मोरङ, तेह्रथुम र भोजपुरमा आगलागी हुँदा ३२ घर जले

आइतबार, चैत ४, २०८०

विराटनगर । मोरङ, तेह्रथुम र भोजपुरमा शनिबार भएका आगलागीको घटनामा ३२ वटा घर जलेर नष्ट भएका छन् । मोरङको पुरानो सदरमुकाम रंगेली नगरपालिका–३ शनिबार अपराह्न भएको आगलागीमा परी स्थानीय सन्थाल समुदायका २२ वटा घर जलेका छन् । सन्थाल समुदायको बसोबास रहेको वडा नम्बर ३ को बाबुसाहेव टोलमा आगलागी भएको प्रहरीले जनाएको छ । आगो निभाउन रंगेली नगरपालिका, कानेपोखरी गाउँपालिका, सुन्दरहरैँचा नगरपालिकालगायत आसपास क्षेत्रका पालिकाहरूको दमकल प्रयोग गरिएको थियो । प्रहरी र स्थानीय बासिन्दा मिलेर आगो निभाएको छन् । क्षतिको विवरण आइसकेको छैन । बाँस, सन्ठी जस्ता स्थानीय सामग्री प्रयोग गरी बनाइएका घरहरूमा आगो चाँडै फैलिएको हो । यसैबीच, भोजपुरको भोजपुर नगरपालिका–१२ मालबाँसेमा शनिबारनै भएको आगलागीमा केही स्थानीयको घर जलेर नष्ट भएको छ । प्रहरीका अनुसार जंगलबाट सुरु भएको आगो हावा चलेपछि बस्तीसम्म आइपुगेको थियो । आगोले स्थानीय बासिन्दाका ६ वटा घर जलेका छन् ।
यसैगरी, तेह्रथुमको आठराई गाउँपालिका–१ संक्रान्तिबजार नजिकै गाउँमा भएको आगलागीमा चारवटा घर जलेका छन् । प्रहरीका अनुसार स्थानीय देवी गौतम, बलराम गौतम, गणेश गौतम, गोविन्द गौतमको घर र दुई वटा गोठ जलेका हुन् । आगोले स्थानीयको घरसहित कपडा, अन्न, केही चौपाया सहित धनमाल जलेको छ । नजिकै रहेको जंगलमा लागेको डढेलो बस्तीमा आइपुगेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  ०३:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार