सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडाैं । एक जापानी रोबोट चन्द्रमामा सफलतापूर्वक अवतरण गरेको छ। तर त्यसको सौर्य ऊर्जा प्रणालीमा समस्या देखिएसँगै उक्त मिसनले केही घण्टा मात्र काम गर्न सक्ने देखिएको छ । द स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेटिङ मुन (स्लिम) ‘इक्वेटर’ पनि भनिने चन्द्रमाको मध्य रेखा नजिकैको खाडल 'क्रेटर'मा नियन्त्रित रूपमा अवतरण गरेको हो । यस सफलतासँगै एशियाली मुलुक जापान चन्द्रमामा नियन्त्रित रूपमा अवतरण गर्न सफल पाँचौँ देश बनेको छ । यसअघि अमेरिका, तत्कालीन सोभियत सङ्घ, चीन र भारत चन्द्रमामा पुगेका छन् ।. यद्यपि इन्जिनियरहरू अझै उक्त मिसनलाई जोगाउन लागि परेका छन् ।
अहिले के भइरहेको छ? जापान चन्द्रमामा नियन्त्रित रूपमा अवतरण गर्न सफल पाँचौ देश बनेको छ । अझै कारण थाहा नभए तापनि उक्त यानमा रहेका सौर्य ब्याट्रीले ऊर्जा उत्पादन गर्नेछैनन् । जसका कारण स्लिम पूर्णतः उसका ब्याट्रीमा भर पर्नेछ र ती बिस्तारै 'डिस्चार्ज' हुनेछन् । त्यसो भएपछि अन्तरिक्ष यानले काम गर्नेछैन । त्यसले कमान्डहरू लिनेछैन र पृथ्वीसँग सम्पर्कमा रहन सक्नेछैन । इञ्जिनिअरहरूले अहिले प्राथमिकता निर्धारण गर्दै आफ्ना कामहरू गरिरहेका छन् । उनीहरूले लुनार ल्यान्डरबाट ब्याट्री सकिनु अगाडी सक्दो धेरै डेटा हात पार्ने प्रयास गरिरहेका छन् । जसक्रममा उनीहरूले हिटरहरू बन्द गरेका छन् त्यसले खिचेका तस्बिरहरू समेत निकाल्ने काम गरिरहेका छन् । उनीहरूले निकालिरहेको अर्को एक डेटाले अवतरण सम्बन्धी सफ्टवेअरले कसरी काम गर्यो भन्ने जानकारी दिनेछ । जापानी अन्तरिक्ष निकायका अधिकारीहरूले स्लिम निष्क्रिय अवस्थामा गइहालेमा पनि तत्कालै सबै प्रयास छाडिहाल्ने छैनन् । उनीहरूका अनुसार चन्द्रमामा प्रकाशको दिशा परिवर्तन हुँदा स्लिम पुनः सक्रिय हुनसक्ने सम्भावना रहन सक्छ ।
नियन्त्रित अवतरणको दाबी एक पत्रकार सम्मेलनमा के जापानले अन्तरिक्षयान नियन्त्रित रूपमा अवतरण भएको तर्कसङ्गत दाबी गर्न सक्छ भनेर सोधिएको थियो । जवाफमा जापानको अन्तरिक्ष निकायका उपाध्यक्ष हितोसी कुनिनाकाले त्यसो गर्न सकिने बताए । "नियन्त्रित अवतरण सफल नभएको भए त्यहाँको सतहमा तीव्र गतिमा ठोक्किन सक्थ्यो र अन्तरिक्षयान पूर्ण रूपमा काम गर्न नसक्ने हुन्थ्यो," उनले संवाददाताहरूसँग भने, "यसले अझै हामीलाई राम्रोसँग डेटा पठाइरहेको छ जसको अर्थ हाम्रो नियन्त्रित अवतरण गराउने सुरुवाती उद्देश्य सफल भएको छ ।" ]
स्लिम अवतरण भएपछि त्यसबाट दुई साना रोभरहरू निस्किएका थिए जसले पृथ्वीतर्फ डेटाहरू पठाउन थालेको जापानी अन्तरिक्ष निकायले जनाएको छ । इन्फ्रारेड क्यामेरा राखिएका रोबोटले त्यस ठाउँको भूगर्भ अध्ययनका लागि आउँदो पन्ध्र दिन बिताउने सोचिएको थियो । तर अब उपलब्ध समयभित्र यस अनुसन्धानको कति कुरा हासिल गर्न सकिएला भन्ने चाहीँ अनिश्चित देखिएको छ । स्लिम जापानी समय अनुसार शनिवार मध्यरातपछि चन्द्रमामा अवतरण गरेको थियो । विगतका प्रयासहरू हेर्दा चन्द्रमामा अवतरण गर्ने काम निकै कठिन पाइएको छ । अहिलेसम्म भएका प्रयासमध्ये झण्डै आधामात्र सफल भएका छन् ।–बीबीसी