काष्ठमण्डपसँग गाँसिएकाे महोत्तरीको साइनो

महोत्तरीमा हुर्केको सालका काठको प्रयोगले पुनर्निर्माण
शनिबार, जेठ १, २०७८

महोत्तरी । गोरखा भूकम्पले ध्वस्त बनाएको रानीपोखरी फेरि जमेको छ भने धरहरा फेरि ठडिएको छ । त्यही भूकम्पले नै ढालेको राजधानी काठमाडौँमा पूर्वकालमा एउटै रुखको काठले बनेको मानिने काष्ठमण्डपले पनि नयाँ रूप पाउँदै छ । काष्ठमण्डप निर्माण सम्पन्न हुने चरणमा छ । नवनिर्मित काष्ठमण्डप पुग्दा महोत्तरीका बासिन्दाले आफ्नै माटोको सुवास अनुभूति गर्छन् । निर्माण सम्पन्न हुने चरणमा पुगेको काष्ठमण्डप निर्माणमा महोत्तरीको माटामा हुर्केका साल (साखु) का काठको प्रयोगले यो सम्पदासँग महोत्तरीबासीको अपनत्ववोध बढेको छ ।
‘काष्ठमण्डप राष्ट्रकै गौरव हो, प्रत्येक नेपाली काष्ठमण्डप पुग्दा राष्ट्रको खास सम्पदा भएको गौरवबोध गर्छन्’, भङ्गाहा नगरपालिका–३ का बासिन्दा समाजशास्त्री शिवराज दाहाल भन्छन्, ‘नवनिर्मित काष्ठमण्डपमा आफ्नै जिल्लामा हुर्केका सालका काठ प्रयोग भएको हुँदा महोत्तरीबासीलाई त्यहाँ पुग्दा विशेष गौरववोधको अवसर जुटेको छ ।’ मुलुककै कहलिएको पुरातात्विक महत्वको राष्ट्रिय सम्पदामा आफ्नो माटोको योगदान रहेको अनुभूतिले महोत्तरीबासीलाई थप गौरववोध गराएको दाहालको भनाइ छ । 
विक्रम सम्वत् २०७२ को  भूकम्पले ढालेको ऐतिहासिक सम्पदा काष्ठमण्डपको पुनःनिर्माणमा लागेका काठ महोत्तरीको सालका हुन् । काष्ठमण्डप पुनःनिर्माणका क्रममा प्रयोग भएका मुख्य खाँबा, धुरीबलो, फलेक र घरका दलिन महोत्तरीकै सालको काठ प्रयोग भएको काष्ठमण्डप पुनःनिर्माण समितिले जनाएको छ । निर्माणमा प्रयोग भएका अधिकांश काठ महोत्तरीको सालका रहेका समितिका अध्यक्ष राजेश शाक्य बताउँछन् । 

