राष्ट्रिय सभा अध्यक्षलाई मत हाल्ने, प्रधानमन्त्रीका बारेमा मौन 

मंगलबार, फागुन २९, २०८०

काठमाडौं । सत्तारुढ दलका शीर्ष नेताहरूले राष्ट्रिय सभा अध्यक्षका लागि गठबन्धनका साझा उम्मेदवार नारायणप्रसाद दाहाललाई मतदान गर्न सांसदहरूलाई अपिल गरेका छन् । मंगलबार बसेको गठबन्धनका नेताहरूको बैठकले माओवादी केन्द्रतर्फबाट साझा उम्मेदवार बनेका दाहाललाई मतदान गर्न अपिल गरेका हुन् । संयुक्त सरकार गठनका लागि पनि संवाद अघि बढाउने सहमति भएको छ । त्यस्तै सात बुँदे अपिलमा प्रचण्ड नेतृत्वको सरकारलाई पूर्णरुपमा सफल बनाउने भनिए पनि विश्वासको मत दिने–नदिने भन्ने विषयमा केही उल्लेख गरिएको छैन । 
अध्यक्ष नेपालको मागका विषयमा सहमति भइसकेको भनिए पनि उक्त सहमति सार्वजनिक गरिएको छैन । एकीकृत समाजवादीको सोमबारको संसदीय दलले लिखित सहमति नगरे राष्ट्रिय सभा र प्रधानमन्त्रीलाई मत दिइरहनु नपर्ने निष्कर्ष निकालेको थियो । तर मंगलबार जारी गरिएको अपिलमा प्रधानमन्त्रीलाई मत दिने नदिने विषयमा कुनै उल्लेख छैन । 
सार्वजनिक गरिएको अपिलमा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता पुष्पकमल दाहाल, नेकपा (एमाले)का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा संसदीय दलका नेता माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  २१:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार