सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको संसदीय दलले पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीले गत मंगलबार गरेको निर्णय सदर गरेको छ । गत मंगलबार कांग्रेस नेताहरुले विश्वासको मतको विपक्षमा मतदान गर्ने तथा केपी शर्मा ओलीको विकल्पमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको थियो । कांग्रेस संसदीय दलको शनिबार नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको बैठकले प्रधानमन्त्री ओलीको विश्वासको मतका विपक्षमा मतदान गर्ने र अन्य दललाई पनि मत नदिन आग्रह गर्ने निर्णय गरेका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए । बैठकले पार्टी केन्द्रीय कार्यसमितिको चैत २१ गतेको निर्णय पनि अनुमोदन गरेको छ । २१ चैतमा कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्रीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको थियो । संसदीय दलको बैठक अघि शनिबार बिहान पार्टीका शीर्ष नेता र संसदीय फाँटका पदाधिकारीबीच छलफल भएको थियो । ‘प्रधानमन्त्री राजनीतिक र प्रशासनिक रुपमा पूर्ण असफल भएकाले उहाँलाई काँग्रेसले विश्वासको मत दिँदैन । आफ्नो नेतृत्वमा सरकार गठन गर्न अन्य दलसँग छलफल गर्छ’, खाणले भने । बैठकमा संसदीय दलका नेता देउवाले कानूनविद् र अन्य दलसँग थप छलफल गर्ने पनि बताएका थिए । देउवाले सरकार निर्माणका लागि भइरहेको प्रयासबारे पनि सांसदहरुलाई ब्रिफिङ गरेका थिए । आफ्नो नेतृत्वमा सरकार निर्माणको सम्भावना बढेको सांसदहरुलाई देउवाको ब्रिफिङ थियो । बैठकमा सभापति देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीका असंवैधानिक कदमलाई समर्थन गर्नु आपत्तिजनक रहेको भन्दै राष्ट्रपतिका कदमप्रति असहमति प्रकट गरेका थिए । लोकतान्त्रिक मूल्य विपरीत सरकारले काम गरिरहेको भन्दै देउवाले ओलीको विकल्प खोज्न हरसम्भव प्रयास भइरहेको जानकारी गराएका थिए । ‘यो सरकार लोकतन्त्रका कुरा गर्न छाड्दैन । तर, यति धेरै प्रश्नका बाबजुत संवैधानिक परिषद् अध्यादेशजस्ता संविधानविरुद्धका कानुन बनाएर अध्यादेशबाट शासन गर्न खोज्दै छ’ संसदीय दलको बैठकमा देउवाले भनेका थिए ।