सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । संसद् अधिवेशनको पूर्वसन्ध्यामा दुई मन्त्रीसहित करिब दुई दर्जन सांसदहरू कोरोनाभाइरस सङ्क्रमण पुष्टि भई एकान्तवासमा छन् । मन्त्रीहरू भानुभक्त ढकाल र जुली महतो एवम् अन्य सङ्क्रमित सांसदहरूलाई प्रधानमन्त्रीले विश्वासको मत लिने प्रतिनिधिसभाको बैठकमा मत हाल्ने अवसर दिने तयारी गरिएको बताइएको छ ।
कोरोनाभाइरस सङ्क्रमणको दोस्रो लहरका कारण उपत्यकासहित देशका अधिकांश जिल्लामा जारी निषेधाज्ञाबीच सोमबारबाट शुरू हुने विशेष अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदै छन् । त्यसअघि आइतबार बस्ने कार्य व्यवस्था परामर्श समितिको बैठकले सङ्क्रमित सांसदहरूका लागि मतदानको व्यवस्था गर्ने प्रक्रियाबारे निर्णय गर्ने प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले बताए । विश्वासको मत लिने प्रस्ताव सफल वा असफल बनाउन थोरै सांसदहरूको संख्याले समेत फरक पर्ने भएकाले सबैलाई मतदानको व्यवस्था गर्नेबारे छलफल भइरहेको योगीले बताएका छन् । ‘धेरै सांसदहरू कोरोना सङ्क्रमित रहेको खबर पाएपछि उहाँहरूलाई कसरी मतदानमा सहभागी गराउन सकिन्छ भन्नेबारे सभामुखले छलफल सुरु गर्नुभएको छ’, योगीले भने ।
कतिजना सांसद सङ्क्रमित ? बुधवार र बिहीबार संसद् भवन नयाँ बानेश्वरमा २०५ जना सांसदको परीक्षण गरिएकोमा १२८ जनाको रिपोर्ट आउँदा १४ जनामा सङ्क्रमण पुष्टि भएको छ । बाँकी ७७ जनाको रिपोर्ट आउन बाँकी छ । त्यसअघि दुईजना मन्त्रीसहित आठजना सांसदहरू सङ्क्रमण भएर एकान्तवासमा बसिरहेका छन् । सचिवालयका अनुसार सबैभन्दा धेरै सत्ताधारी नेकपा एमालेका १४ जना सांसदलाई सङ्क्रमण पुष्टि भएको छ भने जनता समाजवादी पार्टीका चार जना र नेपाली काँग्रेस र माओवादी केन्द्रका दुई–दुई सङ्क्रमित छन् । एमालेका सङ्क्रमितमध्ये दुईजना मन्त्री र एकजना पूर्वप्रधानमन्त्री समेत रहेको सचिवालयले जनाएको छ । मन्त्री ढकाल र मन्त्री महतोले सामाजिक सञ्जालमा आफ्नो सङ्क्रमण पुष्टि गरेका छन् ।
सङ्क्रमित सांसदहरूलाई मतदानबाट वञ्चित गर्दा विश्वासको मतका लागि संसदको अङ्कगणितमै ठूलो फरक पर्ने भएपछि सत्ताधारी र विपक्षी दलहरू सबैलाई मतदानमा सहभागी गराउन एकमत भएका हुन् ।
सङ्क्रमितले कसरी मतदान गर्छन् ? सत्ताधारी नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सङ्क्रमित सांसदहरूलाई छुट्टै हलमा मतदानको व्यवस्था गरेर भए पनि विश्वासको मत लिने कार्यक्रम नरोकिने बताए । ‘कोभिड सङ्क्रमित भएकै कारण कोहि पनि सांसदहरू विश्वासको पक्ष वा विपक्षमा मत दिनबाट वञ्चित हुनुहुन्न । हामी आउनसक्ने जति सबै सांसदहरूलाई सुरक्षित तरिकाले मत दिन आउने व्यवस्था गर्छौं’ उनले भने । भट्टराईका अनुसार २७ गते नै विश्वासको मतमा मतदान गरेर प्रतिनिधिसभा अधिवेशन अन्त्य गरिनेछ । ‘सभामुखले तोकेको दिनमा हुने भनिएको छ । भरसक २७ गते नै सकौँ भन्नेमा छौँ नभए २८ गते मतदान होला र त्यो एजेन्डा सकिनासाथ संसद् अधिवेशन अन्त्य हुन्छ’, उनले थपे । कुनै पनि सङ्क्रमित सांसदहरू अस्पतालमा भर्ना नभएका कारण अधिकांश सङ्क्रमित भएका सांसदहरू मतदानमा सहभागी हुने सम्भावना रहेको भट्टराई बताउँछन् ।
प्रमुख प्रतिपक्षी के भन्छ ? नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सङ्क्रमित सांसदहरूलाई छुट्टै हलमा राखेर भए पनि मतदानमा सहभागी गराउन सकिने बताउँछन् । ‘हाम्रो पनि नन–कोभिडहरूलाई एउटा हलमा र सङ्क्रमितहरूलाई अर्काे हलमा राखेर भए पनि अधिवेशन र मतदानमा भाग लिने व्यवस्था गरौँ भन्ने कुरा कार्य व्यवस्था परामर्श समितिको बैठकमा रहन्छ’, उनले भने । सांसदहरूलाई उनीहरू बसिरहेकै ठाउँबाट संसद् भवनसम्म ल्याउनका लागि एम्बुलेन्स वा अन्य कुनै सुरक्षित साधनको व्यवस्था गरिने संसद् सचिवालयले जनाएको छ । कोरोनाभाइरस महामारीकै बीच सञ्चालन भएका यसअघिका संसद् अधिवेशनहरूमा सङ्क्रमण भएका सांसदहरूलाई सहभागी हुने व्यवस्था गरिएको थिएन । योपटक पनि सांसदहरूलाई परीक्षणको रिपोर्ट लिएर मात्रै संसद् बैठकमा सहभागिता जनाउन भनिएको छ । सत्ताधारी नेकपा एमालेको संसद्मा बहुमत नरहेका कारण प्रधानमन्त्री ओलीलाई बहुमतका लागि अर्काे कुनै ठूलो दलको सहायता आवश्यक छ । हालै सरकारबाट समर्थन फिर्ता लिएको नेकपा माओवादी केन्द्र र प्रतिपक्षी काँग्रेसले विश्वासको मत नदिने बताइसकेका छन् भने निर्णायक मानिएको जनता समाजवादी पार्टीमा नेताहरू विभाजित छन् । जसपाको एउटा खेमा महन्थ ठाकुर–राजेन्द्र महतो ओली पक्षमा उभिन सक्ने लक्षणहरु देखा परिरहेका छन् । प्रधानमन्त्रीले विश्वासको मत पाउन नसके स्वतः कामचलाउ हैसियतमा रहने र संविधान अनुसार अर्काे सरकार गठनको प्रक्रिया सुरु हुने काँग्रेस प्रमुख सचेतक खाँडले बताए ।–बीबीसी