सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । ललितपुर महानगरपालिकाले महानगरभित्र रहेका अव्यवस्थित पार्कलाई चिटिक्क बनाउन पुनर्निर्माण गर्ने भएको छ । पुनर्निर्माण हुने पार्कमा कुपण्डोलस्थित शुक्रराज शास्त्रीपार्क, कुपण्डोलको नबिल बैंकद्धारसँगै रहेको पार्क, भैसींपाटी छ्यासीकोट पार्क, भैसीपाटी भञ्ज्याङमा रहेको साउने कुवा पार्क छन् । त्यसैगरी कुमारीपाटीस्थित एकता बुक सेन्टरसँगै र पहिला प्रसादी एकेडेमी रहेको स्थानसँगैको खाली ठाउँमा महानगरले पार्क बनाउन योजना अघि सारेको छ । लगनखेलस्थित सप्तपातल पोखरीमा पार्क सहित पोखरी निर्माण गर्ने महानगरले जनाएको छ । निर्माण र पुनर्निर्माण हुने पार्कको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले प्राविधिक समूह र विज्ञसहित अवलोकन गरेका छन् । उक्त समूहमा महानगरका प्रमुखका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, पूर्वाधार महाशाखा प्रमुख इन्जिनियर रुद्र गौतम, वरिष्ठ इन्जिनियर रामरतन शाह थिए । उक्त समूहमा पार्क निर्माणको प्रारुप तयार पार्न सहकार्य गरिरहेको वृक्ष फाउन्डेसनका प्रतिनिधि पनि थिए । महानगरको सहरलाई हरियालीयुक्त सहर निर्माणको योजना अन्तर्गत पार्क निर्माण र पुनर्निर्माणको काम अघि बढाएको महानगर प्रमुख चिरीबाबु महर्जनले बताए । उनले भने, ‘पानी र हरियालीजन्य योजनालाई महानगरले प्राथमिकतामा राखेको छ, त्यसै अनुसार पार्क निर्माण र पोखरी संरक्षणको काम भइरहेको छ ।’ स्थलगत अवलोकनका क्रममा महानगरका प्रमुख महर्जनले कुपण्डोलको शुक्रराज शास्त्री पार्क ऐतिहासिक भएको बताउँदै पुनर्निर्माण गर्दा ध्यान पु¥याउन अनुरोध गरे । लगनखेलको सप्तपातल पोखरीसँगै बन्ने पार्क महानगरको हरियाली र पानीजन्य योजनाको फ्युजन हुने बताए । यसले महानगरलाई अझै सुन्दर बनाउने धारणा व्यक्त गरे । महानगरको वडा नं २५ मा रहेको छ्यासीकोट पार्कले बुङमती, खोकनाको ऐतिहासिक पक्षलाई उजागर गर्न मद्दत पु¥याउने महर्जनको विश्वास छ । भैसीपाटी भञ्ज्याङमा रहेको साउने कुवा पार्कमा रहेको कुवाको संरक्षण गर्दै पार्क पुनर्निर्माण गर्न प्राविधिक टोलीलाई महानगरप्रमुख महर्जनले सल्लाह दिए । यो पार्क महानगरको वडा नं १८ मा पर्छ । बाक्लो बस्तीको बीचमा निर्माण हुन लागेको कुमारीपाटीका दुई पार्कको आफ्नै विशेषता भएको बताउँदै वातावरण संरक्षणमा पार्क महत्वपूर्ण हुने स्पष्ट पारे ।