सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नारायणप्रसाद दाहाल संघीय संसद्को उपल्लो सदन राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनमा नेपाली कांग्रेसका युवराज शर्मालाई पराजित गर्दै दाहाल राष्ट्रिय सभाको नेतृत्वमा पुगेका हुन् । एमालेसहितको गठबन्धनका साझा उम्मेदवार दाहालले ३९ मत पाउँदा कांग्रेसका शर्माको पक्षमा १७ मत प¥यो । दाहाल यसअघि रामनारायण बिडारीको अवकाशपछि रिक्त भएको स्थानमा राष्ट्रिय सभाको सदस्य मनोनीत भएका थिए । दाहाललाई तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा सदस्यमा मनोनीत गरेकी थिइन् ।
उनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका साख्यै भाइ नभए पनि उनका घनिष्ठ सहयोगी मानिन्छन् । विगतमा पनि विज्ञका रुपमा आफूसँग नजिक राखेर प्रचण्डले नारायणलाई सत्ता बाहिर रहन दिएका थिएनन् । यसपटक भने उनलाई संसद्को माथिल्लो सदनको नेतृत्वमा स्थापित गरेर संवैधानिक परिषद्मा आफूलाई सहज स्थिति बनाउने उद्देश्यमा प्रधानमन्त्री दाहाल सफल भएका छन् । वि.सं.२०१२ चैत १६ गते कास्कीको तत्कालिन ढिकुरपोखरी गाउँ विकास समितिमा कुलप्रसाद दाहाल र देउरुपाको पहिलो सन्तानका रुपमा जन्मिएका हुन् नारायण । २०१९ सालमा सात वर्षको उमेरमा बसाईं सरेर चितवन शिवनगरको नारायणी माध्यमिक विद्यालयबाट स्कूले शिक्षा पुरा गरेपछि नारायण विद्यार्थी जीवनमै राजनीतिमा सक्रिय भएका थिए ।
चिनियाँ कम्युनिष्ट पार्टीसँग सम्बन्धित पुस्तकहरू पढेर कम्युनिष्ट आन्दोलनप्रति आकर्षित बनेका उनी २०२७ साल जेठ १ गते अनेरास्ववियूद्वारा आयोजित कार्यक्रममा नेकपाका अध्यक्ष प्रचण्डसँगै दुई घण्टा हिँडेर जुलुस र कार्यक्रममा सहभागी भएका थिए । नारायण र प्रचण्डले सोही दिन सँगै अनेरास्ववियूको सदस्यता लिएका थिए । स्कुल पढ्दै अनेरास्ववियूमा आबद्ध उनी २०३१ सालमा वीरेन्द्र क्याम्पस भरतपुरमा पढ्दा नै नेपाल कम्युनिष्ट पार्टी पुष्पलाल समूहको पार्टी सदस्यता लिएका थिए । मोहनविक्रम सिंहसँग निकट भएर काम गरेका उनले २०३६ सालमा डिप्लोमा पास गरेका हुन् । प्रचण्डकै सल्लाहमा भारत प्रवासमा पार्टी काम गर्न पुगेका उनले अखिल भारत नेपाली एकता समाजको केन्द्रिय सचिवको रुपमा काम गरेका थिए । २०३७ सालदेखि पार्टीको पूर्णकालीन सदस्य बनेका उनले १८ वर्ष अखिल भारत एकता समाज र पार्टीको विभिन्न जिम्मेवारीमा रहेर काम गरेका थिए । भारतको २६ राज्यमा ३२ वटा पार्टी कमिटी गठन गरी सक्रिय बनाएका नारायणले संगठनका लागि ठूलो योगदान गरेको भनेर प्रशंसा गर्ने गरिन्छ । माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दिपशिखा’ नारायणलाई प्रचण्डका नाताभित्रका नेता भनेर बुझ्न नहुने बताउँछन् । ‘०२७ सालदेखि विद्यार्थी राजनीति र ०३१ सालबाट पार्टीको पूर्णकालीन राजनीति गर्दै आएका, जनयुद्धमा जीवन सँगिनी, दुई छोराहरूलगायत सपरिवार पूर्णकालीन बनाएर राजनीतिमै सक्रिय राखेका हुन्,’ उनले भनेका छन् । २०४६ सालको जनआन्दोलनको बेला नेपाल फर्किएका उनी परिवारसहित २०४७ सालमै पार्टी प्रवासको कामलाई गतिशील बनाउन भारत नै गएका थिए । अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन (रिम) को दक्षिण एसियाली शाखा कमिटीको जिम्मेवारीमा रहेर काम गरिसकेका उनले तीन दशक प्रवास कमिटीमा बसेर काम गरेको अनुभव सँगालेका छन् । २०५७ सालदेखि पार्टीको केन्द्रिय सदस्यको जिम्मेवारी पाएर खुल्ला रुपमा संगठन विस्तार र परिचालन गरेका उनले २०५९ सालदेखि भारतमै पनि भूमिगत रुपमा काम गरेका थिए । २०६० सालमा पार्टी निर्देशनमै नेपाल आएका नारायणले भेरी–कर्णाली क्षेत्रमा काम गरी तीन जिल्लाको पार्टी कमाण्ड सम्हालेका थिए । भारतमा रहँदा संगठन विस्तार र परिचालनको साथै जनयुद्ध सुरु हुनुपूर्व भारतमा क्रियाशील भूमिगत कम्युनिष्ट पार्टीसँग भाइचारा सम्बन्ध स्थापित गराउने, नेपालमा रहेका पार्टी कार्यकर्तालाई भारतमा झिकाई भौतिक र प्राविधिक तालिम दिलाउने, उनीहरूको सुरक्षा गर्ने र आर्थिक संकलन गर्ने काम गरेका थिए ।
रोचक पक्ष के छ भने नारायणले जनयुद्धमा आवश्यक हातहतियार उपलब्ध गराउने र पार्टी कार्यकर्तालाई प्राविधिक हिसाबले सुरक्षित बनाउने काममा उल्लेख्य भूमिका निर्वाह गरेको बताइन्छ । सम्भवतः उनकै अगुवाइमा भारतबाट नेपाल हतियार भित्र्याउने काम भएको थियो । भेरी–कर्णाली राज्य समिति, कास्की इञ्चार्ज, ताम्सालिङ र नेवाः राज्य कमिटीको महत्वपूर्ण जिम्मेवारीमा बसेर काम गरेका उनी राजनीतिको सबै समय प्रचण्ड निकट भएर काम गरेको पाइन्छ । संविधान सभामार्फत नयाँ संविधान बनाउने उद्देश्य पूरा गर्न गठन गरिएको अन्तरिम व्यवस्थापिका संसद् २०६३ सालमा सदस्य बनेका उनी २०६४ को निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट संविधान सभा सदस्यमा निर्वाचित भएका थिए । अध्यक्ष प्रचण्डको दोस्रो प्रधानमन्त्रीकालमा उनले प्रधानमन्त्री कार्यालयमा प्रमुख प्रशासनिक सल्लाहकारको भूमिकामा रहेर काम गरेका थिए । प्रचण्डसँगको लामो सहयात्रापछि उनकै जोडबलमा राष्ट्रिय सभाको अध्यक्ष चुनिएका नारायणले अब भने संसद्को माथिल्लो सदनको नेतृत्व सम्हालेर आफूलाई सफल बनाउने परीक्षा भने उत्तीर्ण हुन बाँकी छ ।