सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । प्रहरीले काठमाडौंमा नक्कली मदिरा बनाई बेचबिखन गर्ने नौं जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले काठमाडौंको कागेश्वरी नगरपालिका–५ थलीमा घर भाडा लिएर नक्कली मदिरा तयार गर्ने स्थानमा छापा मारेर नौजनालाई नियन्त्रणमा लिएको हो । उपत्यकामा स्वदेशी तथा विदेशी ब्राण्डका गुणस्तरहीन मदिरा उत्पादन गरी कालोबजारी गरिरहेको भन्ने सूचनाको आधारमा मंगलबार खटिएको विशेष प्रहरी टोलीले छापा मारेको थियो । कागेश्वरी नगरपालिका–५ थलीमा घर भाडामा लिएर उनीहरुले स्वदेशी तथा विदेशी रक्सीको बोतलमा नक्कली रक्सी भरी बिक्री वितरण गर्दै आएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । पक्राउ पर्नेमा रामेछाप खाँडादेवी –२ घर भई मूलपानी बस्ने २८ वर्षका मनोज खत्री, खाँडादेवी –२ कै मुलपानी बस्ने २० वर्षका मनिष खत्री,रामेछापकै मजुवा –३ का मूलपानी बस्ने २३ वर्षका महेश खत्री, खाँडादेवी –२ कै ३६ वर्षका कोटेश्वर बस्ने विनोदकुमार काकी र सिन्धुपाल्चोक घर भई मूलपानी बस्ने २७ वर्षका मोहन खड्का रहेका छन् ।
त्यस्तै सिन्धुली घर भई कोटेश्वर बस्ने ४० वर्षका लेखबिक्रम थापा, सिन्धुलीकै मूलपानी बस्ने २८ वर्षका गौरव तामाङ, कागेश्वरी मनोहरा नगरपालिका–६ का ३६ वर्षका सुमन नगरकोटी र सिन्धुपाल्चोक घर भई मूलपानी बस्ने १८ वर्षका रोशन कार्कीलाई पनि प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार विनोद कार्कीको थलीस्थित भाडाको कोठा खानतलासी गर्दा स्वदेशी तथा विदेशी ब्राण्डका गुणस्तरहीन मदिरा बनाइ कालोबजारी गर्ने गरेको पाइएको थियो । पक्राउ परेका नौ जना मिलेर बजारमा पाइने सामान्य मदिरालाई ब्राण्डेड रक्सीको बोतलमा मिसाएर बिक्री गर्ने गरेका थिए । उनीहरुले नक्कली मदिराहरु बजार मूल्यभन्दा सस्तोमा दिने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । उनीहरूले नाम चलेका विभिन्न ब्राण्डका नक्कली मदिरा बेच्न आन्तरिक राजस्व कार्यालयको अन्तःशुल्कका नक्कली स्टिकरहरू प्रयोग गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले बताए । ब्रान्डेड रक्सीको बोटलमा लोकल मदिरा मिसाउँदै बजार पुर्याउने समूह पक्राउ परेपछि यसखाले कारोबारमा पुरानै गिरोह सक्रिय रहेको खुलेको छ। अन्तः शुल्कको स्टिकर समेत नक्कली बनाएर उनीहरुले गैर कानुनी रुपमा नक्कली मदिराको कारोबार गर्दै आएका खुलेको हो । काठमाडौंका विभिन्न ठाउँमा सो गिरोहले रक्सी बोटलिङ गर्दै आएको प्रहरी अनुसन्धानले देखाएको छ । बोटलिङ गर्दा महँगो रक्सीको थोरै मात्रा राख्ने र त्यसमा सस्तोमै पाइने रक्सी मिसाउने गर्दै आएको भेटिएको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ‘लिमा–थ्री अपरेसन’बाट ९ जनालाई पक्राउ गरेपछि सक्कली बोतलमा नक्कली रक्सीको पोल खुलेको हो। पक्राउ परेका मनोज खत्री, विनोद कुमार कार्की र गौरव तामाङ यसअघि पटकपटक नक्कली रक्सी प्रकरणमा पक्राउ परिसकेका व्यक्ति हुन् ।
