सोसल मिडिया
Contact Us
युनिकोड
पोखरा । लुम्बिनी प्रदेशमा आफूविरुद्धको अविश्वास प्रस्तावमा मतदान हुने अघिल्लो दिन राजीनामा दिएर प्रस्तावलाई निप्रभावी पर्ने शंकर पोखरेलको राजनीतिक पदचाप गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पच्छ्याएका छन् । आफूविरुद्धको अविश्वास प्रस्तावमा मतदान हुने अघिल्लो दिन मुख्यमन्त्री पदबाट राजीनामा दिएर गुरुङले लुम्बिनीका पार्टी सहकर्मी एवं मुख्यमन्त्री पोखरेलले कोरेको राजनीतिक बाटोमा हिँडेका हुन् । पोखरेल र गुरुङ पार्टी अध्यक्ष केपी ओलीका विश्वास पात्रा हुन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुडले आफूविरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वास प्रस्तावमा सोमबार मतदान हुने अघिल्लो दिन आइतबार पदबाट राजीनामा दिएका हुन् । मुख्यमन्त्री गुरुङको राजीनामा प्रदेश प्रमुख सीताकुमारी पौडेल स्वीकृत पनि गरिसकेकी छन् । प्रदेश प्रमुख पौडेलले राजीनामा स्वीकृत गर्दै हालसम्म उनको नेतृत्वमा रहेको मन्त्रीपरिषद्ले गरेका कामका लागि धन्यवाद दिएकी छन् । प्रदेश प्रमुख पौडेलले अर्को मन्त्रिपरिषद् गठन नभएसम्मका लागि संविधानको धारा १६९ को उपधारा ३ बमोजिम मौजुदा मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने र संविधानको धारा १६८ को उपधारा २ बमोजिम ३ दिनभित्र सरकार गठनको आह्वान गरेकी छन् । मुख्यमन्त्रीविरुद्ध कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादीका २७ सांसदले बैशाख २ मा अविश्वासका प्रस्ताव दर्ता गराएका थिए । तर आफूविरुद्ध अविश्वास प्रस्ताव आउन लागेको थाहा पाएपछि सरकारले वैशाख १ मध्यरातिबाटै चालु हिउँदे अधिवेशन अन्त्य गरिदिएको थियो । अविश्वास प्रस्ताव दर्ता गरेकै दिन विपक्षी मोर्चाले विशेष अधिवेशन माग्दै प्रदेश प्रमुख समक्ष समावेदन गरेका थिए । सोही समावेदनका आधारमा तत्कालीन प्रदेश प्रमुख अमिक शेरचनले बैशाख १३ मा विशेष अधिवेशन बोलाएका थिए । अविश्वास प्रस्तावमाथि वैशाख १५ मा मतदान हुने कार्यसूची रहेकोमा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही हराएको भन्दै सचेतक पियारी थापाले निवेदन दिएपछि सभामुख नेत्रनाथ अधिकारीले अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेका थिए । त्यसपछि सोमाबारलाई अविश्वास प्रस्तावमाथि मतदान गर्ने दिन तोकिएको थियो