‘काष्ठमण्डप पुनःनिर्माणमा प्रयोग भएका काठ महोत्तरीको सालका हुन्’, काठमाडौँ–८ ‘क’ बाट निर्वाचित प्रदेशसभा सदस्य शाक्यले भने, ‘महोत्तरीका साल लामो, मोटो र उम्दा अग्राख (चुरो) भएका हुँदा रहेछन् ।’  खाँबाका लागि मोटा, डोला र निकै लम्बाइ भएका काठ चाहिने आवश्यकता महोत्तरीकै सालबाट पूरा गरिएको शाक्यको भनाइ छ । महोत्तरीबाट काष्ठमण्डप पुनःनिर्माणका लागि ४२ हजार क्यूविक फिट सालका गोलिया (गिण्डा) प्राप्त भएको समितिले जनाएको छ । काष्ठमण्डप पुनःनिर्माण सम्पन्न भइसक्दा राष्ट्रले गौरवबोध गर्ने सम्पदा हुने शाक्य बताउँछन् । ‘काष्ठमण्डप पुनःनिर्माणमा हिमाल, पहाड र तराईका विभिन्न निर्माण सामग्रीको प्रयोग भएको छ’ शाक्यले भने, ‘मुलुकको जुनसुकै क्षेत्रका जनताले यसमा अपनत्व महसुस गर्नेछन् ।’ 
यसै आर्थिक वर्ष (२०७७÷०७८) भित्रै निर्माण सम्पन्न हुने गरी काष्ठमण्डप निर्माणको काम अहिले गतिमा बढेको छ । पछिल्लो कालमा कोभिड–१९ सङ्क्रमण सन्त्रासले निर्माण चाँडै सक्न प्रतिकूल स्थिति बने पनि काम ठप्पै भने रोकिएको छैन । कामदार एकार्काबीच दूरी निर्वाह र अन्य स्वास्थ्य मापदण्ड कायम गरेर काम अघि बढाइरहेको समितिले जनाएको छ । यद्यपि बढ्दो सङ्क्रमणले अब चाहिँ केही दिन काम रोक्नुपर्ने अवस्था बनेको शाक्य बताउँछन् । 
काष्ठमण्डपमा अहिले छानो लगाउने  काम अन्तिम चरणमा छ । छानामा काठ, माटो र झिँगटी प्रयोग गरिएको अध्यक्ष शाक्य बताउँछन् । भूकम्पले पूर्णरूपमा क्षति पुगेको सातौँ शताब्दीको काष्ठमण्डप पुनःनिर्माणको काम तीन वर्षअघि शुरु गरिएको हो । तीनतले काष्ठमण्डप यही आउने असार मसान्तभित्र सम्पन्न गर्ने तालिका रहेको समितिले जनाएको छ । महाव्याधिले काम समयमा पूरा गर्न नदिने पो हो कि भन्ने समितिका अध्यक्ष शाक्यले चिन्ता व्यक्त गरेका छन् । 
सातौँ शताब्दी विसेत नाउँका व्यक्तिले कल्पतरुलाई चिनेर नियन्त्रणमा लिई एउटा रूख उपलब्ध गराउने वाचा गराएर छाडेपछि कल्पतरुले सालको काठ दिएको र त्यसै काठबाट काष्ठमण्डप बनेको विश्वास गरिन्छ । सातौँ शताब्दीमा राजा लक्ष्मीनरसिंह मल्लले सोही काठबाट मूर्तिविहीन मरुसतः बनाएका र पछि यसैलाई काष्ठमण्डप भन्न थालिएको जनविश्वास छ । काष्ठमण्डप नाउँबाट नै नेपालको राजधानीको नाम काठमाडौँ  रहेको भनाइ छ ।  काष्ठमण्डप पुनःनिर्माणका लागि १९ करोड ८८ लाख रुपैयाँ खर्च लाग्ने २०७२ सालको लागत अनुमान रहेको समितिले जनाएको छ । पुनःनिर्माणमा हालसम्म काठमाडौँ महानगरपालिकाले काष्ठमण्डप पुनःनिर्माण समितिलाई चरणबद्धरूपमा १० करोड रुपैयाँ उपलब्ध गराइसकेको शाक्य बताउँछन् । पुनःनिर्माण काममा हालसम्म लागेको खर्च र बाँकी कामको लेखाजोखा गर्दा १२ करोड ५० लाख रुपैयाँ भित्र निर्माण सम्पन्न गर्न सकिने समितिको आकलन छ । 
काष्ठमण्डप पुनःनिर्माणमा सङ्घीय सरकार, पुनःनिर्माण समिति र टिम्बर कर्पोरेशन नेपालको पहलकदमीबाट साल उपलब्ध गराइएको डिभिजन वन कार्यालय महोत्तरीका तत्कालीन (२०७५ साल) प्रमुख हेमन्तप्रसाद साह सम्झुन्छन् । पठाइएका सालका गोलिया महोत्तरीको गणन्ता र टुटेश्वर वनक्षेत्रका रहेको सबडिभिजन वन कार्यालय माइस्थान (बर्दिबास–४) ले जनाएको छ । 
काष्ठमण्डप पुनःनिर्माणमा महोत्तरीका काठको प्रयोगले मुलुकका ऐतिहासिक महत्वका सम्पदामा मधेशको अपनत्वबोध भएको र त्यहाँ अगाडि पुग्दा हामीले नै बनाएका हौंँ भन्ने लाग्ने गरेको महोत्तरी–१ ‘क’ बाट निर्वाचित प्रदेशसभा सदस्य शारदा थापा बताउँछन् । 

प्रकाशित मिति: शनिबार, जेठ १, २०७८  ०६:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार