तावेजमध्ये सबैभन्दा पछिल्लोमा यस्तो विवरण सार्वजनिक हुँदा अमेरिकी अधिकारीहरू ती कसरी सार्वजनिक भए भनेर खोज्न थालेका छन् । ती दस्तावेजमा युक्रेन युद्ध र कैयौँ अफ्रिकी नेताहरूका बारेमा गुटेरसको धारणा उल्लेख गरिएका छन् ।
राष्ट्रसङ्घका महासचिवबारे के भनिएको छ एउटा चुहिएको दस्तावेज विश्वव्यापी खाद्यान्न सङ्कटको भयका माझ राष्ट्रसङ्घ र टर्कीको मध्यस्थतामा गरिएको ब्ल्याक सी अन्न सम्झौताबारे केन्द्रित छ । दस्तावेजमा 'प्रतिबन्धित निकाय वा व्यक्ति सम्बन्धित भएको अवस्थामा समेत' राष्ट्रसङ्घका महासचिव "गुटेरसलेनिर्यात गर्ने रुसको सामर्थ्य सुधार गर्ने आफ्नो प्रयासमा जोड दिए” भनिएको छ । ती दस्तावेजमा गरिएको विश्लेषणअनुसार फेब्रुअरी महिनामा उनका गतिविधिले 'युक्रेनमा चालेको कदमका लागि मस्कोलाई उत्तरदायी बनाउने बृहत् प्रयासलाई अवमूल्यन' गरेको थियो ।
के छ राष्ट्रसङ्घको प्रतिक्रिया ? महासचिव गुटेरस मस्कोप्रति नरम भएको भन्ने सङ्केतप्रति राष्ट्रसङ्घका अधिकारीहरूले आक्रोश व्यक्त गरेका छन् । गुटेरसको प्रयासमाथिको अमेरिकी व्याख्याप्रति राष्ट्रसङ्घका कर्मचारीहरू स्पष्ट रूपमा खुसी छैनन् । अनि उनीहरूले गुटेरसले रुसी युद्धप्रतिको आफ्नो विरोध स्पष्ट रूपमा व्यक्त गरेको बताउँदै आएका छन् । यद्यपि चुहिएका दस्तावेजका बारेमा प्रतिक्रिया नजनाउने भन्दै एक वरिष्ठ अधिकारीले 'विश्वका सबैभन्दा गरिब वर्गमा युद्धले पार्ने प्रभाव कम गर्नुपर्ने आवश्यकताका आधारमा' राष्ट्रसङ्घ अघि बढेको बताए । “त्यसको अर्थ हामीले खाद्यान्नको मूल्य घटाउन के गर्न सक्छौँ त्यो गर्नुपर्छ भन्ने हो,” उनले भने । “अनि रासायनिक मल अत्यावश्यक रहेका देशलाई त्यसमा पहुँच दिनुपर्छ भन्ने हो ।” रुसले अन्तर्राष्ट्रिय प्रतिबन्धहरूले आफ्नो अन्न र रासायनिक मल आपूर्तिलाई नकारात्मक असर गरिरहेको बारम्बार गुनासो गरिरहेको छ ।
उसले आफ्ना चासोहरू सम्बोधन नगरिए ब्ल्याक सी ग्रेन इनिशटिभसँगको सहकार्य स्थगित गर्ने चेतावनी दिएको छ । रुसमा उत्पादित अन्न र मलमाथि अन्तर्राष्ट्रिय प्रतिबन्ध छैन तर रुसले ढुवानी र बीमामा समस्या भोगिरहेको जनाएको छ। अफ्रिकी नेताको विषय के हो ? मध्य फेब्रुअरीको अर्को दस्तावेजमा गुटेरस र उनकी उपमहासचिव अमिना जे मोहम्मदबीचको कुराकानी उल्लेख गरिएको देखिन्छ । त्यसमा गुटेरसले युरोपेली आयोगकी अध्यक्षले युरोपले थप अस्त्र तथा गोलिगट्ठा उत्पादन गर्नुपर्ने भन्ने धारणा राखेकोमा "असन्तुष्टि" व्यक्त गरेका छन् । दुई जनाबीच केही समयपहिले भएको अफ्रिकी नेताहरूको सम्मेलनबारे समेत छलफल भएको थियो त्यसमा अमिना मोहम्मदले केन्याका राष्ट्रपति 'संवेदनाहीन भहेको' र आफूले उनलाई 'विश्वास नगर्ने' बताएकी थिइन् । राष्ट्रसङ्घमाथि नियमित रूपमा जासुसी गर्ने देशमा अमेरिका पनि पर्छ भन्ने विषय धेरैलाई थाहा छ । तर उक्त जासुसीको परिणामस्वरूप तयार कागजपत्र बाहिरिएपछि त्यो ज्यादै लाजमर्दो हुने र त्यसले क्षतिसमेत निम्त्याउने सम्भावना रहन्छ।
अमेरिकी प्रतिक्रिया
बीबीसीले पुष्टि गर्न सकेका यी दस्तावेज सबैभन्दा पहिले डिस्कर्ड नामक सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए जुन अनलाइन खेल खेल्ने मानिसहरूमाझ लोकप्रिय छ । त्यसपछि यो कैयौँ अरू छलफलहरूका च्यानलमा शेअर गरिएको थियो । डिस्कर्डले उक्त चुहावटका बारेमा कानुन कार्यान्वयन गर्ने निकायहरूसँग सहकार्य गरिरहेको जनाएको छ । अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ताले ती चुहावटका गहिराइसम्म पुग्ने प्रयास भइरहेको बताएका छन् । प्रवक्ता जन किर्बीले पेन्टागन लीक्सलाई खतरनाक चुहावटको सङ्ज्ञा दिँदै यसले राष्ट्रिय सुरक्षामा पार्न सक्ने प्रभावका बारेमा विश्लेषण भइरहेको र फौजदारी अनुसन्धान अघि बढाइएको बताए ।-बीबीसी