मनोज चौथो पटक नक्कली रक्सी प्रकरणमा मुछिएका हुन् । उनी एक पटक अदालतबाट ५० हजार रुपैयाँ धरौटी बुझाएर निस्किएका थिए भने दुई पटक भने फरार रहेका थिए । त्यस्तै, विनोद कुमार खत्री दुईवटा नक्कली रक्सी प्रकरणमा फरार रहेका व्यक्ति हुन्। गौरव पनि दुईवटा घटनामा संलग्न भएको देखिएको थियो । विनोदले कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर–५ थलीमा घर भाडामा लिएर नक्कली रक्सीको कारोबार गरेको खुलेको छ । ‘एक पटक छुटेपछि पनि यही गिरोहले फेरि त्यही धन्दा गरिरहेको भन्ने जानकारी पाएपछि हामीले अपरेसन जारी राखेका थियौं,’ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठौंरले भने । प्रहरीले यस प्रकरणमा विभिन्न ब्रान्डका नक्कली रक्सी, रक्सी भर्नका लागि राखिएका ब्रान्डेड कम्पनीले उत्पादन गरेका खाली बोतल, नक्कली तथा सक्कली अन्तःशुल्क स्टिकर समेत बरामद गरेको छ। प्रहरीले २०७८ माघ १० गते, २०७९ माघ १४ गते र यही माघ २ गते नक्कली रक्सी प्रकरणमा अपरेसन गरेको थियो। यसपटकको अपरेसनमा पुरानै गिरोहको संलग्नता स्थापित भयो ।
यसरी चल्थ्यो नक्कली रक्सीको धन्दा
बजारमा ४५ रुपैयाँसम्म पर्ने लोकल रक्सी मिसाउने गरेको खुलेको छ। यस गिरोहले सस्तो ब्रान्डको रक्सीमा चिनी पानी मिसाएर ब्ल्याक लेबलको बोटलिङ गर्ने गरेको खुलेको छ। ‘सगुन गोल्ड’ नामको रक्सीलाई ब्ल्याक लेबलको बोतलमा राखेर उनीहरुले बिक्री गर्ने गर्थे । ब्रान्डेड लेबलिङमा बोटलिङ गर्दा थोरै परिमाणमा उनीहरुले ब्ल्याक लेबल पनि मिसाउने गरेको खुलेको छ । ‘सगुन रक्सी’को कलर सेतो हुने भएकाले कालो देखाउन उनीहरूले चिनी पकाएर कालो बनाएर मिसाउने गरेको अनुसन्धानका क्रममा खुलेको छ। ‘ब्ल्याक लेभको रंग देखाउन चिनी पानी पकाएर मिसाउने गरेको देखिन्छ,’ एसएसपी राठौरले भने । उनीहरूले ब्ल्याक लेबलको बोतल भने ठमेलका विभिन्न स्थानका रेस्टुराँबाट उठाउने गरेको खुलेको छ। प्रहरीले खाली बोतल उठाउने रेस्टुरेन्ट तथा क्लबसँगको कारोबार समेत पहिचान गरेको छ। पुराना बोतलमा नयाँ नक्कली रक्सी हालेपछि सिल प्याक गरेर अन्तःशुल्कको स्टिकर टाँस्ने गरेको देखिएको छ। सजिलै उप्किएका, बिक्री भइसकेका रक्सीका स्टिकरसहित नक्कली स्टिकरसमेत उनीहरुले प्रयोगमा ल्याएको देखिन्छ। पक्राउ परेका अभियुक्तहरूको बयानअनुसार उनीहरूले नक्कली स्टिकर भारतबाट भित्र्याउने गरेका थिए। ‘पुरानो स्टिकर नच्याती उप्काउने र त्यसका लागि समेत पैसा दिएको देखियो। नउप्केको खण्डमा नक्कली स्टिकर प्रयोग भएको देखिन्छ,’ अनुसन्धानमा खटिएका एक अधिकृतले सुनाए । पछिल्लो समय भारतबाट तस्कर समूहले अन्तः शुल्कको स्टिकर ल्याउनेक्रम बढेको छ। भारतमा सस्तोमै राम्रो छपाई हुने र खुला सीमाका कारण चोर बाटोबाट भित्र्याउन कठिन नहुने भएकाले उनीहरुले यसखाले उपाय लगाएको पाइन्छ।
त्यस्तै, सो समुहले गोल्डेन वाक, खुकुरी रम लगायतका रक्सी समेत नक्कली नै उत्पादन गरेको फेला परेको छ। बजारमा जुन मदिराको माग धेरै छ उनीहरुले त्यसैका आधारमा उत्पादन गरेको देखिएको छ। माग धेरै भएकाले त्यही अनुसार नक्कली रक्सी बनाउने गरेको बयान पक्राउ परेकाहरुले दिएका छन् । यसरी बनाइएको रक्सी उनीहरूले उपत्यकाका विभिन्न क्लब, रेस्टुरेन्ट र पार्टी प्यालेसमा बिक्री गर्दै आएको देखिएको छ। यस्ता रक्सी ढुवानीका लागि उनीहरुले एउटा गाडी समेत प्रयोगमा ल्याउने गरेका थिए । धेरैजसो रक्सी खपत पार्टी प्यालेसमा भएको पाइएको छ। प्रहरीले नक्कली रक्सी भनेर जान्दाजान्दै खरिद गर्ने मानिसलाई पनि अनुसन्धानको घेरामा राखेको छ। ‘बार टेन्डरसँग मिलेर र पार्टी प्यालेसमा भोजमा धेरै बिक्री गरेको पाइयो,’ अनुसन्धानमा खटिएका ती अधिकृतले भने ।