सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । इंडियन प्रिमियर लिग (आईपिएल) को १७औं संस्करण अन्तर्गतको आफ्नो पहिलो खेलमा गुजरात टाईटन्सले मुम्बई इण्डियन्स माथि जित हात पारेको छ । गुजरातले ६ रनको रोमाञ्चक जित दर्ता गरेको हो । गुजरातले दिएको १६९ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६२ रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा मुम्बईलाई जितका लागि १९ रनको आवश्यकता रहेको थियो । सो अवस्थामा मुम्बईका कप्तान हार्दिक पन्ड्याले पहिलो दुई बलमा छक्का र चौका प्रहार गरे । तर त्यसपछिको लगातार दुई बलमा उमेश यादवले हार्दिक र पियुस चावलालाई आउट गरे । त्यसपछि बाँकी दुई बलमा ९ रन चाहिएकोमा मुम्बईले १–१ रन मात्र जोड्न सक्यो । मुम्बईका लागि डेवाल्ड ब्रेभिसले ३८ बलमा सर्वाधिक ४६ रन बनाए । यस्तै ओपनर रोहित शर्माले २९ बलमा ४३ रन प्रहार गरे । तिलक बर्माले २५ तथा नमन धिरले २० रनको योगदान दिए । गुजरातका लागि स्पेन्सर जोन्सन, मोहित शर्मा र अजमतुल्लाह ओमारजाईले समान २–२ विकेट लिए । यस्तै साई किशोरले १ विकेट लिए । त्यसअघि अहमदाबादमा टस हारेर ब्याटिङको निम्तो पाएको गुजरातले २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनायो । गुजरातका लागि साई सुदर्शनले ३९ बलमा सर्वाधिक ४५ रन बनाए । यस्तै पहिलो पटक कप्तानी गरिरहेका शुभमन गिलले २२ बलमा ३१ रन जोडे । राहुल तेवातियाले २२ तथा रिद्धिमान शाहले १९ रन बनाए । मुम्बईका जस्पृत बुम्राहले ३ विकेट लिए । यस्तै जेराल्ड कोट्जीले २ तथा पियुस चावलाले १ विकेट लिए । यसअघि भएको पहिलो खेलमा राजस्थान रोयल्सले लखनऊ सुपर जाएन्ट्स माथि २० रनको जित निकाल्यो । आईपिएलमा आज हुने खेलमा पंजाब किंग र रोयल च्यालेन्जर्स बेंगलूरु भिड्ने छन् ।