अरुण चौधरी पक्राउपछि व्यवसायीले भने, ‘देशमा उद्योगधन्दा चलाउन सकिँदैन ? 

शुक्रबार, माघ १९, २०८०
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । सरकारी जग्गा हडपेको आरोपमा सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरी पक्राउको घटनाले निजी क्षेत्र तरङिगत भएको छ । नेपाल उद्योग परिसंघले हतार हतार पत्रकार सम्मेलन गर्दै सरकारले निजी क्षेत्रको मानमर्दन गर्दै आतंकित बनाएको आरोप समेत लगायो ।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बिहीबार दिउँसो चौधरी र बाँसबारी छालाजुत्ता कारखाना सञ्चालक समितिका तत्कालीन कार्यकारी प्रमुख अजितमानसिंह थापालाई पक्राउ गरेर चार दिन हिरासत राखेर अनुसन्धान गर्न म्याद लिएका छ । 
चौधरीको कम्पनीले कारखानाको १० रोपनी सरकारी जग्गा हडपेको आरोप छ भने थापाले त्यसमा मिलेमत्तो गरेको आरोप छ । प्रहरीले दुवैलाई अनुसन्धानका लागि पक्राउ गरेको जनाएको छ ।
घटनाको विरोध गर्दै परिसंघले साँझ पत्रकार सम्मेलन गरेको हो भने उद्योग वाणिज्य महासंघले विज्ञप्ति जारी गर्दै धरपकडको घटनाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अनुसन्धानले पुष्टि नभएसम्म उद्योगी व्यवसायीलाई धरपकड नगर्न सरकारलाई गराएको ध्यानाकर्षण स्मरण गराउँदै महासंघले व्यवसायिक परिदृश्यबाट निराश व्यवसायीलाई थप निरुत्साहित बनाएको उल्लेख गरेको छ । 

Photo-(10)-(2)-1706836326.jpg

पत्रकार सम्मेलनमा परिसंघ अध्यक्ष राजेशकुमार अग्रवालले धरपकड गरेर सरकारले उद्योगीलाई आतंकति पारेको आरोप लगाए । सूचना दिएर आफ्नो कुरा राख्न दिनुपर्ने भन्दै उनले हठात् पक्राउ गरेर निजी क्षेत्रको मानमर्दन गरिएको बताएका छन् । पत्रकार सम्मेलनमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)का अध्यक्ष गणेश कार्कीले अरुण चौधरी पक्राउ गरेर सरकारले निजी क्षेत्रलाई पेल्न खोजेको आरोप लगाए । सरकारको यो कदमले नीजि क्षेत्र धरापमा पर्ने उनले बताए । 
उनले भने, ‘सरकारले अरुण चौधरीलाई पक्राउ गरेर निजी क्षेत्रलाई पेलेर अगाडि बढ्न खोजेको छ । मलाई लाग्छ सरकारले यो मुद्दालाई निराकरण गर्दै जानुपर्छ । नत्र निजी क्षेत्रलाई ठूलो समस्या पर्न सक्छ । त्यसैले सरकारले चाँडोभन्दा चाँडो मुद्दालाई किनारा लगाउनुपर्छ ।’ 
त्यस्तै, नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष विष्णु अग्रवालले धरपकड शैलीमा व्यवसायी पक्राउ गर्न नहुने बताए । व्यवसायीलाई पक्राउ गर्नका लागि प्रक्रिया हुने र सोहीअनुसार गर्नुपर्ने भनाइ उनको थियो । 
उनले भने, ‘व्यवसाय गरिरहेको व्यवसायीलाई थुनामा राख्दा देशको उद्योगधन्दा कसरी चल्छ ? यो प्रक्रिया नै गलत भयो । यसलाई तत्काल रोक्नुपर्छ ।’ देशमा ठूलो मात्रामा लगानी गरिरहेको उद्योगी व्यवसायी रातारात भाग्ने जसरी पक्राउ गर्नु सरकारको गम्भीर गल्ती भएको उनको भनाइ छ । 
सवारी बिक्रेताहरूको संस्था नाडाका उपाध्यक्ष निराकर श्रेष्ठले चौधरी पक्राउ परेको सुन्दा आफू सशंकित भएको बताए । सरकारले यसरी निजी क्षेत्रलाई तर्साउन नहुनेमा उनले जोड दिए ।

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  ०६:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार