पठनपाठन र परीक्षा गतिविधि सञ्चालन गर्न बीपीका विद्यार्थीको माग

बिहीबार, माघ २५, २०८०

विराटनगर । सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कर्मचारी र चिकित्सक शिक्षकको आन्दोलनका कारण पठनपाठन प्रभावित भएको छ । नियमित रुपमा पठनपाठन सञ्चालन गर्न माग गर्दै प्रतिष्ठानका चिकित्सा विद्यार्थीहरु अनशनमा बसेका छन् ।

आवश्यक वातावरण बनाएर यथाशीघ्र पढाइ सुरु गर्न माग गर्दै विद्यार्थीहरू रिले अनशनमा बसेका हुन् । उनीहरु ‘विद्यार्थीको इच्छा, स्वायत्त मेडिकल शिक्षा’ नारासहित अनशनमा बसेका छन् ।

विद्यार्थीहरुले पढ्न पाउने अधिकार हनन नगर्न भन्दै नियमित पठनपाठन सञ्चालन गरी परीक्षाका गतिविधि अघि बढाउन माग गरेका छन् ।

प्रतिष्ठानमा रहेका विद्यार्थीहरुको संस्था विद्यार्थी कल्याण समाजका अध्यक्ष डा। ओमशान्ति रजकले मेडिकल शिक्षाजस्तो मानव स्वास्थ्यसँग जोडिने संवेदनशील विषयमा हेलचेक्र्याइँ नगर्न आग्रह गरिएको बताए ।

बढुवा प्रक्रिया अघि बढाउन माग गर्दै पछिल्लो पटक करिब एक महिनादेखि प्रतिष्ठानका शिक्षक, कर्मचारी र चिकित्सक आन्दोलित छन् ।

त्यसअघि पनि उनीहरुले आन्दोलन गरेका थिए । तर व्यवस्थापनले माग पूरा गर्ने आश्वासन दिएपछि आन्दोलन स्थगन भएको थियो । माग पूरा गर्ने र सहमति कार्यान्वयन गर्नेतर्फ प्रतिष्ठान व्यवस्थापन गम्भीर नभएको भन्दै उनीहरुले पुनः आन्दोलन सुरु गरेका हुन् ।

आन्दोलनका कारण चिकित्सा विद्यार्थीको पठनपाठन प्रभावित हुनुका साथै बिरामीको उपचार सेवा पनि प्रभावित बनिरहेको छ । 

प्रतिष्ठानमा उत्पन्न समस्या र तनावको अवस्था अन्त्य गर्न स्थानीय बासिन्दा, राजनीतिक दल, जनप्रतिनिधि र सरोकारवालाले कोशी प्रदेश सरकारदेखि संघीय सरकारसम्मको ध्यानाकर्षण गराउँदै आएका छन् ।

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १२:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार