सोसल मिडिया
Contact Us
युनिकोड
काभ्रे । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन, सेवा र सुविधा सरल, सहज एवम् प्रभावकारी तवरले दिन सकिएमा मात्र संविधान र लोकतन्त्रले परिकल्पना गरेको लक्ष्य पुरा हुने बताएका छन् । आइतबार काभ्रेको मण्डनदेउपुर नगरपालिकाको ७ औं स्थापना दिवस तथा नव–निर्मित प्रशासकीय भवनको उद्घाटन गर्दै पौडेलले संविधानको भावना तथा संघीयताको मर्म अनुरुप हुनेगरी राज्यबाट प्रवाह हुने सेवा तथा विकास निर्माणसम्बन्धी कामलाई नतिजामुखी र नागरिकले अनुभूत गर्न सक्नेगरी सम्पादन गर्न र सुशासन प्रत्याभूत गर्न स्थानीय निकाय दत्तचित्त हुनुपर्ने बताए । विकास, पूर्वाधार, कृषि, शिक्षा, सडक, खानेपानी, बिजुलीसहित जनताका आधारभूत आवश्यकता पुरा गर्नुपर्नेमा उनको जोड थियो । ‘कृषि, पर्यटन र उर्जा नै हाम्रो मुलुकको विकासको आधार हो, त्यसको लागि श्रमको सम्मान गर्ने संस्कृतिको विकास आवश्यक छ’ राष्ट्रपति पौडेलले भने, ‘स्थानीयस्तरमा गुणस्तरीय, प्रविधिमा आधारित प्रतिस्पर्धी र प्राविधिक शिक्षा दिएर उत्पादन र रोजगारी बढाउने काम गर्न सकिएमात्र राजनीतिक परिवर्तनपछि मुलुकले अपेक्षा गरेको आर्थिक क्रान्तिको सपना साकार हुन्छ, हाम्रो संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रले अपेक्षा गरेको गरीव, सीमान्तकृत, पिछडिएको वर्गको आर्थिक उन्नतिको अवसरको ढोका खुल्दछ ।’ एनले तीनै तहको सरकारको समन्वयकारी भूमिका अपेक्षित भएपनि स्थानीय सरकारको विशेष भूमिका र जिम्मेवारी हुने विश्वास व्यक्त गरे ।