सोसल मिडिया
Contact Us
युनिकोड
फुङ्लिङ । मयूर बिस्तारै देखापर्न छाडेका छन् । गाउँको नजीकसम्म आएर नाच्ने मयूर बिस्तारै विस्थापित हुँदै गएपछि ताप्लेजुङको मेरिङदेन गाउँपालिका मयूर संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जुटेको छ । विगतमा गाउँघरका नजीक–नजीकका जङ्गलमा प्रशस्त देखापर्ने मयूर आहिले देखापर्न छोडेको आठराई त्रिवेणी गाउँपालिका- ४ का स्थानीयवासी प्रजिन लिम्बूले बताए । मयू्र एक आकर्षक पन्छी हो । आज भोलि बिस्तारै मयूर लोभ हँुदै गएको लिम्बूले बताए । केही वर्षअगाडि गाउँघर नजीकैका जङ्गलमा देखापर्ने मयूर आजभोलि विस्थापित हुन पुगेको पाथीभरायाङवरक गाउँपालिका—५ का स्थानीयवासी ठाकुरसिंह लिम्बूले बताए । स्थानीय सरकार आएपछि गाउँगाउँमा नयाँ सडक विस्तार गर्ने र भौतिक निर्माणले गर्दा पहिला प्रशस्त देखापर्ने मयूर अहिले विस्थापित हुँदै आएका सिदिङवा गाउँपालिका–४ की अनिता लिम्बूले सुनाए । दुर्लभ पन्छी मयूर विस्थापित हुँदै गए पनि संरक्षणका लागि कुनै स्थानीय सरकार तथा सरोकारवालले चासो नदिएको उनले बताए । भौतिक विकास निर्माणसँगै भिन्न मानवीय गतिविधि बढेकाले मयूर विस्थापित हँुदै गएपछि मेरिङदेनले मयूर संरक्षणमा लागेको गाउँपालिकाका प्रवक्ता सूर्यमान बराइलीले बताए । गाउँपालिकाले चालु आर्थिक वर्षमा मयूर संरक्षण बजेटसमेत विनियोजन गरेर संरक्षण गर्न लागेको हो । मयूर संरक्षणका लागि गाउँपालिकाले एकजना कर्मचारी कारारमा नियुक्ति गरेको छ । मयूरको आहारा दिने, पानी दिने र रेखदेख गर्नका लागि कर्मचारी नियुक्त गरिएको गाउँपालिकाले जनाएको छ । दुई वर्षदेखि गाउँपालिकाले संरक्षण गर्न थालेपछि जङ्गलमा दैनिकरूपमा मयूर देखा पर्न थालेका मेरिङदेन–२ का पूर्णहाङ लिम्बूले बताए । चालु आवमा मयूरको आहारा व्यवस्थापन गर्नका लागि गउँपालिकाले रु तीन लाख रकम विनियोजन गरेको गाउँपालिकाका प्रवक्ता बराइलीले बताए । मयूर संरक्षण गर्न कर्मचारीको तलबका लागि रु दुई लाख गाउँपालिकाले विनियोजन गरेको जनाइएको छ । मेरिङदेन–५ र २ क्षेत्रलाई मयूर संरक्षण क्षेत्र घोषणा गरेर संरक्षण गरिएको प्रवक्ता बराइलीले बताउनुभयो । मकै, धान जस्ता विभिन्न खाद्यान्न दैनिक आहाराका रूपमा मयूरलाई दिइँदै आएको छ । विगतमा ताप्लेजुङका धेरै क्षेत्रमा मयूर प्रशस्त पाइए पनि अहिले देखापर्न छाडेपछि सो गाउँपालिकाले संरक्षणका लागि पहलको शुरुआत गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेले बताए । दिन प्रतिदिन मानवीय गतिविधि र भौतिक निर्माणका काम बढिरहेकाले मयूर विस्थापित हुँदै जाने भएकाले संरक्षणको आवश्यकता भएको उनले सुनाए ।
मयूरलाई संरक्षण गर्न सके आन्तरिक तथा बाह्य पर्यटकको प्रवद्र्धन गर्न सकिने गाउँपालिकाका प्रवक्ता बराइलीले बताए । मयूर संरक्षण क्षेत्रमा होडिङ बोर्ड राखेर मयूरको महत्व र विशेषताबारे प्रचारप्रसार गरिँर्दै आएको गाउँपालिकाले जनाएको छ । आगामी वर्षमा मयूरको संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड दिन योजना निर्माण गर्ने गाउँपालिको लक्ष्य रहेको प्रमुख प्रशासकीय अधिकृत आङदेम्बेले बताए । गत वर्षदेखि गाउँपालिकाले योेजना बनाएर संरक्षण गर्न थालेसँगै मयूरको सङ्ख्यासमेत वृद्धि भएको स्थानीयवासी देउमान लङवाले बताए ।–रासस