सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । ललितपुर महानगरपालिकाले ज्यापू समाजको वृद्धाश्रममा एक सय १० शय्याको आइसोलेसन सेन्टर सुरु गरेको छ । ललितपुर महानगरपालिका, ज्यापु समाज र सुन्दर ढोका साथी सेवाबीच त्रिपक्षीय सम्झौतापछि उक्त सेन्टर सुरु भएको हो । सम्झौता पत्रमा महानगरका प्रमुख चिरीबाबु महर्जन, ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जन, सुन्दर ढोका साथी सेवाका कार्यकारी निर्देशक विकास अधिकारीले हस्ताक्षर गरे । महानगरपालिकाको वडा नं ४ स्थित बागडोलमा रहेको उक्त आश्रम भर्खरै निमार्ण गरिएको हो । सुन्दर ढोका साथी सेवाले उक्त आइसोलेसन सेन्टरका लागि खाना उपलब्ध गराउनेछ ।
महानगरले नेपाल युथ फाउन्डेसनको नेपाल पुनस्र्थापना केन्द्रमा एक साता अघि नै आइसोलेसन सेन्टर सुरु गरिसकेको छ । योसहित महानगरले सञ्चालन गरेको आइसोलेनमा एक सय ६० शय्या भएका छन् । ज्यापु समाज वृद्धाश्रममा आइसोलेसन गर्ने सम्बन्धी सम्झौता पत्रका हस्ताक्षरपछि महानगरप्रमुख महर्जनले महानगरवासीको स्वास्थ्य र सुरक्षामा कुनै कमी हुन नदिने बताए । महानगरको पहिलो प्राथमिकता कोभिड महामारीबाट नागरिकलाई बचाउनु भएको स्पष्ट पार्दै उनले महानगरले वडा नं ३ स्थित मदनस्मारक विद्यालय परिसरमा रहेको ठूलो हललाई समेत आइसोलेसन सेन्टर बनाउने तयारी गरेको जानकारी दिए । उनले भने, ‘तयारी गरेका छौं, तर त्यस्तो अवस्था नआओस्, सुरु गर्न नपरोस् ।’ कोभिड बिरामीसहित महानगरवासीको उपचारका लागि पाटन अस्पतालसँग सहकार्य गरिरहेको बताउँदै उनले आगामी दिनमा समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले मुलुकलाई संकट परेको बेलामा सहयोग गर्न पाउँदा खुशी लागेको बताउँदै महामारी नियन्त्रणका लागि नागरिकको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे । सुन्दर ढोेका साथी सेवाका विकास अधिकारीले बिरामी, त्यहाँ खटिने चिकित्सक र सुरक्षाकर्मीका लागि पोषणयुक्त र सन्तुलित आहारको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे । सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा महानगरकी उपप्रमुख गीता सत्याल, प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल, महानगरका प्रवक्ता राजु महर्जन, वडा नं २७ का वडाअध्यक्ष बाबुराज महर्जनलगायतको उपस्थिति थियो ।