कोरोना जित्ने भन्छन्, ‘मन एकदम आत्तिने रहेछ, सामाजिक सञ्जालमा श्रद्धाञ्जलि नलेख्नोस्’

बुधबार, जेठ ५, २०७८

बुधबार अपराह्न १२ बजेको हुँदो हो । फिल्म निर्देशक तथा दृश्य सम्पादक प्रविन श्रेष्ठ बागडोलस्थित ज्यापू समाजको वृद्धाश्रम प्राङ्गणमा ह्वीलचेयरमा देखिए । ललितपुर महानगरले सञ्चालन गरेको आइसोलेसन सन्टेरबाट घर फर्कन उनी त्यतिबेला माथिल्लो तल्लाबाट प्राङ्गणमा झरेका थिए । ९ दिन अघि कोभिड  संक्रमित भएपछि आइसोलेसन आएका प्रविनले कोरोना जित्नुको कारण बताए, ‘आइसोलेसनमा खटिएका चिकित्सक, नर्स, सफाइकर्मीलगायत सबैको राम्रो व्यवहार र स्याहारसुसारले नै हो ।

उहाँहरुलाई धन्यवाद मात्रै भनेर पुग्दैन, के भन्ने मसँग त्यो शब्द नै छैन ।’  आइसोलेसन सेन्टर अपाङ्गता मैत्री भएकोमा खुशी व्यक्त गर्दैै उनले त्यसको प्रसंशा गरे । आफू पूर्णरुपमा तन्दुरुस्त भएपछि आइसोलेसन सेन्टरलाई सहयोग गर्ने प्रतिबद्धता समेत उनले जनाए । अघिल्लो वर्ष कोभिडकै कारण उनले बुवा गुमाएका थिए । केही दिन अघि मात्रै प्रविनकी दिदीले कोभिडकै कारण संसार त्यागिन् । 


पारिवारिक शोकमा रहेका प्रविनले समाजिक सञ्जाललाई श्रद्धाञ्जलि व्यक्त गर्ने ठाउँ नबनाउन सबैसँग अनुरोध गरे । सामाजिक सञ्जालमा लेखिएको श्रद्धाञ्जलिले कोभिड बिरामीलाई कमजोर बनाउने बताउँदै उनले भने, ‘कमजोर भएको बेला बिरामीलाई अब मेरै पालो हो कि भन्ने लाग्दो रहेछ  त्यस्तै अनुभव भयो, कृपया त्यसरी श्रद्धाञ्जलि नलेख्नुस्, बरु भगवानसँग मनमनै राम्रोे होस् भनेर प्रार्थना गरिदिनुस् ।’  प्राङ्गणमा उभिएका चिकित्सक, नर्स, ललितपुर नगरप्रमुख, उपप्रमुख सबैलाई नमस्कार गर्दै उनले भने, ‘निकै राम्रो व्यवस्था गर्नु भएको रहेछ, यसका लागि धन्यवाद, अन्यत्र पनि यस्तै आइसोलेसन सेन्टर बनाउनु पर्छ ।’ उनले आइसोलेसन सेन्टरमा पाएको व्यवहार र सद्भावले आफू कृतज्ञ भएको भन्न छुटाएनन् । संक्रमित पत्नी र छोरासहित आइसोलेसन आएका प्रविन सपरिवार घर फर्कन लागेका थिए । 
महानगरको ज्यापु समाज वृद्धाश्रम आइसोलेसनबाट प्रविनसँगै बुधबार १३ जना कोरोना जितेर घर फर्केका छन् । कोरोना जितेर घर फर्कर्ने मध्येकी अर्की हुन् दिलाश्मा खड्का । उनी ११ दिन आइसोलेसन सेन्टरमा बसेकी थिइन् । उनले भनिन्, ‘यहाँ बस्दा परिवारमा नै बसे जस्तो अनुभव भयो, फ्रेन्डली व्यवहार पाएँ ।’ कोरोना जित्न आत्मविश्वास पनि त्यति नै आवश्यक पर्ने उनको धारणा थियो ।  ६५ वर्षे बाबुराजा शाक्य, जसले कोरोना जिते, उनले  आइसोलेसन सेन्टर एकदमै राम्रो भएको टिप्पणी गरे ।

उनले भने, ‘यहाँ पाएको व्यवहारले आत्मबल निकै बढायो, त्यसैले कोरोनाबाट छिटो निको भएँ ।’ कोरोना जितेर घर फर्केकाहरुलाई नगरप्रमुख चिरीबाबु महर्जनले शुभकामना र बधाई दिए  । उनले नगरवासीको स्वास्थ्य र सुरक्षाका लागि महानगरले कुनै कसर बाँकी नराख्ने बताए । नगरप्रमुख महर्जनले सबैलाई स्वास्थ्य मापदण्ड अपनाउन अनुरोध गरे । उपप्रमुख गीता सत्यालले कोरोना जित्ने सबैलाइै शुभकामना र बधाई दिइन् । ललितपुर महानगरले सुनाकोठी¬ २६ स्थित नेपाल युथ फाउन्डेसनको पोषण पुनस्र्थापना गृह  र बागडोल ४ को ज्यापु समाजको वृद्धाश्रममा गरी अक्सिजनसहितको दुईवटा आइसोलेसन सेन्टर सञ्चालन गरेको छ । हालसम्म सुनाकोठीबाट ९० जनाले सेवा लिएका छन भने ३४ जना कोरोना जितेर घर फर्केका छन् । वृद्धाश्रमको आइसोलेसनबाट ७३ जनाले सेवा लिए भने २४ जनाले कोरोना जितेका छन् ।  मेडिकल अफिसर, नर्सिङ स्टाफसहित सञ्चालन गरिएको  वृद्धाश्रम आइसोलेनमा बसेका, चिकित्साकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीहरुलाई खानाको व्यवस्था सुन्दर ढोका साथी सेवाले प्रदान गरेको छ । 

प्रकाशित मिति: बुधबार, जेठ ५, २०७८  १६:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार