सत्तारुढ गठबन्धनको बैठक आज बस्दै

आइतबार, फागुन २०, २०८०

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज सोमबार बस्ने भएको छ । पछिल्लो समय गठबन्धनभित्र खटपट भएका समाचारहरू सार्वजनिक भइरहेका बेला गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने सम्भावना रहेको स्रोतले नेपाल न्युज बैंकलाई जानकारी दियो । नेपाली कांग्रेसको महासमितिको बैठकपछि सत्तारुढ गठबन्धनमा थप चिसोपना आएको चर्चाका बीच बस्न लागेको गठबन्धनको बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ । कांग्रेस महासमितिको बैठकमा उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापाले पेस गरेको प्रस्तावमाथि माओवादीको असन्तुष्टि रहेको छ । उपसभापति खड्काले माओवादीको सशस्त्र युद्धलाई औचित्यहीन टिप्पणी गरेका थिए भने महामन्त्री थापाले निर्वाचनमा गठबन्धन नगर्ने उल्लेख गरेका थिए । यसैगरी कांग्रेसभित्र धर्म निरपेक्षताको विरुद्धमा पनि माहौल बढ्दै गएकाले यसबाट माओवादी झनै झस्किएको छ । 
पछिल्लो समय माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग गम्भीर छलफल गर्ने प्रतिक्रिया दिएका छन् । सोमबारको गठबन्धन बैठकको तयारीका लागि माओवादी र कांग्रेसले आ–आफ्नै तयारी पनि गरेको बुझिएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पुर्णबहादुर खड्का र महामन्त्री गगन थापाकाबीचमा छलफल भएको छ भने प्रधानमन्त्री प्रचण्डले पनि पार्टीमा गम्भीर छलफल गरेका छन् ।  
अहिले कांग्रेस सभापति देउवाले गठबन्धनको बैठकबाट माओवादीलाई थप विश्वासमा ल्याउने बरु मन्त्रिपरिषद् पुनर्गठनमा साथ दिने तयारीका साथ छलफल अघि बढाएको कांग्रेसकै नेताहरूले बताउने गरेका छन् ।

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  २१:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार