२३ दिन पैदल हिँडेर राजधानीमा मिटरब्याजपीडित, सिंहदरबारसम्म मार्च गरेपछि ऐक्यबद्धता सभा हुने

बिहीबार, फागुन १०, २०८०

काठमाडौं । न्यायको माग गर्दै पूर्वको झापा र पश्चिमको कञ्चनपुरबाट एकसाथ पैदलमार्चमा निस्किएका चार हजार मिटरब्याजपीडितहरू बुधबार काठमाडौं आइपुगेका छन् । मिटर ब्याजी साहूको पासोबाट छुटकारा पाउन माग गर्दै २३ दिनको पैदल यात्रापछि उनीहरू बुधबार साँझ थानकोटबाट काठमाडौं प्रवेश गरेका हुन् । माघ १६ मा यात्रा थालेयता निरन्तर सडकमै गाँसबास गरेर आएका उनीहरूले बुधबार राति त्रिभुवन पार्कमा चिसो भुँइमा रात कटाए । उनीहरूले आज बिहीबार सिंहदरबार मार्च गर्ने कार्यक्रम थियो तर, बिहीबार झरी परेका कारण उनीहरूको मार्चपास रोकिएको छ । सरकारलाई झक्झकाउन र न्यायका लागि दबाब दिन थानकोटदेखि सिंहदरबारसम्म पैदलमार्च गर्ने कार्यक्रम रहे पनि पानीका कारण रोकिएको मिटरब्याज तथा ठगीविरुद्ध किसान संघर्ष समितिका प्रवक्ता नीर्ग नवीनले बताए । ‘हामी तीन वर्षदेखि संघर्षमा छौँ । पटक–पटक आन्दोलन गर्नुपरेको छ । सरकारसँग बार्ता पनि भएको छ । तर सरकारले हामीलाई न्याय दिन चाहेको छैन,’ उनले भने, ‘सरकारले जाँचबुझ आयोग बनायो, ३० हजार पीडितको उजुरी लियो । तर कारबाही गरेन । त्यहीकारण हामी फेरि संघर्षमा उत्रिनु परेको छ ।’


उनले तराईका २० जिल्ला र भित्री मधेशका आठ गरी २८ जिल्लाका पीडितहरूले यसपटक एकसाथ देशव्यापी पैदलमार्च गरेको बताए । उनीहरूले ६ प्रदेशका २३ जिल्ला पार गरेर काठमाडौं आइपुगेका हुन् । ‘थानकोटदेखि सिंहदरबारसम्म मार्च गरेपछि ऐक्यबद्धता सभा हुन्छ,’ प्रवक्ता नवीनले भने, ‘ऐक्यबद्धता सभामा सबैलाई सहभागी भएर ऐक्यबद्धता जनाउन हाम्रो आग्रह छ ।’
समितिले मिटरब्याजपीडित किसान, मजदुर, साना व्यवसायी र सबै खाले वित्तीय शोषणबाट उत्पीडितहरूको न्यायका लागि संस्थागत र व्यक्तिगत  प्रतिनिधित्वसहित मिटरब्याजपीडितविरुद्धको न्याय मार्चलाई ऐक्यबद्धता जनाउन आग्रह गरेको छ ।  सरकारले यसअघि मिटर ब्याजपीडितका समस्या सम्बोधन गर्न जाँचबुझ आयोग गठन गरेको थियो । आयोगले पाँच हजार पीडितका समस्या सुल्झाएपनि बाँकीका समस्याको जानकारी मात्रै बटुलेर सरकारलाई प्रतिवेदन बुझाएको छ । तर सरकारले सो प्रतिवेदनमाथि कुनै कारबाही अघि बढाएको छैन । सम्झौताबमोजिम सरकारले कुनै काम पहल नगरेपछि आफूहरू फेरि संघर्षमा उत्रिनु परेको समितिका अध्यक्ष अवधेशकुमार कुशवाहाले बताए ।  मिटरब्याजपीडितहरू यसअघि गत चैतमा पनि पैदलै काठमाडौं आएका थिए । त्यतिखेर सरकारले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा मिटरब्याजपीडित जाँचबुझ आयोग गठन गरेको थियो । 

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १९:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार