सोसल मिडिया
Contact Us
युनिकोड
बिहीबार(हिजो) अपरान्ह तीन बजेको थियो । ललितपुर महानगरले सुनाकोठीस्थित नेपाल युथ फाउण्डेसनको पोषण पुनसर््थापना गृहमा संचालन गरेको आइसोलेसन सेन्टरबाट एउटा समूह बाहिर निस्क्यो । उक्त समूहका सबैले रजिष्ट्ररमा आफ्नो नाम लेखे । आइसोलेसन सेन्टरमा खटिएकी नर्सिङ स्टाफ राधिका सापकोटाले कोरोना जितेर घर फर्किन लागेको त्यो समूहलाई भनिन् ,‘आफ्नो स्वास्थ्यको ख्याल गर्नुस, तपाईहरुले कोरोना जित्नु भएको छ, बधाई छ ’ ती नर्सले त्यसो भनिरहँदा त्यो समूहका सबै मुस्कुराएँ । र एकले भने,‘नर्स, डाक्टर सबैजनालाई धन्यवाद छ, तपाईहरुको प्रेरणा,हेरचाह र आफ्नो विश्वासले हामीले कोराना जित्यौं ।’ ती युवाले त्यसो भनिरहँदा एकछिन वातावरण शान्त भयो । त्यसपछि, समूहका सबैले आ आफ्नै शैलीमा डाक्टर, नर्स, सफाइकर्मी सबैलाई धन्यवाद दिए । त्यत्तिखेर उनीहरुको अनुसारमा कोरोनामुक्त भएको खुशी छताछुल्ल थियो । कोरोना जितेर घर फर्कन लागेका सबैले आइसोलेसन सेन्टरले उपलब्ध गराएको सेवासुविधा , मनोवैज्ञानिक परामर्श राम्रो भएको बताए । कोरोना जित्नका लागि आत्मविश्वास अत्यावश्यक भएको बताउँदै आइसोलेसनमा रहँदा शारीरिक व्यायाम गर्न, खानपिनमा ध्यान दिन आइसोलेसनमा बसिरहेकाहरुलाई उनीहरुले सुझाव दिए । ललितपुर महानगरले संचालन गरेको यो आइसोलेसनबाट बिहीबारसम्म ३२ जना डिस्चार्ज भएर घर फर्केका छन् । यसैगरी वडा नं ४ स्थित ज्यापु समाजको वृद्धाश्रम आनन्द निकेतन भवनबाट ४ जना डिस्चार्ज भए ।
महानगरले वैशाख २० गतेबाट सुनाकोठीमा अक्सिजन सहितको आइसोलेसन सेन्टर सुरु गरेको थियो । बागडोलको सेन्टर भने महानगरले वैशाख २४ बाट सुरु गरेको हो । ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले आइसोलेसन सेन्टरबाट डिस्चार्ज भएकालाई बधाई तथा शुभकामना दिए । आइसोलेन सेन्टर, होम आइसोलेन र उपचारका लागि अस्पताल भर्ना भएकाहरुलाई आत्मबल बलियो बनाउन सुझाव दिए । स्थानीय सरकार नागरिकको नजिकको सरकार भएको बताउँदै उनले निषेधआज्ञाको पूर्णपालना गर्न अनुरोध गरे । नगरप्रमुख महर्जनले भने,‘निषेधआज्ञाको पालना गर्नुस, घरबाट निस्कनै पर्दा राम्ररी मास्क लगाउनुस् , साबुनपानीले हात धुनुस् ,स्यानिटाइजर प्रयोग गर्नुस् , कोरोनाको पहिलो र महत्वपूर्ण औषधि यही हो । ’उपप्रमुख गीता सत्यालले डिस्चार्ज भएकालाई बधाई तथा शुभकामना दिदैँ संक्रमित सबैलाई आत्मविश्वास बलियो बनाउन अनुरोध गरिन् । उनले महानगरले महानगरवासीको स्वास्थ्य र सुरुक्षालाई उच्च प्राथमिकतामा राखेको बताइन् । उपप्रमुख सत्यालले भनिन्,‘हाम्रो प्राथमिकता महानगरवासीको स्वास्थ्य र सुरक्षा हो, विकास निर्माण त जनता स्वस्थ भए भइहाल्छ ।’महानगरका प्रमुख प्रशासकीय अधिकृत तथा ¥यापिड रेस्पोन्स टिमका संयोजक गणेश अर्यालले विभिन्न संघसंस्थासँग समन्वय गरी ती संस्थाको भौतिक पूर्वाधार प्रयोग गरेर महानगरले आइसोलेसन सेन्टर सुरु गरेको बताए । उनले भने,‘आइसोलेसनका लागि थप प्राविधिकहरु र स्रोत र सामग्री महानगरले उपलब्ध गराएको छ , पूर्वाधार संघसंस्थाको प्रयोग गरेको छ ।’ आइसोलेसन सेन्टर नागरिकलाई अप्ठ्यारो वा संकट पर्दा सहयोग र समन्वय गर्न स्थानीय सरकार तयार र सक्षम छ भन्ने उदाहरण भएको अर्यालको भनाई थियो ।होम आइसोलेसन, संस्थाहरुले संचालन गरेको आइसोलेसनमा बसेकालाई आत्मबल बलियो बनाउन आग्रह गर्दै उनले संक्रमितको अवस्था र चपालाई हेरेर महानगरले अन्य ठाउँमा पनि आइसोलेसन सेन्टर संचालन गर्ने तयारी गरेको बताए । उनले भने, ‘ कुन ठाउँ, कस्तो भन्ने विषयमा सम्भाव्यता अध्ययन भइरहेको छ, संक्रमितको चाप हेरेर निर्णय गर्छौ । ’ नेपाल युथ फाउन्डेसनका कार्यकारी निर्देशक राजु धमलाले अप्ठ्यारो परिस्थितिमा ललितपुर महानगरपालिकासँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्ति गरे । एकल प्रयासले मात्रै यो महामारी जित्न नसक्ने बताउँदै उनले सहकार्य र समन्वय अहिलेको आवश्यकता भएको बताए ।