वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन पक्राउ 

बिहीबार, फागुन २४, २०८०

काठमाडौं । वैदेशिक रोजगारीमा पठाएर राम्रो आम्दानी दिलाउने प्रलोभनमा ठगी गरेको आरोपका छुट्टाछुट्टै घटनामा प्रहरीले दुई महिला र एक पुरुषलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा काडमाडौंको टोखा बस्ने म्याग्दीको बेनी–४ का ३८ वर्षीय सुनिल शाही, टोखा बस्ने नवलपारसीको कावासोती–१७ की सुशीला राई र ललितपुरको भैंसेपाटी बस्ने मोरङको उर्लाबारी–९ की ३४ वर्षीया लक्ष्मी लिम्बू छन् ।  शाहीले सुन बहादुर गोलेलाई मासिक ७० हजार आम्दानी हुने माल्दिभ्समा सवारीचालकको काम लगाइदिन्छु भन्दै पटक पटक गरेर ३ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोप छ । 
उजुरी परेपछि उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले बुधबार काठमाडौंको सिनामंगलबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । 
यस्तै लिम्बुमाथि रविन सैजुसमेत ४ जनालाई वैदेशिक रोजगारीका लागि यूके पठाइदिन्छु भनेर ठगी गरेको आरोप छ । उनले केयरगिभरको कामका लागि प्रतिव्यक्ति २३ लाख रुपैयाँ लाग्छ, मासिक ४ लाख २० हजार रुपैयाँ तलब हुन्छ भनी विश्वास दिलाएर पीडितहरुबाट पटक पटक गरी २९ लाख ८८ हजार रुपैयाँ लिइ सम्पर्कविहीन जाहेरी आएको थियो । लिम्बुलाई ललितपुरको भैसेपाटीबाट पक्राउ गरिएको हो । 
यस्तै दुबई पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा राई पक्राउ परेकी हुन् । उनले भीमबहादुर सिंह समेत २ जनालाई दुबईमा मासिक एक लाख तलब हुने जागिर लगाइदिने प्रलोभनमा पारेकी थिइन । त्यसका लागि पटक पटक गरी ५ लाख ७५ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको जाहरी आएपछि टोखाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । तीनै जनालाई प्रहरीले थप अनुसन्धान तथा कारवाहीका लागि ताहाचलस्थित वैदेशिक रोजगार विभाग पठाएको छ ।
 

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १९:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार