सुन तस्करी प्रकरणमा पक्राउ परेका महरामाथि माओवादीले कारबाही गर्ला ?

मंगलबार, चैत ६, २०८०

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादीमा पार्टीका उपाध्यक्ष कृष्ण बहादुर महरा पक्राउ परेको विषयमा पार्टीमा छलफल हुने भएको छ । पार्टीका एक जना नेताले उनीमाथि निष्पक्ष छानबिन गर्ने विषयलाई पार्टीले स्वागत गर्ने भए पनि पार्टीबाट निलम्बन गर्ने वा नगर्ने भन्नेबारे आज मङ्गलवारमात्रै छलफल हुने जानकारी दिएका छन् । 
“हाम्रो पार्टीले यो विषयमा आज (मङ्गलवार) बिहान बस्ने पदाधिकारी बैठकबाट मात्रै आफ्नो धारणा बनाउँछ । दोषी भए छोड्न हुँदैन तर निर्दोष भए रिसइवी वा प्रतिशोध साँध्न हुँदैन भन्ने हाम्रो बुझाइ हो,” माओवादीका सचिव लीलामणि पोखरेलले भने ।
पूर्व सभामुख तथा पटक पटक मन्त्री समेत रहिसकेका महरा पछिल्लो समय कुनै पनि सार्वजनिक पदमा छैनन् ।  यौन दुर्व्यवहारको उजुरी परेपछि उनले चार वर्षअघि सभामुख पदबाट राजीनामा दिएका थिए ।

Krishna-Bahadur-Mahar-1710742955.png

माओवादीका अर्का सचिव मातृका यादवले उनीमाथि छानबिन गर्ने विषयमा पार्टीले आपत्ति नजनाउने बताए । “हाम्रो पार्टीकै उपाध्यक्ष भएपछि विषय त उठिहाल्छ। तर छानबिनमा हामी सहयोग गर्नेतिर नै जान्छौँ,” उनले भने ।
उनले पार्टीको बैठकले महरालाई पार्टीबाट कारबाही वा निलम्बन गर्ने वा नगर्ने विषय पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको प्रतिवेदनमा भर पर्ने बताएका छन्।
“उहाँहरूले के–के रिपोर्ट लिएर आउनुहुन्छ त्यसको आधारमा पार्टीले निर्णय गर्छ,” उनले भने ।
यसअघि पनि सुन तस्करी प्रकरणमा आरोपितहरूसँग महराको बारम्बार टेलिफोन सम्पर्क भएको विवरण सार्वजनिक भए पनि प्रहरीले उनीविरुद्ध अनुसन्धान नगरेको आरोप लाग्दै आएको थियो ।
सत्ता समीकरणमा भएको फेरबदलसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृहमन्त्री बनेपछि सुन तस्करी प्रकरणमा छानबिन समितिले दोषी औँल्याएका व्यक्तिहरूमाथि छानबिन गर्न निर्देशन दिएका थिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले उक्त प्रतिवेदन बुझेको केही समयमै महरा पक्राउ परेका थिए ।
माओवादी नेता यादव पार्टीको विचारमा विचलन आएका कारण नेता कार्यकर्ताहरू विभिन्न प्रकरणमा मुछिएको घटना आउन थालेको बताउँछन् । उनले महराको प्रकरण माओवादी आन्दोलनकै लागि गम्भीर विषय भएको बताए । “यो चाहिँ हाम्रो आन्दोलनका लागि गम्भीर विषय हो,” उनले भने, “हाम्रो त सुरु देखिकै दोषी देखिए कसैलाई पनि नछोड्ने र निर्दोष भए कसैलाई पनि फसाउन हुँदैन भन्ने हाम्रो पार्टीको स्पष्ट धारणा छ ।”
पार्टी सरकारको नेतृत्वमै रहेका समयमा पार्टीका वरिष्ठ नेता पक्राउ परेको विषयमा माओवादीका कतिपय नेता कार्यकर्ताले प्रश्न उठाएका छन् । “सरकारमा भए पनि नभए पनि यदि त्यस्तो केही छ भने बेहोर्नुपर्छ । त्यो त छानबिनबाट थाहा हुन्छ,” यादवले भने ।

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  ०३:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार