आज दिनभर 

काठमाडौंमा अवतरण गर्न नसकी श्रीएयरको जहाज भैरहवातर्फ, प्रधानमन्त्रीको उथलपुथल, प्रहरीको बहादुरी र एसईई 

बिहीबार, चैत १५, २०८०

काठमाडौं । चैतको १५ गते, आज दिनभरी भएका गतिविधिहरूको शीर्ष पक्ष यहाँ प्रस्तुत गरिएको छ । औपचारिक रुपमा आयोजना गरिएका र आकस्मिक घटनाका खबर नै दिनभरी घडीको सुइसँगै चक्कर मारिरहेका हुन्छन् । आज बिहानै उडिरहेको जहाज गन्तव्यमा नपुगेको र सम्पर्कमा पनि नरहेको अपुष्ट समाचारले हल्लीखल्ली नै मच्चायो । पुष्टि गर्नेतिर मेहनत नगरी कतिपय सञ्चारमाध्यमले ‘जहाज बेपत्ता’ पार्न समेत संकोच मानेनन् ।
धनगढीबाट काठमाडौंका लागि उडेको ‘श्रीएयरको जहाज आकाशमै वेपत्ता’ भनेर सञ्चारमाध्यमहरूले चर्का शीर्षक बजारमा बेच्दैगर्दा जहाजका यात्रीहरू भने लुम्बिनीको गौतमबुध्द अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएर पानी पिउँदै थिए । मौसम अनुकूल नभएकाले केहीबेर जहाजले उपत्यकाको आकाशमा फन्को लाएर त्यता मोडिएको जानकारी दिइएको छ । 
यो समाचार प्रकाशमा आएपछि जजसलाई तनाव र मार परेको थियो ती सबै यतिबेला स्वजनसँग आफ्ना गुम्फन पोखेर शान्त भइसकेका छन् । अपुष्ट समाचारले कोकोहोलो मच्चायो तर सत्य अर्कै निस्कियो । यो आज बुधबारको चर्चित समाचार थियो ।
नेपाली क्रिकेट टोलीलाई भारतमा प्रतिष्पर्धा गर्न बिदाइका लागि पुगेका खेलकुद मन्त्रीले सरकारी लापरवाहीले गर्दा उचित समयमा पुरस्कार दिन नसकिएको निराशाजनक खबर सुनाए पनि खेलाडी भारततिर उडे । उनीहरू गन्तव्यमा पुगिसकेका छन् । प्रोत्साहन दिन गएका मन्त्रीको निराशावादी कुराले तन्दुरुस्त र बलिष्ठ खेलाडी हतोत्साहित हुने कुरै थिएन । नेताका आश्वासन र विस्मयकारी वचन सुन्दासुन्दा आदत परिसकेका खेलाडी नयाँ मन्त्रीको अभिव्यक्तिबाट हतोत्साहित हुने कुरै थिएन, भएनन् पनि ।
आजै प्रधानमन्त्री पुष्पकमल दाहालले भने गठबन्धन मित्रहरूलाई झसंग पार्ने किसिमको अभिव्यक्ति दिएका छन् । ‘काम गर्न नसके मैले अर्को उथलपुथल गर्न बेर लाउँदिन’ भनेर उनले आफूलाई कुनै किसिमको अवरोध नलगाओ है भनेर सत्ता सहयात्रीहरूलाई चेतावनी पनि दिएका छन् ।
थप स्पष्ट पार्दै प्रधानमन्त्रीले अझै अगाडि बढ्न सकिन्छ भन्ने विश्वासले नै आफू प्रधानमन्त्रीको कुर्सिमा बसिरहेको बताए । उनको यो भनाइले विश्लेषक, चिन्तक र विवेचकहरूलाई मन्थनको मसला पस्किदिएको छ । ‘उथलपुथलवादी’ कार्यशैलीका सूत्रधार प्रधानमन्त्री दाहालले वर्तमान सत्ता गठबन्धनप्रति पूर्ण भरोसा छैन भन्ने कुराको छनक पनि दिन थालेको बुझ्न सकिन्छ । विपक्षी दलका नेता शेरबहादुर देउवासँग सरकारी निवासमा भेटवार्ता गरिसकेर दिउँसो यस्तो अभिव्यक्ति दिनुमा प्रधानमन्त्री भविष्यका लागि कुनै संकेत दिन चाहिरहेका छन् भनेर बुझ्न कुनै आइतबार चाहिँदैन ।
आजैबाट सुरु भएको माध्यमिक तह कक्षा १० को अन्तिम परीक्षा एसईईमा सरिक भएका ५ लाख ४ हजार ४१४ विद्यार्थी भने प्रधानमन्त्री दाहालले नेतृत्व गरिरहेको चञ्चल राजनीति र अवतरण गरिसकेको जहाज बेपत्ता बनाउने सञ्चारमाध्यसँग धेरै टाढा छन् । उनीहरूको एकमात्र एजेन्डा छ पहिला एसईईमा उच्च अंक ल्याउने अनि भविष्यमा उड्ने गन्तव्यका बारेमा परामर्श थाल्ने ।
प्रहरीको बहादुरी
नेपाल प्रहरीले राजश्वमा एक वर्षमा साढे ६ अर्ब रुपैयाँभन्दा बढीको योगदान गरेको दाबी गरेको छ । अवैध मालसामान बरामद, अदालती फैसला कार्यान्वयन र ट्राफिक जरिवानाबाट यति रकम जुटाएको भनेर प्रहरीले घोषणा गरेको छ । 
‘जहाज हराएको, एसईई सुरु भएको र प्रधानमन्त्रीले राजनीतिक तरंग उठाएकै’ दिन नेपाल प्रहरीले पत्रकार सम्मेलन गरेर बहादुरीसाथ एक वर्षको अवधिमा ६ अर्ब ६३ करोड ३९ लाख ३२ हजार रुपैयाँ बराबरको राजश्व संकलन गरेको जानकारी दियो ।
भारतीय पर्यटक नेपाल घुम्न आउँदा नगद बोक्न तोकिएको सीमा बढाउन माग गरे संसद्को परराष्ट्र समितिका सभापति राजकिशोर यादवले । व्यवहारत यो उचितै चासो भए पनि उनले बिर्सनै नहुने मानवीय विषयबारे त्यति महत्व दिएको देखिएन । इजरायल प्यालेस्टाइन युध्दमा बेपत्ता भएका विपिन जोशीको हालखबर र रुस पुगेका नेपाली युवाको जीवनमरणको खबरबारे समितिले अपेक्षित चासो र पहल गरेको पाइएन । आज दिनभरीका गतिविधिहरूमा यो कम महत्वको शीर्षक थिएन ।

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १९:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार