‘निरोगी’ अभियानमा उपसचिव कमलबहादुर

कर तिर्न जाने सेवाग्राही गुर्जो चिया खाएर फर्कन्छन्
बुधबार, वैशाख २९, २०७८

कमलबहादुर राजलवट न वैद्य हुन् न त चिकित्सक नै । निःशुल्क गुर्जो बाँड्ने उनी सरकारी कर्मचारी हुन् । राजश्व कार्यालय धुलिखेलमा कार्यरत उनी अहिले विशेष अभियानमा छन्, ‘उनले थालेको त्यो अभियान हो निःशुल्क गुर्जो वितरण ।’  नेपालमा कोरोना भाइरसको पहिलो लहर देखिनु अघिसम्म उनी गुर्जो औषधिको रुपमा प्रयोग गर्थे । रुघाखोकी लाग्दा गुर्जो खान्थे । त्यसरी गुर्जो खाँदा उनलाई नसोचेको शारीरिक तन्दुरुस्ती प्राप्त हुन्थ्यो । कोरोना भाइरस फैलन नदिन अघिल्लो वर्ष सरकारले गरेको लकडाउनपछि उनी गुर्जो बेर्ना, गुर्जो चिया, गुर्जोसहितको धुलो औषधि निःशुल्क वितरक समेत भएका छन् ।  गुर्जोको बेर्ना, चिया र औषधि निःशुल्क वितरण गर्न उनी कहिले प्रधानमन्त्री कार्यालय पुगे त कहिले सिंहदरबार ।

उपत्यकाभित्रका अधिकांश नगरपालिका, महानगरपालिका र गाउँपालिका पुगिसकेका छन् । पाशुपत क्षेत्र, बागमती नदी किनारा, त्रिभुवन विश्वविद्यालय जस्ता खुल्ला ठाउँमा गुर्जोको विरुवा रोप्न भ्याइसके । दिनभर कार्यालयमा व्यस्त हुने उनी बिहान र बेलुका गुर्जो रोप्न र विरुवा बाँड्न हिँड्छन् । निषेधाज्ञा जारी हुन अघि कमलबहादुर थरमसमा गुर्जो चिया बोकेर हिँड्थे । सामाजिक काममा भेला भएकाहरुलाई चिया खुवाउँथे । महिमा बुझाउँथे । कोरोना संक्रमणको दोस्रो लहर नियन्त्रण भएपछि उनी आफ्नो अभियानलाई निरन्तरता दिने बताउँछन् । केही महिना अघि धुलिखेल सरुवा भएका कमलबहादुर यसअघि लाहानस्थित आन्तरिक राजश्व कार्यालयमा थिए । उनको कार्यालय वरिपरि गुर्जोको लहरा जताततै फैलिएको थियो । बिहान, बेलुकाको समय सदुपयोग गर्दै गुर्जोको कलमी काट्थे । उनको यो कामलाई परिवार र आफन्तले सहयोग गरे । कलमी काट्ने काम निषेधाज्ञाका कारण अहिले स्थगित छ । हालसम्म एकलाख पचास हजार भन्दा बढी विरुवा निशुल्क बितरण गरेका छन् । दुईलाख भन्दा धेरैलाई निःशुल्क गुर्जो चिया सेवन गराई सकेका छन् । .उनी भन्छन्, ‘जति वितरण गर्न पायो, त्यति खुशी हुन्छु’ यो कामलाई उनी व्यक्तिलाई निरोगी बनाउने अभियान भन्छन् ।  आन्तरिक राजश्व कार्यालय धुलिखेल जाने जो कोही सेवाग्राहीले पनि निषेधआज्ञा हुनु अघिसम्म गुर्जो चिया खान्थे । ‘अहिलेलाई यो व्यवस्था बन्द गरेका छौं, सामान्य भएपछि सुरु गर्छौं ।’ सामान्य अवस्थामा कार्यालयमा गुर्जो चिया थर्मसमा राखिएको हुन्छ । आउनेहरु गुर्जोको महत्व बुझ्छन् । चिया खान्छन् । आफ्नो काम तर्फ लाग्छन् । उक्त कार्यलयमा आउने सेवाग्राहीले कर कार्यालयमा गुर्जो चियाको निःशुल्क व्यवस्था हुँदा अचम्म मान्ने गरेको उनी बताउँछन् । 
सरकारी कार्यालयमा जानेहरु प्रायः निराश हुँदै ‘यो भएन, त्यो भएन’ भन्दै फर्कन बाध्य हुन्छन् । यो अवस्थालाई थोरै भएपनि धुलिखेल कर कार्यालयले तोडेको छ । कमलबहादुर भन्छन्, ‘यसले गुर्जो मार्फत निरोगी बनाउने अभियानसँगसँगै सरकारी कार्यालयप्रतिको सकारात्मक बन्न सहयोग गर्छ ।’  जन्म र मृत्यु । यी दुई सृष्टिका प्रक्रिया हुन् । बाँच्ने क्रममा मान्छेले धेरै काम गर्छ । ती मध्ये कति काम अरुको लागि र कुन माध्यमबाट गर्छ ? यो प्रश्नमा कमलबहादुर केही समय घोत्लिए । र, भने, ‘मैले गुर्जोलाई माध्यम बनाउने निधो गरेँ ।’ समाज र राष्ट्रप्रतिको कर्तव्यबोधका कारण कार्यालय समय बाहेकको समय अरुलाई निरोगी बनाउने अभियानका लागि खर्चिर्ने निर्णय गरे । जुन निर्णयले उनलाई यस्तो आनन्द दिएको छ कि, त्यसलाई उनी शब्दमा व्याख्या गर्न सक्दैनन् । जहाँ इच्छा, त्यहाँ उपाय भने झैं उनको यो अभियानलाई समयले साथ दियो ।

भन्छन्, ‘चाहना भयो भने, नहुने कुरा के रहेछ र ?’ खेर गएको समय मान्छेलाई निरोगी बनाउने अभियानमा खर्चिएका छन् । गुर्जोको कलमी काट्ने, विरुवा उत्पादन गर्ने, वितरण गर्ने, गुर्जोको महिमा बुझाउने, फाइदा बताउने कामले उनलाई नसोचेको खुशी दिएको छ । कलमी काट्दा बचेका डाँठ, पातलाई पिँधेर धुलो बनाउने व्यवस्था समेत मिलाएका छन् । यो धुलोमा तुलसी, असुरो र अन्य थुप्रै प्रकारका जडिबुटीहरु मिसाउँछन् र बनाउँछन् गुर्जो चिया ।  आफ्नो कमाईको थोरै खर्च नेपालीलाई स्वस्थ बनाउने अभियानमा खर्चिएका छन् । भन्छन्, ‘अहिलेसम्म आर्थिक सहयोग लिएको छैन्, कमाईको थोरै रुपैयाँ खर्च गर्दा पाएको खुशी केहीसँग तुलना हुँदैन ।’ निःशुल्क गुर्जो वितरण कहिलेसम्म गर्न सक्लान् ?  त्यो विषयमा उनले अहिले सोचेका छैनन् । शायद मस्तिष्कले मात्रै चाहेको भए, यो काममा चाँडै ब्रेक लाग्थ्यो होला । हृदयदेखि नै चाहेकाले यो काम संभव भयो । र, निरन्तर चलिरहेको छ । भन्छन्, ‘मन र मस्तिष्कको भिन्नता शायद यही होला ।’  महोत्तरी जिल्लामा जमिएका उनले २०५६ देखि सरकारी जागिर सुरु गरे । महालेखा परीक्षक कार्यालयमा सुब्बा थिए उनी काम शुरु गर्दा । २०५९ सालमा प्रशासनतर्फ अधिकृतमा नाम निकाले । २०६७ सालमा राजश्वतर्फ उपसचिवमा नाम निकाले । सकारात्मक सोच नै सफल जीवनको आधार भएको बताउँछन् उनी ।

गुणकारी गुर्जो 
आयुर्वेदका ज्ञाता, आयुर्वेदको अध्ययन अनुसन्धानकर्ताका अनुसार गुर्जोको प्रयोगले मान्छेमा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । गुर्जोमा रोेगसँग लड्ने क्षमता हुन्छ । नेपालमा पाइने महत्वपूर्ण जडीबुटी मध्ये गुर्जो एक हो । औषधिय गुणले भरिपूर्ण यो लहरा नेपालको ग्रामीण भेगमा सर्वसुलभ रुपमा पाइन्छ । ज्वरो, रुघाखोकी, बाथलाई गुर्जो अचूक औषधिको रुपमा लिइन्छ । गुर्जोले इन्सुलिन बढाउन सघाउने भएकाले मधुमेहका रोगीहरुलाई यो निकै उपयोगी मानिन्छ । यतिबेला गुर्जोको चर्चा व्यापक छ । त्यसको कारण हो, कोरोनासँग लड्न एन्टीबडी बलियो हुनुपर्छ । एन्टिबडी बलियो बनाउने काम गुर्जोले गर्छ । गुर्जो हुर्काउने तरिका बारे  कमलबहादुर भन्छन्, यहाँहरुले यसलाई गमलामा पनि रोप्न सक्नुहुन्छ ।’ यो विरुवा  जस्तोसुकै वातावरणमा पनि हुर्कने उनको अनुभव छ । 
 

प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  ०९:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार