सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका–५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक काठमाडौं आइपुगेका थिए । १८ जना मिटरब्याजपीडित गरिब किसानहरू उनको साथ खडा थिए । त्यसयता उनी कहिले माइतीघरको चिसो भुइँमा धर्ना बस्छन्, कहिले हजारौँ किलोमिटरसम्म पैदलै हिँडेर न्यायको संघर्ष । यसबीचमा सरकारले पटक–पटक उनीहरूसँग सहमति गरेको छ, आयोग र छानविन समिति बनाएर काम गरेको छ । तर उनीहरूका समस्या भने ज्यूँका त्यूँ छन् । ‘नयाँ गृहमन्त्री यही आएर आश्वासन त दिनुभयो, तर तीन वर्षदेखि न्यायका लागि भौतारिएको सम्झिँदा यसपटक पनि के होला भनेर मनमा डर छ,’ मुसहरले भने, ‘४२ दिनदेखि यत्रो संघर्ष गर्दा पनि सरकारले न्यायको आशामात्रै दियो, अब हामीसँग त न यहाँ बस्दा खानेकुरा छ, न फर्किने पैसा ।’ उनले छोरीको विहेका लागि साहुसँग गाउँकै साहुसँग साढे चार लाख रुपैयाँ ऋण लिएका थिए । ऋण लिनेबेला साहुले धितो अनिवार्य भन्दै उनको साढे १० कठ्ठा जग्गा आफ्नी श्रीमतीको नाममा पास गर्न लगाए । पैसाले समस्या परेका बेला रामशुभगले पनि जग्गा दिएरै ऋण लिए । साधारण लेखपढमात्रै जान्ने उनले १५ महिनापछि साहुको ऋण ब्याजसहित ९ लाख ४० हजार रुपैयाँ फिर्ता गरिसके । ‘साढे चार लाख ऋण लिएको, एक वर्ष तीन महिनामा मैले ९ लाख ४० हजार रुपैयाँ तिरेँ,’ उनी भन्छन्, ‘पैसा बुझ्दा साहुले दुई दिनमा जग्गा फिर्ता गरिदिन्छु भनेका थिए । तर वर्षौ बित्दा पनि जग्गा नदिएपछि म न्याय खोज्दै भौतारिनुपर्ने अवस्थामा पुगेँ ।’ जग्गा फिर्ता गराइदिन बेलिविस्तार लगाउँदै उनी मानव अधिकार आयोग पुगे, स्थानीय सरकारसमक्ष धाए, प्रदेश सरकारसमक्ष पनि पुगे । तर कतैबाट न्याय नपाएपछि उनले सडक संघर्ष रोज्न बाध्य भए । ‘उमेरले आराम गर्ने बेला भएको छ । तर जीवनभरको जायजेथो साहुले हडपिदिएपछि बाध्य भएर यो कष्ट बेहोर्दै छु,’ उनले भने । सरकारले पटक–पटक सहमति गरेर आन्दोलन टुंग्याएपनि व्यवहारिकरुपमा भने पीडितहरूको पीडालाई कसैले नबुझेको उनको गुनासो छ । ‘तीन वर्षदेखि हामी यसैगरी संघर्ष गरिरहेका छौँ,’ उनले भने, ‘विगतमा पनि गृहमन्त्रीहरूले प्रतिबद्धता जनाए, तर कार्यान्वयन भएन । अहिले नयाँ गृहमन्त्री हुनुहुन्छ, उहाँले समाधान गर्छु भन्नुभएको छ । हामीलाई आशा जागेको छ, तर भर पर्ने अवस्था छैन । किनभने यसैगरी हामीले आन्दोलन थालेको साढे तीन वर्ष भइसकेको छ ।’ रामशुभगजस्तै पटक–पटक आन्दोलनमा काठमाडौं आइसकेकी छिन्, प्रतापपुर गाउँपालिका–४ की तिलसरादेवी राजभर । उनले विदेश जाने बेला गाउँकै साहु जगदिश बानियाँबाट एक लाख रुपैयाँ लिएकी थिइन् । साउदी पुगेर मजदुरी गरेकी उनले आठ महिनामै साहुको एक लाख रुपैयाँ फिर्ता गरिन् । तर त्यसपछि पनि साहुले छोडेनन् । ‘मैले १२ वर्षसम्म मजदुरी गरेको पैसा साहुले खाइदिए । एक लाख रुपैयाँ ऋण लिएको १० लाख रुपैयाँ लिएर फिर्ता गरेनन्,’ उनले भनिन् । साहुले हडेपेको त्यही पैसा फिर्ता पाउनुपर्ने भन्दै उनी तेश्रोपटक काठमाडौं आइपुगेकी हुन् । मिटरब्याज तथा ठगीविरुद्ध किसान संघर्ष समितिको संयोजनमा यसपटक भएको आन्दोलनमा पूर्वदेशि पश्चिमसम्मका करिब ४ हजार मजदुर किसान सहभागी भए । अहिले पनि सयौँको संख्यामा पीडितहरू काठमाडौंँमै छन् ।