एक वर्षमा प्रहरीद्वारा ६ अर्ब ६३ करोड राजश्व असुली   

बिहीबार, चैत १५, २०८०

काठमाडौं । नेपाल प्रहरीले राजश्वमा एक वर्षमा साढे ६ अर्ब रुपैयाँभन्दा बढीको योगदान गरेको छ । अवैध मालसामान बरामद, अदालती फैसला कार्यान्वयन र ट्राफिक जरिवानाबाट उल्लेख्य परिमाणमा राजश्व संकलन गरेको हो ।  
नेपाल प्रहरीले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै २०७९ चैत १० देखि गत फागुन ३० गतेसम्मको एक वर्षको अवधिमा ६ अर्ब ६३ करोड ३९ लाख ३२ हजार रुपैयाँ बराबरको राजश्व संकलन गरेको जनाएको छ । 


प्रहरी प्रवक्ता एवं डीआइजी भीमप्रसाद ढकालले उक्त अवधिमा सबैभन्दा धेरै राजश्व अवैध मालसामान बरामद शीर्षकबाट २ अर्ब ७५ करोड १ लाख ६ हजार रुपैयाँ उठाएको जानकारी दिए । 
उनका अनुसार प्रहरीले एक वर्षभित्र फैसला कार्यान्वयनतर्फ १३ हजार १ सय २२ जना फरार अपराधीलाई नियन्त्रणमा लिई अदालती प्रक्रिया पूरा गरी जरिवाना बापतको अदालती फैसला कार्यान्वयन शीर्षकमा १ अर्ब ९७ करोड ९६ लाख १६ हजार रुपैयाँ उठाएको छ ।


त्यसपछि अवैध सुन बरामदबाट पनि धेरै राजश्व संकलन गरेको छ । अवैध सुन बरामदबापत ४३ करोड ३५ लाख ३ हजार रुपैयाँ राजश्व प्रहरीले उठाएको छ । यस्तै प्रहरीले २ करोड १३ लाख ८ हजार रुपैयाँ बराबरको चाँदी, ६ करोड ७८ लाख ६८ हजार रुपैयाँ बराबर अवैध मुद्रा, ४३ लाख ६५ हजार ५ सय रुपैयाँ हुण्डी कारोबारबाट संकलन गरेको छ । 
यसैगरी ७ करोड २५ लाख ८३ हजार रुपैयाँको अवैध वैदेशिक मुद्रा बरामद गरेको प्रहरीले अवैध काठबाट ७ करोड ९१ लाख १७ हजार र अवैध नदीजन्य पदार्थ उत्खनन गर्नेहरुबाट ३ करोड ५२ लाख ३५ हजार रुपैयाँ राजश्व उठाएको छ । 
ट्राफिक नियम उल्लंघन तथा ट्राफिक प्रहरीको कारवाहीमा परेका सवारी चालकहरूबाट प्रहरीले एक वर्षमा १ अर्ब ८६ करोड ५२ लाख २६ हजार ३ सय ५४ रुपैयाँ जरिवाना भराएको छ । 

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १९:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार