प्रहरीको विधि विज्ञान प्रयोगशालामा ३३ हजार नमुना परीक्षण

बिहीबार, फागुन १७, २०८०

काठमाडौं । नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाले चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ३३ हजार नमुना परीक्षण गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार प्रयोगशालाले ५ हजार ४ सय ३१ मुद्दाका ३३ हजार एक सय २२ नमुना परीक्षण गरेको जनाएको छ । सो प्रयोगशालामा पाँच हजार पाँच सय ७४ मुद्दाका ३० हजार छ सय १२ वटा नमुना प्राप्त भएका थिए । नयाँ र पूरानो गरी यत्तिका संख्यामा नमूना परीक्षण गरिएको प्रहरी प्रवक्ता डीआइजी भीमप्रसाद ढकालले जानकारी दिए । 
उनका अनुसार प्रयोगशालाले भौतिक सबुद प्रमाणको वैज्ञानिक परीक्षण, विश्लेषण, तुलना एवं पहिचान गरी अपराध अनुसन्धान कार्यमा प्रभावकारी सहयोग पुगेको छ । प्रयोगशालाले चालु आर्थिक वर्षमा विष विज्ञानतर्फ छ हजार सात सय ६२, जीव–सिरम विज्ञानतर्फ सात हजार नौ सय ७९ वटा, रसायन–लागुऔषधतर्फ छ हजार तीन सय १७, ‘डकुमेन्ट’तर्फ छ हजार एक सय ८७, सशस्त्र विज्ञानतर्फ दुई हजार ४८, औँठा छापतर्फ तीन हजार दुई सय ७२, भौतिक विज्ञानतर्फ १६, डिएनएतर्फ तीन सय ५८ र विष्फोटक पदार्थतर्फ एक सय ८३ वटा नमुनाको परीक्षण गरेको छ । 
विधि विज्ञान प्रयोगशालाका सूचना अधिकारी प्रहरी उपरीक्षक योग बहादुर पालले भने, ‘दैनिक प्राप्त हुने नमूना परीक्षणको लागि सीमित जनशक्ति र प्रविधिको उच्चतम प्रयोग गर्दै छिटोछरितो कार्यसम्पादन गर्न प्रयोगशाला सक्रिय छ । यसलाई अझ व्यवस्थित बनाउँदै विशेषज्ञ राय प्रदान गर्न निरन्तर क्रियाशील भई लागी रहेका छौं ।’
काठमाडौँको सामाखुसीमा रहेको प्रयोगशाला हाल अपराध अनुसन्धान विभागअन्तर्गत रहको छ । सुनसरी र बाँकेमा विधि विज्ञान एकाइ कार्यालय सञ्चालित छन् । तीनवटै प्रयोगशालाबाट प्रहरी, अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतलाई विधि विज्ञान सेवा उपलब्ध हुँदै आएको छ ।
 

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  ११:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार