सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । काठमाडौंमा यस वर्षकै सबैभन्दा बढी चिसो महसुस भएको छ । आज काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झरेपछि अघिल्ला दिनको तुलनामा बढी चिसो भएको हो । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बिहीबार बेलुका गरेको मापनमा काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको जनाएको छ । जुन यो वर्षको हिउँदयाममा अहिलेसम्मकै कम तापक्रम मापन हो । शुक्रबार बिहान पौने ६ बजे भने काठमाडौंको न्यूनतम तापक्रम ३।४ डिग्री सेल्सियस मापन भएको छ । यसअघि माघ ८ गते साँझ काठमाडौंको न्यूनतम तापक्रम ३।२ डिग्री सेल्सियस मापन भएको थियो । अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हिँउदे वर्षा नभएपनि माथिल्लो तहमा चिसो बादल आएकाले मौसम चिसिएको छ । त्यसैले उपत्यका लगायत देशैभर जाडो झन् बढ्दो क्रममै छ । महाशाखाले तापक्रमको पछिल्लो अपडेट हरेक दिन बिहान पौने ९ बजे र बेलुका पौने ६ बजे सार्वजनिक गर्दै आएको छ ।
कोशी,कर्णाली र गण्डकी प्रदेशको केही स्थानमा हल्का वर्षाको सम्भावना
आज देशभरको मौसम साधारणतया सफा रहनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेका कारण पहाडी भू–भागमा आंशिक बदली रही तराईका भू–भागमा बाक्लो हुस्सु र कुहिरोले ढाकेको छ । आज पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ । दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको पनि विभागले उल्लेख गरेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना पनि रहेको छ । शुक्रबार राती देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ । राती देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । तराईका अधिकांश स्थानहरूमा हुस्सु÷कुहिरो लागेकाले दैनिक जनजीवन,स्वास्थ्य, यातायात एवं हवाई यातायातमा प्रभावित हुन सक्ने तथा चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सुझाएको छ ।