सघन उपचारमा जनशक्ति अभाव

शुक्रबार, जेठ ७, २०७८

चितवन । कोरोना भाईरसको दोस्रो लहर चलिरहँदा अस्पताल आउने अधिकांश सङ्क्रमितलाई सघन उपचार कक्षको जरूरत हुने गरेको छ । ती मध्ये कतिपयलाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने बाध्यता छ । सम्भवतः नेपालका अस्पतालमा यतिधेरै बिरामीलाई सघन उपचार कक्षमा राखेर उपचार गरिरहेको यो पहिलो घटना हो । हरेक दिन कोभिडका कारण मृत्यु हुनेहरूको सङ्ख्या बढेको छ । त्यसो त थोरै सघन उपचार कक्ष सञ्चालन गरिरहेका अस्पतालले बिरामीको चाप पछि यो सङ्ख्या निकै बढाएका छन् । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष समेत रहनु भएका वरिष्ठ फिजिसियन डा.भोजराज अधिकारी सघन उपचार कक्षमा काम गर्ने दक्ष जनशक्तिको अभाव रहेको बताउँछन् । एनेस्थेसियोलोजिष्ट र फिजिसियनहरूले बिरामी हेरिरहेको भए पनि तालिमप्राप्त नर्सिङ सेवा दिन सक्ने पर्याप्त जनशक्ति नभएको अधिकारीको भनाइ छ । उनले भने, “यो युनिटमा काम गर्ने महत्वपूर्ण भूमिका नर्सिङको हुन्छ, उहाँहरूलाई हामीले तालिम दिन सकेका छैनौं ।” कोभिडको पहिलो लहरसँगै दोस्रो लहर आउन सक्ने सम्भावना भए पनि त्यसतर्फ ध्यान दिन नसक्दा अहिले समस्या भएको उनको बुझाइ छ । विदेशमा नर्सहरूलाई क्रिटिकल केयरसम्बन्धी विशेष पढाइ र तालिम दिने गरेको भए पनि नेपालमा त्यसखालको तालिम समेत हुन नसकेको उहाँको भनाइ छ । कोभिडका बिरामीको मृत्युको कारण रोग भए पनि दक्ष जनशक्तिको अभावका कारण जति बचाउन सकिन्थ्यो त्यसबाट चुकेको अधिकारी स्वीकार गर्छन् । अधिकारीले भने,  “सरकारलाई ध्यानाकर्षण गराउनका लागि मृत्यु भएकाहरूको कारण खोजी (मोर्टालिटी अडिट) गर्नुपर्छ ।”
 जिल्लाको सरकारी सङ्घीय अस्पताल भरतपुरमा सघन उपचारका लागि विशेष तालिम लिएका जनशक्ति छैनन् । अधिकारीको भनाइमा क्रिटिकल केयरमा (सघन उपचार) मा यहाँका मेडिकल कलेज अगाडि छन् । चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा.डा.हरिश्चन्द्र न्यौपाने देशमा नै सघन उपचारको (क्रिटिकल केयरको) आवश्यक सङ्ख्यामा जनशक्ति नभएको बताउँछन् । उनले भने, “सघन उपचारको दक्ष जनशक्तिको अभावमा पनि हामीले धेरै नोक्सान व्यहोर्नु परेको छ ।” सरकारलाई विदेशमा जस्तै गरी नेपालमा पनि बिएस्सी, एमएस्सी नर्सिङमा क्रिटिकल केयर पढाउनु पर्ने सुझाव दिंदै आएको न्यौपानेको भनाइ छ । उनले भने “मुख्य रूपमा क्रिटिकल केयर नर्सिङ जरूरत भयो ।”  चितवन मेडिकल कलेजमा क्रिटिकल केयर सम्बन्धी अध्ययन गरेका एनेस्थेसियाका १२, डिएम ८ र फेलोसिप गरेका ६ जना रहेको भन्दै उनले यो जनशक्ति अन्य अस्पतालमा नभएको दावी गरे । अस्पतालले यही जनशक्तिको सहयोगमा आन्तरिक रूपमा नर्सलाई वर्षको चार पटक सघन उपचारका विषयमा तालिम समेत दिंदै आएको उनले जानकारी दिए ।
कोरोनाको तेस्रो लहरमा बालबालिका बढी प्रभावित हुने न्यौपाने बताउँछन् । बच्चाको सघन उपचार सम्बन्धमा डिएम गरेका जनशक्ति नेपालमै एक जना मात्रै रहेको भन्दै उनले दावी गर्दै भने, “नेपालमै बच्चाको सघन उपचारमा डिएम गरेका एक मात्रै डाक्टर बिराज पराजुली हाम्रोमै काम गर्नुहुन्छ ।”  रोयल कलेज अफ इमर्जेन्सी मेडिसिन बेलायतसँग सहकार्य गरेर चितवन मेडिकल कलेजले मेम्बर अफ रोयल कलेज अफ इमर्जेन्सी मेडिसिन कार्यक्रम चलाएको छ । सो कार्यक्रममा नौ जनाले क्रिटिकल केयर सम्बन्धी अध्ययन गरिरहेको उनी बताउँछन् । कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पतालका आवासीय निर्देशक डा. मनोहर प्रधान सबै अस्पतालमा क्रिटिकल केयरमा आवश्यक जनशक्ति अभाव भएको स्वीकार गर्छन् ।सघन उपचारमा रहनेले त्यहाँ जडित उपकरण सम्बन्धी ज्ञान समेत भएको हुनुपर्दछ । प्रधानका अनुसार बिएस्सी नर्सिङलाई आवश्यक तालिम दिएर क्रिटिकल केयरमा काम लगाउने गरिएको छ । क्रिटिकल केयर आफैमा निकै संवेदनशील हुने गरेको भन्दै उनले सामान्य जनशक्तिले व्यवस्थापन गर्न नसक्ने बताउ । कोभिड बिरामी बढेपछि मेडिकल कलेज र अस्पतालहरूले सघन उपचार कक्ष विस्तार गरिरहेका छन् ।

उपचार कक्ष बढेपछि जनशक्ति भने थोरैबाट व्यवस्थापन गरिंदै आएको छ । ती जनशक्ति पनि सबै दक्ष छैनन् ।  क्रिटिकल केयरमा दक्ष जनशक्ति अभाव भएपछि चितवन मेडिकल कलेजले आजबाट निःशुल्क भर्चुअल तालिम शुरू गर्दैछ । सय जनाको लक्ष्य राखेर गर्न लागेको तालिममा देशैभरबाट हालसम्म तीन हजार जनाले आवेदन दिएको अस्पतालले जनाएको छ ।  अस्पतालका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाका अनुसार तालिमको व्यवस्थापन कठिन भएको छ । इच्छुकहरू निकै बढेको भन्दै उहाँले सबैलाई तालिममा सहभागी गर्ने गरी व्यवस्थापन गर्न लागिएको बताए ।  तालिमको अवसर नपाएका आइसियूमा काम गरिरहेका नर्स, एमओ, रेसिडेन्ट, एनेस्थेसियोलोजिष्ट, इन्टरनल मेडिसिन कन्सल्टेन्टहरूका लागि यो तालिम उपयोगी हुने देवकोटाको भनाइ छ । कलेजका पल्मोनरी मेडिसिन र क्रिटिकल केयर मेडिसिनमा डिएम गरेका स्पेशलिष्ट प्राध्यापकहरूले तालिम दिने उनले जानकारी दिए । तालिम पश्चात् परीक्षा लिईने छ । उक्त परीक्षा पास हुनेलाई पास भएको र पास हुन हुन नसक्नेलाई सहभागिताको प्रमाणपत्र दिने व्यवस्था रहेको कलेजले जनाएको छ । तालिम हरेक दिन साँझ ८ बजेदेखि नौ बजेसम्म हुनेछ । तालिममा १५ वटा भिन्दाभिन्दै कक्षाहरूमा आवश्यकता अनुसार भिडियो तयार गरी सहभागीलाई देखाइने छ । 

प्रकाशित मिति: शुक्रबार, जेठ ७, २०७८  २०:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार