धमाधम स्वास्थ्य सामग्री स्वदेश ल्याउँदै नेपाल एयरलाइन्स

बुधबार, जेठ ५, २०७८

काठमाडौँ । राज्य र नागरिकका लागि अत्यावश्यक सामग्रीको ढुवानीमा गर्न राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले उच्च प्राथमिकता दिएको छ ।  कोभिड–१९ (कोरोना भाइरस) को अहिलेको महामारीमा विगतको भन्दा यो वर्ष निगमले मेडिकल चाटर्ड उडान तुलनात्मक रूपमा धेरै गरेको छ । दिनहुँ निगमले विभिन्न मुलुकबाट अत्यावश्यक स्वास्थ्य सामग्री नेपाल ल्याइरहेको छ ।  चीनले उलब्ध गराएको खाली अक्सिजन सिलिण्डर, अक्सिजन कन्सर्नट्रेटरलगायतको स्वास्थ्य सामग्री, भारत र चीनले उपलब्ध गराएका कोरोना विरुद्धको खोपजस्त राज्यका लागि अति आवश्यक स्वास्थ्य सामग्री नेपाल एयरलाइन्सकै जहाजबाट नेपाल भित्रिएका हुन् ।  निगमले चीनको बेइजिङ्बाट हाल पाँच उडान गरी जम्मा दुई हजार ३३५ खाली अक्सिजन सिलिण्डर, अक्सिजन कन्सर्नटे«टरलगायतका स्वास्थ्य सामग्री आजसम्म काठमाडौँ ल्याउदैछ भने १५ मे मा ओमनबाट अक्सिजन सिलिण्डर तथा औषधिजन्य सामग्रीसहित एक नेपालीको समेत उद्धार गरी ल्याएको छ ।
निगमका निर्देशक एवम् प्रवक्ता करिश्मा श्रेष्ठसँग आगामी चार्टर्ड उडानको सम्बन्धमा जिज्ञासा राख्दा उनको भनाई थियो “निगमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रत्यक्ष निर्देशन र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) सँगको सहकार्यसहित उडान भर्ने सम्बन्धित मुलुकको उडान अनुमतिमा कार्यसम्पादन गर्दै आएको छ, सोही क्रममा सिङ्गापुरबाट मे २२ मा स्वास्थ्य सामग्री ल्याउने तयारीमा जुटेको छ ।”
उनका अनुसार सिङ्गापुरस्थित टेमसेक फाउण्डेशनको सहयोगमा प्राप्त स्वास्थ्य सामग्री ल्याउन निगमले अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय र तालुक पर्यटन मन्त्रालयको निर्देशनमा मे २२ मा आरएको जहाजबाट बिहान उडान गर्ने र सोही दिन साँझ काठमाडौँ स्वास्थ्य सामग्री ल्याउने गृहकार्य गरिरहेको छ ।
निगमले मित्रराष्ट्र भारतका नागरिकहरूका लागि मात्र भारतीय दूतावासको सिफारिसका आधारमा मे १८ देखि २२ सम्म साउदी अरेबियामा सात वटा उडान गर्नेछ । भारतीय नागरिक अन्तरराष्ट्रिय हवाई सेवाको प्रतिबन्ध लगाउनुअघि साउदी जानको लागि नेपालमा आएका थिए । कोभिड महामारी नियन्त्रणका लागि सरकारले वैशाख २३ गतेदेखि अन्तरराष्ट्रिय हवाइ उडान प्रतिबन्ध लगाए पनि ती भारतीय अलपत्र परेका थिए । नेपालमा अड्किएका भारतीयलाई गन्तव्यमा पु¥याउन क्यानले १० उडान अनुमति दिएको छ । यसमा निगमको सात र तीन उडान हिमालय एयरलाइन्सले गर्नेछ ।  
परराष्ट्र मन्त्रालयको निर्देशन एवम् भारतीय दूतावासको समन्वयमा साउदी अरेबिया जाने अति आवश्यक भारतीय नागरिकको हकमा निगमद्धारा उपलब्ध गराएको टिकटको आधारमा पाँच वटा उडान साउदीको रियाद र दुई वटा दमामका लागि निर्धारण गरेको छ । निगमको उच्च सक्रियताका कारण साउदीमा हुने १० उडानमध्ये सात उडानको जिम्मेवारी निगमले पाएको छ ।
निगमका सह–प्रवक्ता सुलेख मिश्रले निगमले मुनाफा सहितको सुरक्षित सेवा र दैवी प्रकोपको हकमा ऐन अनुसार सेवा प्रदान गर्दै आएको छ ।  निगमका महाप्रवन्धक डिमप्रकाश पौडेलसहितका टिम उच्च सक्रिय रहेको पछिल्लो परिणाम विदेशी कूटनीतिक नियोगले समेत व्यावसायिक सम्मान दिएको प्रवक्ता श्रेष्ठको भनाइ छ । उनका अनुसार निगमले चीनको सेनजेनमा यही मे १९ मा मेडिकल चाटर्ड उडान गरी सोही दिन फर्किने तयारीमा जुटेको छ । निगमसँग दुई न्यारो बडी र दुई वाइड बडी गरी जम्मा चार जहाज अन्तरराष्ट्रिय उडानका लागि भएपनि व्यावसायिक र आवश्यकताको तुलनामा जहाजको सङ्ख्या कम छ । 

हिमालयले चाटर्ड उडान गर्ने
नेपालमा रहेका भारतीय नागरिक लैजान हिमालय एयरलाइन्सले साउदी अरेबियाको दमाममा तीन वटा चाटर्ड उडान गर्ने भएको छ । सरकारको निर्णय अनुसार मे १८ मा दमामका लागि उडान तालिका निर्धारण गरिएको एयरलाइन्सले जनाएको हो । एयरलाइन्सले चाटर्ड उडानका लागि नयाँ भाडादर पनि तोकेको छ । काठमाडौं–दमामका लागि ८२० अमेरिकी डलर तिर्नुपर्नेछ । उडानमा सहभागी यात्रुले अनिवार्य रूपमा पिसिआर परीक्षण गरेको रिपोर्ट देखाउनुपर्नेछ । 
 

प्रकाशित मिति: बुधबार, जेठ ५, २०७८  ०६:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार