सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । काठमाडौँबाट रूपन्देही (बुटबल)को भाडा कति होला ? रु ६०० या एक हजार रुपैयाँ । गाडी नै नपाएको बेलामा एक हजार वा भनौ १२ सयसम्म पनि मानिसलाई तिर्न गाह्रो नहोला । तर बुटवलका लागि छ÷छ हजार भाडाभन्दा तपाई पत्याउनु हुन्छ ? यस्तै देखिएपछि अब नपत्याएर पनि सुख भो त ? केही गाडी चालक तथा टिकट काउन्टरका कर्मचारीको मिलेमतोमा काठमाडौँ बुटबलको भाडा छ हजार रुपैयाँसम्म असुलेको पाइएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यसरी यात्रुसँग बढी भाडा असुल्ने पाँच जनालाई काठमाडौँका विभिन्न क्षेत्रबाट पक्राउ गरेको छ । उनीहरूले वैदेशिक रोजगारबाट फर्किएका नेपालीलाई घर पु¥याउन यसरी चर्काे रकम असुल गरी भाडामा ठगी गरेका हुन् । कोभिड१९ को महामारीको मौका छोपेर उनीहरूले छोटो समयमै धेरै कमाउने योजना बनाए पनि अन्ततः ट्राफिक प्रहरीले त्यसलाई असफल पारिदिएको छ । ‘कसैलाई तीन हजार, कसैलाई चार हजार र कसैलाई छ हजार सम्म पैसा लिएर बुटबलका लागि टिकट काटेको पाइयो’, महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले भने, ‘पोखराका लागि तीन हजार ५०० सम्म पनि भाडा लिएको पाइएको छ, सबै आज पक्राउ परेका छन् ।’ उनका अनुसार बार्गेनिङ गर्दा जसबाट जती झार्न सकिन्छ त्यती रकम लिएको पाइएको छ । महाशाखाले गरेको अनुगमनका क्रममा बढी भाडा लिने तीन जनालाई गोङ्गबु बसपार्क क्षेत्रबाट र दुई जनालाई कलङ्कीबाट पक्राउ गरेको हो । कोभिड१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि जारी भएको निषेधाज्ञामा मौकाको फाइदा लिइ पोखरा माइक्रो र बुटवल भैरहवा टिकट काउण्टरका कर्मचारीलाई नियन्त्रणमा लिइएको प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले जानकारी दिए । काठमाडौँदेखि पोखरासम्मको नियमित भाडा ५०० र बुटवलसम्म बाह्र सय तोकिएकोमा पाँच सय प्रतिशतसम्म बढी भाडा असुलेको भट्टराईले बताए । उनका अनुसार पोखरा जाने यात्रुसँग तीन हजार ५०० रुपैयाँ र बुटवल जाने यात्रुबाट जनही छ हजार रुपैयाँसम्म भाडा लिएको पाइएको छ । उपत्यका छाडी आफ्नो घर फर्किन खोज्ने यात्रुलाई ग १ ख ९६२१ माइक्रोमार्फत पोखरा र बा ४ ख ५१९७ नम्बरको बसमार्फत बुटवल जाने यात्रुबाट बढी भाडा असुलेको महाशाखाले जनाएको छ । पक्राउ पर्नेमा पोखरा माईक्रोमा काम गर्ने पोखरा महानगरपालिका ३३ घर भइ काठमाण्डौँ बस्ने बर्ष ३२ का बन्दराज पराजुली, रतुवामाई ९–मोरङ घर भई नेपालटार बस्ने बर्ष २९ का नवीन पौडेल तथा बुटवल भैरहवा काउण्टरमा काम गर्ने धादिङ् थाक्रे–७ का रञ्जित सिलवाल रहेको महाशाखाले जनाएको छ । यस्तै बढीभाडा असुलेको आरोपमा बिहीबार कलङ्कीबाट पनि दुई जनालाई पक्राउ गरिएको छ । काठमाडौँदेखि झापाको नियमित भाडा एक हजारदेखि बाह्रसयसम्म भए पनि यात्रुसँग दुई गुणा बढी अर्थात जनही रु दुई हजार ५०० का दरले भाडा उठाउने खोटाङ घर भइ कलङ्की बस्ने भीमबहादुर खड्का र रौतहट घर भई काठमाडौँ खसीबजार बस्ने वर्ष ५० का वैजनाथ चौधरीलाई महाशाखाको सादा पोशाकका प्रहरीले पक्राउ गरेको हो । उनीहरूले उपत्यकाको रिङ्गरोडमा चल्ने बा ४ ख १९२५ नम्बरको पाथिभारा दर्शनको भाडा बसमा यात्रु लैजाने गरी टिकट काटेको पाइएको महाशाखाले जनाएको छ । ट्राफिक प्रहरी महाशाखाले विषम परिस्थितिमा हुन सक्ने यात्रु ठगी तथा आइपर्ने यातायात सम्बन्धी समस्या अनुगमनको लागि सादा पोशाकमा विशेष टोली परिचालन गरेको छ । टोलीले आफैँ यात्रु बनेर अनुगमन गरिरहेको छ । यसअघि बुधबार पनि बढी भाडा लिने बाग्लुङ्ग भगवती काउण्टरका कर्मचारी मिलन सारुलाई पक्राउ गरिएको थियो । प्रहरीले कुनै गुनासो भएमा प्रहरीको हटलाइन १०० वा ट्राफिक कन्ट्रोलको १०३ नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ ।–रासस