सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । नेपाल महिला राष्ट्रिय क्रिकेट टोलीले आगामी एसीसी महिला एसिया कप २०२४ मा सहभागी हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार साँझ आफ्नो सामाजिक सञ्जाल मार्फत उक्त जानकारी दिएको हो । गत फेब्रुअरीमा भएको एसीसी वुमन्स प्रिमियर कपको सेमिफाइनलमा मलेसियासँग पराजित भएको नेपाल श्रीलंकामा भएको एसिया कपमा स्थान पाउनबाट वञ्चित भएको थियो । प्रिमियर कपमा फाइनल खेलेका दुई टोली युएई र मलेसिया सिधै एसिया कपमा प्रवेश गरेका छन् । तर, एसीसीले आठ टोलीको प्रतियोगिता बनाएर नेपाललाई प्रतियोगितामा समावेश गरेको छ । यो नेपाली महिला टोलीको एसिया कपमा तेस्रो सहभागिता हुनेछ । नेपालले यसअघि २०१२ र २०१६ मा टि–२० एसिया कप खेलेको थियो । यसपटकको एसिया कप पनि टि–२० प्रतियोगिता रहनेछ । एसिया कपको समूह ‘ए’ मा नेपालसँगै भारत, पाकिस्तान र युएई रहेका छन् । नेपालले जुलाई १९ मा पाकिस्तान, जुलाई २१ मा युएई र जुलाई २३ मा भारतसँग प्रतिस्पर्धा गर्नेछ । समूह बी मा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड रहेका छन् । प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।