जसपा तथा एमालेको माधव नेपाल समूहको समर्थनका लागि कांग्रेसले पहल गर्ने

सरकार गठनका लागि पहल 
मंगलबार, वैशाख २८, २०७८

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत गुमाएपछि नेपालको संविधानानुसार नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको छ । पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको आज सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेअनुसार संविधानको धारा ७६ को उपधारा (२) बमोजिम कांग्रेसको नेतृत्वमा सरकार गठनका लागि सम्पूर्ण रुपमा लाग्ने निर्णय गरेको हो । बैठकले नयाँ सरकार गठनका लागि नेकपा (माओवादी केन्द्र) को समर्थन रहेको र जनता समाजवादी पार्टी नेपालको पूर्ण समर्थनका लागि पहल जारी गर्ने निर्णय गरेको कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।  नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि जसपाको सबै समूहको सहयोग खोज्ने भएको छ । कांग्रेस पदाधिकारीहरुको बैठकले एमालेको असन्तुष्ट समूहको पनि सहयोग जुटाउन प्रयास गर्ने निर्णय भएको सहमहामन्त्री डा.महतले जानकारी दिए । उनका अनुसार माओवादी केन्द्र कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न सहमत छ भने जसपाका अध्यक्ष उपेन्द्र यादव पनि तयार छन् । डा.महतले भने, ‘समग्रमा जसपा एकजुट भएर यो अभियानमा सामेल होस् भने चाहन्छौं त्यसका लागि हाम्रो सम्पूर्ण प्रयत्न हुन्छ ।’ तीन दल एकठाउँमा आए स्वतः बहुमत पुग्ने र त्यसो नभए अरु तरिका पनि रहेको उनले बताए । एमालेभित्र पनि असन्तुष्ट रहेको र माधवकुमार नेपाल समूह मतदानमा सहभागी नभएको भन्दै उनले भने, एमालेभित्र पनि असतुष्टि छ, उहाँहरु पनि केही निर्णयमा पुग्न सक्नहुन्छ ।’ एमालेको माधव–झलनाथ समूह सोमबार प्रधानमन्त्रीलाई विश्वासको मत दिन अनुपस्थित थियो । उसको भावी रणनीति बारे स्पष्ट पारिसकेको छैन । जसपाका अध्यक्ष महन्थ ठाकुरले पनि सरकार गठन प्रक्रियाबाट आफू अलग हुने बताइकेका छन् ।  प्रतिनिधिसभामा विश्वासको मत अस्वीकृत भएसँगै राष्ट्रपतिले सोमबार नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलका समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्रीका लागि यही वैशाख ३० गते साँझ ९ बजेभित्र दावी पेश गर्न आह्वान गरेकी छन् । सोमबार नै कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपाका अध्यक्ष उपेन्द्र यादवले संयुक्त वक्तव्यमार्फत बहुमतको सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपतिसँग आग्रह गरेका थिए । प्रतिनिधिसभामा नेकपा (एमाले) का १२१, कांग्रेसका ६३ (दुई निलम्बित), माओवादी केन्द्रका ५३ (चार निलम्बित), जसपाका ३४ (दुई निलम्बित) तथा राष्ट्रिय जनमोर्चा, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीका एक÷एक र स्वतन्त्र एक सांसद छन् ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख २८, २०७८  २०:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार