विपिनको ‘हिरो’ अनुभव, ‘अरुले पत्याएनन्, षट्कोणले पत्यायो’

बिहीबार, चैत ८, २०८०

काठमाडौँ । अभिनयमा अभिनेता विपिन कार्की कति भर्सटायल छन् भन्ने कुरा उनले अभिनय गरेका फिल्मलाई हेरे वा सम्झिए पुग्छ । फिल्म ‘छड्के’देखि भोलि शुक्रबारबाट रिलिज हुने फिल्म ‘महाजात्रा’सम्म आइपुग्दा उनको अभिनयमा विविधता पाइन्छ । ‘छड्के’को विन्दु, ‘पशुपति प्रसाद’को भष्मे डन, ‘एक भगवत, एक गीता’को कमलामाई चरित्र विपिनको अभिनयमा विविधता ल्याउने प्रमुख फिल्मी पात्र हुन् । यि बाहेक उनले अभिनय गरेका अन्य फिल्ममा पनि विपिनले आफूलाई फरक रुपमा उभ्याइसकेका छन् ।
यिनै विपिनलाई लेखक तथा निर्देशक प्रदीप भट्टराईले फिल्म ‘जात्रा’मा इमान्दार र संघर्षशिल फडिन्द्रको रुपमा अभिनय गराएर चरित्रमा स्थापित गराए । ‘जात्रा’ पछि ‘जात्रैजात्रा’ र अहिले ‘महाजात्रा’ सम्म आइपुग्दा विपिनले आफूलाई ‘हिरो’का रुपमा दर्शकमाझ उभ्याइसकेका छन् ।
‘म आफू हिरो हुन्छु भन्दा कसैले पत्याएनन् । धेरैले हाँसेर उडाए, खिसी गरे । तर, निर्देशक प्रदीप भट्टराई र षट्कोण आर्ट्सले हिरो बनायो’, विपिन भन्छन् ।
विपिन गम्भीरदेखि कमेडीसम्मको चरित्रमा सुहाउँदो पात्र हुन् । उनी कतिसम्म कमेडीमा रमाउन सक्छन् भन्ने कुरा फिल्म ‘जात्रा’ र ‘जात्रै जात्रा’मा आफूलाई प्रमाणित गरिसकेका छन् । शुक्रबारबाट रिलिज हुने ‘महाजात्रा’ले आफ्नो कमेडी यात्रामा नयाँ इँटा थप्नेमा विपिन ढुक्क छन् ।
‘जात्रा शृङ्खलाकै यो रमाइलो फिल्म बनेको छ । महाजात्राले हसाउने, रुवाउने र नयाँ कुरा पनि सिकाउनेछ’, उनी भन्छन् ।
लेखक तथा निर्देशक भट्टराई विपिनलाई प्रायः फिल्ममा एकै किसिमको व्यक्तित्वको भूमिकामा देखिरहँदा उनले इमान्दार व्यक्तित्वको भूमिकालाई कसरी निर्वाह गर्न सक्छन् भनेर उनलाई जात्रा श्रृंखलामा जोडेको बताउँछन् ।
षट्कोण आर्ट्सको व्यानरमा निर्माण भएको फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्कालगायतको अभिनय रहेको छ । 

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १८:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार