सोसल मिडिया
Contact Us
युनिकोड
चापागाउँ (ललितपुर) । दक्षिण ललितपुरको कोन्ज्योसोम गाउँपालिकाले अक्सिजनसहितको ६ शययासहित १० शय्याको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले बिहीबारदेखि नै आइसोलेसन सेन्टर सुरु गरेको गाउँपालिकाका अध्यक्ष गोपीलाल सिंतानले शब्दपाटीलाई जानकारी दिए । आइसोलेसन सेन्टरमा एकजना चिकित्सक, दुईजना नर्स र एक जना कार्यालय सहयोगी खटिएका छन् । गाउँ पालिका नयाँ भवनमा सरेकाले पुरानो प्रिफ्याब भबनमा आइसोलेसन सेन्टर सुरु गरिएको अध्यक्ष सिंतानले जानकारी दिए । गाउँ कार्यपालिकाले आइसोलेसन सुरु गर्ने निर्णय गरेअनुसार सेन्टर सुरु भएको हो । आइसोलेसन सेन्टरमा अहिले एकजना कोरोना संक्रमितको उपचार भइरहेको छ । अहिलेलाई ६ शयया अक्सिजनसहित भएपछि अन्य शय्या पनि अक्सिजनसहितकै बनाउने योजना गाउँपालिकाको छ । गाउँपालिका भित्र कोरोना संक्रमित बोक्नका लागि एउटा एम्बुलेन्स तयारी अवस्था राखिएको छ । अन्य दुईवटा गाडीलाई भने आवश्यक परेका बेला बिरामी बोक्ने गरी तयारी अवस्थामा राखिएको अध्यक्ष सिंतानले जानकारी दिएका छन् । गाउँपालिका क्षेत्रमा पछिल्लो समय कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि गाउँपालिकाले अत्यावश्यक कामबाहेक आवतजावतमा पूर्णप्रतिबन्ध लगाएको छ ।
‘हामीले गाउँपालिकामा अनावश्यक आवतजावत बन्द गरेका छौँ, जोखिमयुक्त स्थानलाई स्यानिटाइज गर्ने प्रक्रिया अघि बढाइएको छौं’, गाउँपालिकाका अध्यक्ष सिंतानले भने । प्रदेश सरकारले नियुक्त गरेका स्वास्थ्यकर्मीबाट नै अहिले आइसोलेसन सेन्टर सुरु गरिएको हो । ‘प्रदेश सरकारले सबै गाउँ पालिकामा स्वास्थ्यकर्मी नियुक्ति गरेअनुसार उहाँहारु आउनु भएको हो । प्रदेश सरकारले केही समय स्वास्थ्यकर्मीलाई तलब भत्ता दिएपनि बिचमा रोकियो । करार अवधि सकिएपछि पनि हामीले आफ्नै स्रोतबाट उहाँहरुको तलब भत्ताको व्यवस्था गरेका छौं’, उनले भने, ‘गाउँपालिकामा कोरोना संक्रमित बढे भने अहिलेको जनशक्तिले सेवा दिन सकिँदैन । त्यस्तो अवस्थामा गाउँपालिकाले करारमा चिकित्सक तथा नर्सहरु राख्ने सोच बनाएको छ ।’ संकटको समयमा बिरामीलाई ठूला अस्पताल पु¥याउन कठिनाइ हुने भएकोले गाउँपालिकाले करारमै भएपनि आफ्नै चिकित्सक र नर्स राख्ने तयारी गरेको हो उनले भने ।