अमेरिकारद्वारा नेपाललाई ३२ करोड १७ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा

अक्सिजन समस्यामा थप सहयोगको बचन
बिहीबार, वैशाख ३०, २०७८
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ । कोभिड–१९का कारण उत्पन्न अक्सिजन समस्यामा सघाउन अमेरिकाले नेपाल सरकारलाई थप ३२ करोड १७ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ । अक्सिजन उत्पादन कारखाना, तरल अक्सिजन भण्डारण र अक्सिजन सिलिण्डर ढुवानीका निम्ति नेपाली जनताको तत्कालको आवश्यकतामा भरथेग गर्न  अमेरिकाले थप सहयता रकम उपलब्ध गराउने आज घोषणा गरेको यहाँस्थित अमेरिकी राजदूतावासले जनाएको छ । आज घोषणा भएको थप सहायता रकमसँगै अमेरिकी सरकारले नेपालमा कोभिड–१९ को सङ्क्रमण शुरुभएयताको एक वर्षमा समुद्रपार मानवीय सहयोग, दैवी विपत्ति सहायता तथा नागरिक सहायता कोषबाट चिकित्सा तथा स्वास्थ्य सामग्री, व्यक्तिगत सुरक्षा उपकरण, कोरोना भाइरस सङ्क्रमण परीक्षण उपकरण, हातधुनेस्थल निर्माणलगायत कोभिडविरुद्धका नेपाल सरकारका प्रयासमा रु ६७ करोड ८६ लाख प्रदान गरिसकेको पनि उक्त दूतावासले जनाएको छ । यही वैशाख २९ गते अमेरिकाले अत्यावश्यक स्वास्थ्य उपकरण कोभिड–१९ सङ्कट समन्वय तथा व्यवस्थापन केन्द्र (सीसीएमसी) र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीहरूको उपस्थितिमा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।

अमेरिकासँग खोप र स्वास्थ्य सामग्री सहयोगको आग्रह
उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्वको खोप र स्वास्थ्य सामग्री सहयोगका लागि अमेरिकी सरकारसँग आग्रह गरेका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रका संयोजक पोखरेल र नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरीबीच आज भएको टेलिफोन संवादमा नेपाललाई सक्दो छिटो खोप उपलब्ध गराइदिने वातावरण मिलाइदिन अमेरिकी राजदूत बेरीलाई आग्रह गरेका हुन् । 
नेपालमा कोराना भाइरसको तीव्र फैलावट रोक्न खोप नै उपपुक्त माध्यम भएकाले त्यसका लागि नेपाल सरकारले अमेरिका सरकारको सहयोग चाहेको उनले बताए । अमेरिकी खोपको नेपालमा उत्सुकता र तीव्र प्रतिक्षा रहेको उपप्रधानमन्त्री पोखरेलले जानकारी गराएका थिए । यसैगरी, कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक भेन्लिटेलर, पीपीई, अक्सिजन सिलिण्डर, अक्सिजन कन्सेन्ट्रेटर, मोबाइल अक्सिजन प्लान्ट, औषधि, खोप र खोपसँग सम्बन्धित सामग्री, अस्थायी अस्पताल स्थापनाका लागि आवश्यक पूर्वाधार र आवश्यक विज्ञ जनशक्ति लगायतका विषयमा नेपालले सहयोगको अपेक्षा गरेको उनले बताए । राजदूत बेरीले अर्को सातासम्म नेपालमा अमेरिकी सरकारका तर्फबाट स्वास्थ्य सामग्रीहरू सहयोग गरिने जानकारी दिएका थिए । सहयोगबारे आगामी आइतबारसम्म टुङ्गो लाग्ने उनले बताए । ‘खोपबारे मैले पनि पहल गरिरहेको छु, टुङ्गो लाग्नासाथ तपाईंलाई जानकारी गराउँछु’, उपप्रधानमन्त्रीलाई राजदूत बेरीले भने । राजदूत बेरीले हप्तामा दुई वटा अन्तर्राष्ट्रिय उडान गर्ने वातावरण बनाइदिन पनि उपप्रधानमन्त्री पोखरेललाई आग्रह गरेका थिए । 
उपप्रधानमन्त्री पोखरेलले यसका विषयमा आफूहरूले पनि सोचिरहेको भन्दै सिसिएमसीको बैठकबाट आवश्यक निर्णय गरिने जानकारी दिएका थिए ।  उपप्रधानमन्त्री पोखरेलले यसअघि नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक सारा बेस्लो न्यान्तीसँग पनि विश्व स्वास्थ्य सङ्गगठन (डब्ल्युएचओ)बाट पाउने कोभ्याक्सअन्तर्गत खोप सक्दो छिटो नेपाल ल्याउन सहजीकरण गरिदिन आग्रह गर्नुभएको उपप्रधानमन्त्रीका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  २२:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार