सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीले लिन चाहेको विश्वासको मतमा पार्टी रणनीति बनाउनेलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज संसदीय दलको बैठक बोलाएको छ । प्रतिनिधिसभाको वैशाख २७ गतेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने तयारी गरेका छन् । संघीय संसद् भवन, बानेश्वरस्थित ल्होत्से हलमा दिउँसो २ बजे कांग्रेसले संसदीय दलको बैठक डाकेको हो । बैठकमा प्रतिनिधिसभाको आगामी बैठकका सन्दर्भमा पार्टीको रणनीति तय गर्ने, पार्टीको निर्णयअनुसार छलफल तथा सांसदलाई निर्देशन गर्नेलगायत विषयको कार्यसूचि रहेको संसदीय दलको कार्यालयले जनाएको छ । कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीको गत मङ्गलबार बसेको बैठकले प्रधानमन्त्री ओलीको विश्वासको मतलाई असफल बनाउन निर्णय गरिसकेको छ । संसदीय दलको बैठकमा पार्टीको उक्त निर्णयका सम्बधमा छलफल हुने र सभापति शेरबहादुर देउवाले पछिल्ला विभिन्न राजनीतिक दलका नेतासँग भएका भेटवार्ताका बारेमा समेत जानकारी गराउने बताइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा प्रधानमन्त्रीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक ठानेकाले सोही प्रयोजनको लागि वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् । प्रधानमन्त्रीको विश्वासको मतको विपक्षमा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेकै माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र–बाबुराम भट्टराई समूहले मत हाल्ने रणनीति बनाएका छन् । ओलीलाई जसपाको महन्थ–राजेन्द्र महतो समूहले समर्थन गर्ने अनुमान गरिएको छ । तर, यसको आधिकारिक निर्णय भने सार्वजनिक भइसकेको छैन ।